दुर्गममा ‘ड्रोन’ को सेवा


सलिम अन्सारी,प्यूठान । प्यूठानमा नयाँ प्रविधीको ड्रोनको माध्यमबाट संकास्पद क्षयरोगीको खकारको नमुना प्रयोगशालासम्म पुर्याउन थालिएको छ ।

नेपालमा क्षयरोगको पहिचान र नियन्त्रणका लागि एसियामै पहिलोपटक प्युठानका दुई स्थानीय तहमा ड्रोनको परिचालन गरिएको हो । जिल्लाको स्वर्गद्वारी र प्यूठान नगरपालिका क्षेत्रका दुर्गम भेगका स्वास्थ्य संस्थामा संकलित संकास्पद क्षयरोगीहरुको खकार नमुना प्रयोगशाला सम्म ड्रोनले ढुवानी गर्ने काम गरिरहेको छ।

प्रयोगशालामा बिरामीको खकार परिक्षण गरी क्षयरोग भएरनभएको पत्ता लगाएर उपचार गरिनेछ । क्षयरोग शिघ्र निदान र उपचारका लागि ड्रोन प्रभावकारी हुने अपेक्षा गरिएको छ। विराट नेपाल मेडिकल ट्रष्ट (बीएनएमटी) नामक गैरसरकारी संस्था र जिल्ला स्वास्थ्य कार्यालय, प्यूठानले संयुक्त रूपमा शुरू गरेको प्रायोगिक ड्रोट्स परियोजना अन्तर्गत ड्रोन प्रयोगमा ल्याईएको हो। स्वास्थ्य उपचार सेवाको पहुँचमा आउन नसकेका बिकटका क्षयरोगीको पहिचान गरेर उपचार गर्न ड्रोट्स परियोजना मार्फत ड्रोन प्रयोगमा ल्याइएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले बताउनुभयो ।

“खकारको नमूना संकलन गर्ने पहिलो चरणको यो परियोजना सफल भएमा जिल्लाभर लागु गरिने छ।’ उहाले भन्नुभयो। ‘सम्पूर्ण सरोकारवालाबाट सहयोगको उपेक्षा गरेका छौ ।’ यस्को एक वर्ष परीक्षण अवधि रहने र सफल भए कार्यक्रम थप गर्ने सुवेदीले बताउनुभयो। तालिमप्राप्त महिला स्वास्थ्य स्वयं सेविकाहरुले क्षयरोगको शंका लागेका व्यक्तिको घरघरमा गएर खकार संकलन गर्छन ।

संकलित नमूनालाई उनीहरूले स्वास्थ्य चौकीमा र्पुयाउँछन र त्यहाँबाट बिजुवारको जिल्ला अस्पताल, प्यूठान र भिङ्ग्री प्राथमिक स्वास्थ्य केन्द्रको प्रयोगशालामा ड्रोन मार्फत पठाएर जिन एक्सपर्ट मेशिनबाट परीक्षण गरी क्षयरोग लागेरनलागेको यकिन गरिन्छ । नमुना खकार परीक्षणबाट क्षयरोग पत्ता लागेमा ड्रोनको सहायताले प्रयोगशालाबाट औषधि तथा त्यसको रिपोर्ट ती स्वास्थ्यचौकीसम्म पुर्याईन्छ ।

बिरामीलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा गरिने उपचार (डट्स) विधिबाट औषधोपचार गरिन्छ । क्षयरोगका नयाँ बिरामीलाई दिइने स्मार्ट पिल–बक्सभित्रको उपकरणले बिरामीले नियमित औषधि खाएरनखाएको अभिलेख राख्छ । यसअघि दुर्गम गाउँका बिरामीको खकारको नमूना संकलन गर्न घण्टौं हिंड्नुपर्दा क्षयरोगीको उपचार नै ढिलो शुरू हुन्थ्यो ।

यसैले छिटो र प्रभावकारी सेवाका लागि ड्रोनबाट नमूना संकलन गर्न थालिएको सुवेदी बताउनुहुन्छ । “गाउँका स्वास्थ्य चौकीबाट जिल्ला अस्पतालमा नमूना ल्याउन हप्ता दिनसम्म लाग्थ्यो”, उहाँ भन्नुहुन्छ । ड्रोनले भने १५ मिनेटमै नमूना पठाउन सक्छ ।साढे नौ केजी तौल भएको ड्रोनले एक पटकमा २० देखि २५ जनाको खकारको नमूना बोक्न सक्छ ।

प्यूठानमा आर्थिक वर्ष २०७३/७४ मा २७० र २०७४/७५ मा ३८९ क्षयरोगका बिरामीको उपचार भएको स्वास्थ्य कार्यालय प्युठानले बताएको छ ।