सशस्त्र प्रहरीद्वारा पशुपति मन्दिर ईलाकामा वृक्षारोपण


काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल र पशुपति क्षेत्र विकास कोषको संयुक्त आयोजनामा वृक्षारोपण गरिएको छ । आइतवार पशुपतिनाथ मन्दिर ईलाकामा रहेको विश्वरुपा मन्दिर तथा श्लेषमान्तक वन हातामा वृक्षारोपण गरिएको हो ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकाल र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संयुक्त रुपमा शिरिषको बिरुवा रोपेर बृक्षारोपणको शुभारम्भ गरेका थिए । वृक्षारेपन कार्यक्रममार्फत विभिन्न जातका करीब एक हजार बोट विरुवा रोपिएको छ ।

कार्यक्रममा सदस्य सचिव डा. ढकालले पर्यावरण तथा प्रकृतिको जगेर्ना गर्ने हेतुले बृक्षारोपण कार्यक्रम एउटा प्रयास स्वरुप थालनी गरिएको चर्चा गर्नुहुँदै आगामी दिनहरुमा समेत सशस्त्र प्रहरी बल, नेपालसँग सहकार्य गर्दै यस किसिमको कार्यक्रम गरिने बताउनुभयो । उहाँले यस क्षेत्रमा मात्र सिमित नभएर देशका अन्य भागहरुमा समेत बृक्षारोपणको योजना रहेको उल्लेख गर्नुहुँदै सृजना मात्रै नभई संरक्षण र सम्बर्धन गर्न पनि त्यति नै आवश्यक हुने बताउनुभयो ।

सो अवसरमा नेपाल सरकारले आर्थिक वर्ष २०७६/७७ लाई वृक्षारोपण वर्षको रुपमा मनाउने नीति अनुरुप बोट बिरुवा रोपेर वातावरण हराभरा बनाउन सशस्त्र प्रहरी बल, नेपालले आफ्नो तर्फबाट पूर्ण रुपमा प्रयास गर्ने महानिरीक्षक खनालले बताउनुभयो । उहाँले बृक्षारोपण कार्यक्रमलाई आगामी दिनहरुमा समेत निरन्तरता दिने उल्लेख गर्नुहुँदै पशुपंक्षीहरुको बास स्थानको रुपमा रहेको प्राकृतिक वनजंगलहरु मासिदै गएकोले यसलाई जोगाउने अभिप्रायले बृक्षारोपण कार्यक्रम अझ प्रभावकारी ढंगबाट संचालन गर्नुपर्ने बताउनुभयो ।

सो कोषका निर्देशक भोलाप्रसाद सिटौलाले स्वागत मन्तव्यको क्रममा सशस्त्र प्रहरी बल, नेपालको विशेष सहभागितामा यस क्षेत्रमा विरुवा रोपेर वातावरणीय संरक्षणमा टेवा पु¥याउने हेतुले सो बृक्षारोपण कार्यक्रम गरिएकोे बताउनुभयो ।