कांस्कीको छोम्रोङमा व्यवसायिक सतुवा खेती सुरु

28
Shares

टंकराज अधिकारी, पोखरा ।
कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ११ स्थित छोम्रोङमा सामूहिक रूपमा व्यवसायिक सतुवा खेती सुरु गरिएको छ । हिमालयन सतुवा एण्ड फार्मले सतुवाको व्यवसायिक सतुवा खेती सुरु गरेको हो ।

सतुवा खेतीका लागि स्थानीय ७ जना किसान आपसमा मिलेर हिमालयन सतुवा एण्ड फार्म नामक संस्था दर्ता गरेका छन् । “संस्था दर्ता गरी १० रोपनी जग्गामा सतुवा खेती सुरु गरेका छौं,” संस्थाका अध्यक्ष स्थानीय पर्यटन व्यवसायी नजरमान गुरुङले भन्नुभयो । “सतुवा खेतीलाई थप विस्तार गर्दै लैजाने हाम्रो योजना छ,। ” उहाँले भन्नुभयो– “कम समय, श्रम र पैसामा धेरै उत्पादन र आम्दानी गर्न सकिने भएकाले सतुवा खेतीतर्फ उत्साहित भएका छौं ।”

स्थानीय क्षेत्रमा जंगली सतुवा उम्रिने गरेको छ । तर व्यवसायिक खेतीका लागि ताप्लेजुङबाट बिऊ खरिद गरिएको हो । “हामीले ताप्लेजुङबाट पाँच हजार सतुवाको बिऊ ल्याएर यसको खेती सुरु गरेका हौ,” अर्का सञ्चालक देवानसिंह गुरुङले भन्नुभयो–“अहिले हामी परीक्षणकालमा छौ । विस्तारै यसलाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखेका छौं ।” व्यवसायिक सतुवा खेती अन्नपूर्ण गाउँपालिकाकै पहिलो हो ।

यसअघि पोखरा महानगरपालिका वडा नं. १६ स्थित अर्मलाको कालीलेक क्षेत्रमा पनि परीक्षणका लागि सतुवा रोपिएको जिल्ला वन कार्यालय कास्कीले जानकारी दिएको छ । संरक्षित जडिबुटीको सूचीमा रहेको सतुवा समुद्री सतहदेखि १४ सय मिटरभन्दा माथिको उचाईमा पाइने जडिबुटी हो ।

सतुवा बहु उपयोगी वनस्पति भएको र यसले विविध प्रकारका रोग समेत निको पर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा उच्च माग रहेको विज्ञहरु बताउँछन् । तर नेपालमा सतुवाको उपयोगीता बुझ्ने मान्छे कम छन् । यद्यपि सरकारले सतुवालाई संरक्षित जडिबुटीको सूचीमा रहेको छ । विना अनुमति सतुवाको ओसारपसार एवं व्यक्तिगत खेती गर्न पाइदैन । “सतुवा महाऔषधी हो ।”

गण्डकी प्रदेश वन, उद्योग, वातावरण तथा पर्यटन मन्त्रालयका सहायक वन अधिकृत खगेन्द्र वरालले भन्नुभयो–“अन्तर्राष्ट्रिय बजारमा सतुवाको उच्च माग छ । तर स्थानीयस्तरमा यसको व्यवसायिक उत्पादन हुन सकेको छैन ।”

नेपाली बजारमा सतुवाको माग र मूल्य दुवै उच्च छ । सतुवाको मूल्य प्रतिकेजी ६ हजारदेखि १२ हजार रुपैयाँसम्म पर्छ । संरक्षण र ज्ञानको अभावमा सतुवाको यथोचित संरक्षण हुन नसकेको अन्नपूर्ण गाउँपालिका ११ का वडाध्यक्ष हिमबहादुर गुरुङले बताउनु हुन्छ । विज्ञका अनुसार सतुवाको सेवनले पेट, घाँटी दुखेको, खाना अपच भएको समस्याका साथै सर्पले टोकेको निको हुन्छ ।