३ सयको भ्याट खारेज, ६८ को कारोबार रोक्का


सरोज यादव, विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले ६८ वटा व्यापारिक फर्मको सम्पूर्ण कारोबार रोक्का गर्नुका साथै बैंक खाता पनि रोक्का गरेको छ । कार्वाहीमा परेका व्यवसायिक फर्महरूको घरजग्गा किनबेच गर्न पनि नपाउने गरी रोक लगाएको छ ।

त्यसैगरी २ सय ७२ वटा फर्मको भ्याट नम्बर खारेज गरेको छ । प्रमुख कर अधिकृत दिलिपकुमार गौतमका अनुसार एक आर्थिक वर्ष भित्रमा गरिएको कार्वाहीको विवरण हो यो । कार्वाहीमा परेको व्यवसायिक फर्महरूबाट ८० करोड बराबर राजस्व उठाउन बाँकी छ । राजस्व बुझाउन पटकपटक सूचना गर्दा पनि अटेर गरेपछि त्यस्ता व्यवसायिक फर्महरूलाई कार्वाही गरेको हो ।

आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष ०७५ /०७६ मा ७ अर्ब १३ करोड ७८ लाख २४ हजार राजस्व संकलन गरेको छ । सो कार्यालयले लक्ष्यभन्दा ११ दशमलव २९ प्रतिशत बढी राजस्व संकलन गरेको हो । लक्ष्य ६ अर्ब ९० करोड २२ लाख ५१ हजार थियो । गत सालभन्दा १ अर्ब ६२ करोड बढी राजस्व संकलन भएको हो ।

सरकारले ४० करोडदेखि ८० करोडसम्मको कारोबार गर्ने व्यवसायीहरूको खाता मझौला करदाता कार्यालयमा राख्ने गरेको छ भने त्यो भन्दा बढीको कारोबार गर्नेहरू ठूला करदाताको कार्यालय अन्तर्गत पर्दछन् । आर्थिक वर्ष ०७५र०७६ मा आन्तरिक राजस्व कार्यालय विराटनगरबाट १७ वटा व्यवसायिक फर्मको खातापत्र मझौला करदाता अन्तर्गत परेकोमा त्यति हुँदा पनि सो कार्यालयले लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको हो ।

आन्तरिक राजस्व कार्यालय विराटनगरले मूल्य अभिबृद्धि करवापत १ अर्ब ३७ करोड ७ लाख १२ हजार, अन्तःशुल्क वापत ३ अर्ब ४२ करोड ६५ लाख ४१ हजार, आयकर वापत २ अर्ब ११ करोड ४४ लाख ९३ हजार राजस्व संकलन गरेको छ । ब्याज कर ७ करोड ३१ लाख, बहाल कर ९२ लाख ३८ हजार, स्वास्थ्य सेवा कर २ करोड ९९ लाख ४४ हजार, शिक्षा सेवा कर १ करोड ३७ लाख ९१ हजार रूपैयाँ संकलन गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा भन्दा सबै कर असुलीमा बृद्धि भएको छ ।