वडाअध्यक्ष चन्दको शोकमा कांग्रेसले ३ दिन आधा झण्डा झुकाउने 


विनोद सिंह विष्ट, बैतडी । बैतडीको सुर्नया गाउँपालिका वडा नं १ का वडा अध्यक्ष एवं नेपाली कांग्रेस सुर्नया गाउँपालिका वडा नं १ का सभापति कलशबहादुर चन्दको मोटरसाइकल दुर्घटनामा परी निधन भएको प्रति नेपाली कांग्रेस बैतडीले गहिरो शोक व्यक्त गरेको छ ।

पार्टी सभापति नरेन्द्रसिंह थापा र सचिव प्रेमबहादुर चन्दद्वारा हस्ताक्षरित शोक विज्ञप्तीमा चन्दको निधनले नेपाली कांग्रेसले एक कर्तव्यनिष्ठ, निडर र स्वाभिमान कार्यकर्ता गुमाएको उल्लेख गरिएको छ । चन्दको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको जनाइएको छ ।
चन्दको निधनप्रति गहिरो शोक व्यक्त गर्दै नेपाली कांग्रेसले तीनदिन सम्म शोक मनाउने, पार्टीको झण्डा आधा झुकाउने, पार्टीका सबै तहका कार्यालयमा शोक पुस्तिका राख्ने र तीनदिनसम्म पार्टीका औपचारिक कार्यक्रम स्थगित गर्ने जनाइएको छ । चन्दको यही साउन २ गते जिल्लाको सतबाँझमा मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो ।

यस्तै नेपाली कांग्रेसको भातृसंगठन तरुण दल बैतडीले पनि सुर्नया गाउँपालिका वडा नं १ का वडा अध्यक्ष कलशबहादुर चन्दको निधनप्रति गहिरो शोक व्यक्त गरेको छ । तरुण दलका पूर्व जिल्ला कार्यसमिति सदस्य चन्दलाई गुमाउँदा लोकतन्त्रवादीहरुलाई अपूरणीय क्षति पुगेको तरुणदलका जिल्ला उपाध्यक्ष महेश भट्टद्वारा हस्ताक्षरित शोक व्यक्तव्यमा उल्लेख गरिएको छ ।

गाउँपालिकाले एघार लाख सहयोग गर्ने

दुर्घटनामा परी मृत्यु भएका सुर्नया गाउँपालिका वडा नं १ का वडा अध्यक्ष कलशबहादुर चन्दको परिवारलाई गाउँपालिकाले किरिया खर्च बापत १ लाख रुपैया तत्काल उपलब्ध गराउने निर्णय गरेको छ । गाउँकार्यपाालिकाको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गर्दै किरिया खर्च तत्काल उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष बीरबहादुर बिष्टले जानकारी दिनुभयो । यस्तै परिवारिक भरणपोषणका लागि दशलाख रुपैया सहयोग उपलब्ध गराउने पनि बैठकले निर्णय गरेको छ ।

बैतडीको सुर्नया गाउँपालिका १ हटैराज घर भएका ५० बर्षीय चन्द वि स २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट सुर्नया गाउँपालिका वडा नं १ को अध्यक्षमा निर्वाचित हुनुभएको थियो । स्वर्गीय चन्दका श्रीमति सहित एक छोरा र एक छोरी रहेका छन् । चन्द निर्माण व्यवसायी संघ बैतडीको निवर्तमान अध्यक्ष समेत थिए ।