करको विरोधमा हेटौँडा बजार बन्द


हेटौँडा । सरकारले व्यापार व्यवसायलाई ल्याएको करको दायराको विरोध गरिएको छ । मकवानपुर उद्योग वाणिज्य संघको आयोजना मंगलबार विहानबाट हेटौंडा बजार बन्द गरिएको हो ।

सरकारले साउन १ गतेबाट लागु गरेको ‘भेहिकल एण्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस)’ को विरोधमा हेटौंडा बजार बन्द गरिएको हो । बजार बन्द गर्दा उपभोक्ता मारमा परेका छन् । सामान खरिद गर्न गाउँगाउँ र हेटौंडाका विभिन्न स्थानबाट आएका उपभोक्ता रित्तो हात घर फर्कनु परेको छ ।

सरकारको लागु हुने गरी गरेको निर्णयले उद्योग व्यवसायमा काम गर्ने मजदुरले प्यान नम्बर लिनुपर्ने, सानादेखि ठूला व्यवसायी यसको मारमा पर्ने भएकोले बजार बन्दसम्मको विरोधमा उत्रनुपरेको मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष कृष्ण कटुवालले बताउनुभयो ।सरकारले लागु गरेको प्रणालीमा जानुपर्ने, कार्यान्वयन नगरे कारबाहीमा परिने भएपछि बजार बन्द गरिएको अध्यक्ष कटुवालले दाबी गर्नुभयो ।

मकवानपुर उद्योग वाणिज्य संघले सरकारले लागु गरेको भीसीटीएसले साना व्यवसायी मारमा परेको भन्दै सरकारलाई दबाब दिन बजार बन्द गर्नुपरेको बताएको छ ।

मकवानपुर उद्योग वाणिज्य संघले साउन ६ गते हेटौंडाका व्यवसायीहरुको भेला गरेर बजार बन्द गर्ने वातावरण तयार गरेको हो ।