ग्यास उद्योगमा भएको विस्फोटनमा परी १० को मृत्यु, १९ घाइते


झेन्झाउ । चीनको एउटा ग्यास उद्योगमा शुक्रबार बेलुका भएको विस्फोटनमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ ।

घटनामा परी अरु १९ जना घाइते भएका छन् भने पाँच जना सम्पर्कबिहीन रहेको स्थानीय अधिकारीहरुले जनाएका छन् । हेनान प्रान्तस्थित ग्यास उद्योगमा स्थानीय समय अनुसार शुक्रबार बेलुका ५।४५ मा विस्फोट भएको हो ।

इमा शहरमा अवस्थित हेनान कोल ग्यास कम्पनी लिमिटेडको ग्यास उद्योगमा विस्फोट भएको स्थानीय प्रशासनले जनाएको छ ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको र सम्पर्कविहीन भएकाहरुको खोजी भइरहेको अधिकारीहरुले जनाएका छन् । रासस