एकै दिन दुई सहकारीसँग एकीकरण 


काभ्रे । सामुदायीक बचत तथा सहकारी संस्था लिमिटेडले एकैदिन दुई सहकारी संग एकीकरण सम्झौता गरेको छ ।

काभ्रे जिल्लामा सहकारीको एकिकरणलाई अभियानकै रुपमा अघि बढाएको सामुदायीकले आज मंगलबार पनौती नपा ११, बल्थली स्थित गाउँवेशी साना किसान कृषि सहकारी र पनौती २, कुशादेवी स्थित जनजिवन वचत तथा ऋण सहकारी सँग एकीकरणको सम्झौता गरेको हो ।

सम्झौता तीनवटै संस्थाको एकीकरण कार्यदल बीच सामुदायिक वचत तथा ऋण सहकारी संस्थाको मुख्य कार्यालयको सभाहलमा बृहत छलफल गरी सम्पन्न भएको थियो । गाउँवेशी साना किसान कृषि सहकारीले ४ सय ५० जना शेयर सदस्यहरुको ६० लाख कुल पुँजी परिचालन गर्न सफल भएको छ भने जनजिवन वचत तथा ऋण सहकारीले ३ सय जना शेयर सदस्यहरुलाई ५० लाखको पुँजी परिचालन गर्दै कारोवार सञ्चालन गर्दै आएको छ ।

सामुदायिक वचत तथा ऋण सहकारी संस्थाले दुई महिनाको अवधिमा बासडोल सामुदायिक बहुउदेश्यीस सहकारी र मिलिजुली नारी चेतना वचत तथा ऋण सहकारी संस्थासँग एकिकरणको सम्झौता गरिसकेको छ ।

यी ५ वटा सहकारी संस्थाहरु एकीकरण पश्चात सामुदायीकको अब २ अर्बको हाराहारीमा कुल पुँजी पुग्ने र २५ हजार भन्दा बढी शेयर सदस्य हुने भएको छ ।
पनौती ४, टौखालमा मुख्य कार्यालय रहेको सामुदायीकले जिल्लाको १३ वटा स्थानीय तह मध्ये ७ वटा स्थानीय तहमा आफ्नो वित्तीय पहुँच विस्तार गर्दै १० वटा कार्यालय मार्फत सदस्यहरुलाई वित्तीय तथा गैरवित्तीय सेवा उपलब्ध गराउदै आएको छ ।

राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा आफ्नो छवी कायम गर्न सफल एक्सेस सिल्भर ब्राण्ड प्राप्त सामुदायिक वचत तथा ऋण सहकारी संस्थाले समुदायका ब्यक्तिहरुलाई संस्थामा आबद्ध गराउँदै कार्यक्षेत्र भित्रका विभिन्न सहकारी संस्थाहरुलाई एकीकृत गर्दै वित्तीय रुपमा सवल र सक्षम संस्था स्थापना गरी शेयर सदस्यहरुलाई प्रतिस्पर्धी सेवा स्थानीय तहमै उपलब्ध गराउने उदेश्यले एकीकरण अभियानलाई तिव्रता दिएको अध्यक्ष प्रकाश वञ्जाराले बताउनु भएको छ ।

२५ वर्ष अघि स्थापित सामुदायीकले २०६८ सालबाट नै अन्य सहकारी संस्थाहरुसँग एकीकरणको प्रयास गर्दै आएको थियो । यसले तीन वर्ष अघि पनि बनेपा स्थित तत्कालिन जगत गुरु वचत तथा ऋण सहकारी संस्थासँग एकीकरण गरी आफ्नो कार्यक्षेत्र काभ्रेपलाञ्चोक जिल्लाभर कायम गरेको थियो । सामुदायीकले जिल्लाका मुख्य मुख्य स्थानहरुमा ९ वटा सेवा केन्द्रहरु सञ्चालनमा ल्याएको छ ।

सामुदायिक वचत तथा ऋण सहकारीले २३ प्रकारका वचतका शीर्षकहरुमा १ अर्ब ३० करोड वचत संकलन गरी १७ शीर्षकमा १ अर्ब ४६ करोड सदस्यहरुलाई नै ऋण परिचालन गरिरहेको छ । वचत र ऋणमा प्रतिस्पर्धी ब्याजदर कायम रहेको यस संस्थाले ५३ जनालाई रोजगारी प्रदान गरेको छ ।

संस्था शुसासनमा सञ्चालनका निमित्त ५६ वटा नीति तथा कार्यविधि तयार गरी अगाडी बढेको यस संस्थाले आन्तरिक लेखा परिक्षण र बाह्य लेखा परिक्षणका लागि छुट्टा छुट्टै चार्टड एकाउण्टेन्ट संस्थालाई नियुक्त गरेको छ ।