उपराष्ट्रपति पुनसंग क्यान्सर सर्भाइभर र्याम्प वाकबारे छलफल


नेपाल समाचारपत्र, काठमाडौँ ।
उपराष्ट्रपति नन्दबहादुर पुनसंग नेपाल क्यान्सर सहयोग समूह ललितपुरका पदाधिकारी तथा सहयोगीले बिहीबार उहाँकै कार्यकक्ष लैनचौरमा भेट गरेका छन् । विपन्न क्यान्सर रोगीको सहयोगको लागि सकृय रहेको गैरसरकारी संस्था नेपाल क्यान्सर सहयोग समूहकी कार्यक्रम संयोजक एवम् नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिकी निर्देशक समेत रहनुभएकी स्वरुपा श्रेष्ठ, सो संस्थालाई समय समयमा आर्थिक तथा भौतिक सहयोग गर्दै आउनुभएकी अमेरिका निवासी समाजसेवी एवम् व्यवसायी सुगन मुनंकर्मी एवम् पत्रकार÷स्काउट शिक्षक बलराम प्यासी भेटघाटमा सहभागी थिए ।

भेटका क्रममा उपराष्ट्रपति पुनले नेपालमा अझैपनि धेरै जनता समयमै क्यान्सरको उपचार गर्नुपर्छ भन्ने चेतनाबाट पर रहेकोमा चिन्ता व्यक्त गर्नुभयो । उपराष्ट्रपति पुनसंगको भेटमा नेपाल क्यान्सर सहयोग समूहकी कार्यक्रम संयोजक श्रेष्ठले नेपालमा वालवालिकामा लाग्ने क्यान्सर, उनीहरुको उपचार तथा समयमै क्यान्सर उपचारको लागि जनचेतना फैलाउन संस्थाले गर्दै आएको काम कारवाहीबारे जानकारी गराउनुभयो ।

क्यान्सरको उपचार गराईराखेका र औषधि उपचारपछि निको भएका व्यक्तिहरुलाई सहभागी गराई सो समूहले गत माघमा नेपालमै पहिलोपल्ट ‘सुदिप्त क्यान्सर सर्भाईभर र्याम्प शो’ आयोजना गरेको र त्यसबाट समयमै क्यान्सरको उपचार गराउन समाजमा सकारात्मक सन्देश गएको कुरा कार्यक्रम संयोजक श्रेष्ठले उपराष्ट्रपति पुनलाई जानकारी गराउनुभयो ।

नेपालमा पहिलोपटक आयोजना गरेको ‘सुदिप्त क्यान्सर सर्भाईभर र्याम्प शो’को भव्य सफलतापछि सो संस्थाले यही साउन १८ गते शनिबार ललितपुरमा पहिलोपल्ट क्यान्सरको उपचार गराईराखेका ६० वालवालिकालाई सहभागी गराई ‘सुदिप्त सुपर ३० किड्स क्यान्सर सर्भाइभर र्याम्प वाक’ आयोजना गर्न लागेको विषयमा पनि कार्यक्रम संयोजक श्रेष्ठले उपराष्ट्रपति पुनसमक्ष विस्तृत जानकारी गराउनुभयो । क्यान्सर लाग्दैमा आँत्तिनुपर्दैन भन्ने सन्देश दिन आयोजना गर्न लागेको उक्त ‘र्याम्प वाक’मा क्यान्सरको उपचार गराईराखेका वालवालिकाले आफ्नो प्रतिभा प्रस्तुत गर्दैछन ।