मोटरसाईकल दुर्घटनामा वडाअध्यक्षको मृत्यु


विनोद सिंह विष्ट, बैतडी ।
मोटरसाईकल दुर्घटनामा परी बिहीवार अपरान्ह बैतडीको सुर्नया गाउँपालिका वडा नं १ का वडा अध्यक्ष कलशबहादुर चन्दको मृत्यु भएको छ । महाकाली राजमार्ग अन्तर्गत बैतडीको सतबाँझबाट खोचलेक तर्फ जाँदै गरेको अध्यक्ष चन्द चढेको से १ प १११४ नम्बरको मोटरसाइकल र वीपरीत दिशाबाट चन्द्रसिंह ऐर चढेको म २ प ६६३३ नम्बरको मोटरसाइकल सुर्नया गाउँपालिका वडा नं २ सिन्केलेकमा एकआपसमा ठोक्किदा दुर्घटना भएको हो ।

मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते हुनुभएका वडा अध्यक्ष चन्दलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याउँदा मृत घोषणा गरिएको हो । घटना साढे ४ बजेतिर भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका चन्द्र सिंह ऐरको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मृतक चन्दको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । चन्द नेपाली कांग्रेसवाट निर्वाचित वडा अध्यक्ष हुनुहुन्थ्यो ।