बहुमतको दम्भका कारण बजेट आउन सकेन


विनोद सिंह विष्ट–बैतडी ।
बहुमतको दम्भका कारण पाटन नगरपालिकाको बजेट समयमा आउन नसकेको पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले बताउनुभएको छ । आर्थिक बर्ष २०७६÷७७ को बजेट समयमा नआउनुको कारणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख चन्दले विगतदेखि आफूले सहमतिका आधारमा बजेट पारित गर्ने गरेको र अहिले पनि सहमतिकै आधारमा बजेट पारित गर्न खोज्दा बहुमतको आडमा नेकपाबाट निर्वाचित कार्यपालिका सदस्यहरुले अशोभनीय व्यवहार गरेको उहाँले बताउनुभयो ।

नगर उपप्रमुखले नगरसभामा पेश गरेको बजेटका बारेमा आफूले छलफलका लागि निर्देशन दिएको भएपनि केही वडा अध्यक्षहरुले आफूखुशी बजेट ल्याएको उहाँले आरोप लगाउनुभयो । आफूले सहमतिका आधारमा बजेट प्रस्तुत गर्न खोज्दा नगरसभा स्थगन गरेर सभाबाट बाहिर निस्केको तर त्यो कुरा रजिष्टरमा समेत लेख्न नदिएको उहाँको आरोप छ । स्थानीय सरकारमा प्रतिपक्षीको कुनै परिकल्पना नभएपनि नेकपाबाट निर्वाचित पदाधिकारीहरुले पेलेर जाने रणनीति लिएका कारण पाटन नगरपालिकाको बजेट समयमा आउन नसकेको उहाँले बताउनुभयो ।

आफू नगरपालिकाको विकासको पक्षमा रहेको दाबी गर्दै नगरप्रमुख चन्दले आफूले ल्याउन लागेका राम्रा योजनाहरु पनि बहुमतका आडमा स्वीकृत हुन नदिएको उहाँको आरोप छ । गत असार ३१ गते नगरसभामा प्रस्तुत भएको बजेटमा असहमति भए कारण सहित नगरप्रमुखलाई दिनुपर्ने प्रावधान भएपनि जे पनि बहुमतकै आडमा गर्न खोज्ने प्रवृतिले समस्या निम्त्याएको उहाँले बताउनुभयो ।

स्थानीय सरकार संचालन ऐन, पाटन नगरपालिकाको सभा सञ्चालन कार्यविधि, प्रदेश सरकारले बनाएको सभा सञ्चालन कार्यविधिले नगरप्रमुखलाई बजेट पारित गर्ने अधिकार दिएको भएपनि कानुनको विपरीत केही सदस्यहरुले बजेट पारित भएको भन्दै सामाजिक सञ्जालमा राखेको प्रति पनि आफ्नो गम्भीर ध्यानाकर्षण भएको नगरप्रमुख चन्दले बताउनुभयो । आफू अझै पनि सहमतिका आधारमा पाटन नगरपालिकाको बजेटलाई पारित गर्ने मनस्थितीमा रहेको र त्यसो हुन नदिए कानुनी अधिकार प्रयोग गरी अघि बढ्ने उहाँले बताउनुभयो ।

नेकपाबाट निर्वाचित पदाधिकारीहरुले भने बहुमतले बजेट पारित भएको दाबी गर्दै आएका छन् । पाटनमा नगरप्रमुख र उपप्रमुख नेपाली कांग्रेसबाट विजयी भएका छन् भने कार्यपालिकामा नेकपाको बहुमत छ ।