रेडक्रसद्वारा गैरखाद्य सामग्री भण्डारण

0
Shares

विनोद सिंह विष्ट, बैतडी । बैतडीमा विपद्मा परेका नागरिकलाई सहयोग पुर्याउनका लागि नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले आफ्नो गोदाममा गैरखाद्य सामग्री भण्डारण गरेको छ ।

विपद्मा परेका ५० जना व्यक्तिलाई तत्काल सहयोग पुर्याउने उद्देश्य सहित गोदाममा गैरखाद्य सामग्री राखिएको नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका सभापति भीमदत्त पाण्डेयले बताउनुभयो ।

विपद्बाट घरबार विहिन भएकाहरुलाई रेडक्रसले सहयोग गर्दै आएको रेडक्रसका कार्यक्रम अधिकृत तेजप्रसाद पाण्डेले जानकारी दिनुभयो । गैरखाद्य सामग्री त्रिपाल, कम्बल, भाँडाकुँडा लगायतका सामग्री रहेको उहाँले बताउनुभयो । विपद्को समयमा मानिसको जनजीवन अस्तव्यस्त हुने भएकाले सो समयमा मानिसलाई तत्काल राहत उपलब्ध गराउन गोदामबाट गैरखाद्य सामग्री उपलब्ध गराइने उहाँले बताउनुभयो ।

ठूलो किसिमको विपत्ती आइलागेमा रेडक्रसको उपक्षेत्रीय गोदाम खोड्पेबाट पनि गैरखाद्य सामग्री वितरण हुँदै आएको सभापति पाण्डेयले बताउनुभयो । दार्चुला, बैतडी र बझाङ गरी तीन जिल्लाका विपद्मा परेका नागरिकलाई उपक्षेत्रीय गोदामबाट सहयोग गरिदै आएको उहाँले बताउनुभयो ।

विपद् जोखिम न्यूनीकरणका लागि नेपाल रेडक्रस सोसाइटीले गैरखाद्य सामग्रीको भण्डारण गरेको छ भने जिल्ला विपद् व्यवस्थापन समितिले फुड बैंक स्थापना गरि खाद्य सामग्रीको भण्डारण गरेको छ ।

यसले जिल्लामा हुने विपद्का घटनाको जोखिम न्यूनीकरणमा सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो ।