बुद्धमूर्ति तोडफोड गरिएकोमा भिक्षुमहासंघद्वारा विरोध


काठमाडौँ । तिलोत्तमा नगरपालिकाको ६ लेन सडक खण्डमा राखिएका बुद्ध मूर्ति तोडफोड गरिएकोमा सर्वत्र निन्दा भएको छ । अखिल नेपाल भिक्षुमहासंघ, नेपाल बौद्ध महासंघ, बौद्ध युवा कमिटी ललितपुरले विहीबार छुट्टाछुट्टै विज्ञप्ती प्रकाशित गरी बुद्धजन्म नेपालमा बुद्धको मूर्ति तोडफोड गरेर प्रत्येक नेपालीलाई नै लज्जित बनाउने कार्य गरेकोमा घोर भत्सना गरेका छन् ।

भिक्षुमहासंघका महासचिव भिक्षु कौण्डन्य महास्थपविरद्वारा हस्ताक्षरित सो विज्ञप्तीमा बुद्ध मूर्तिको तोडफोडले सबैलाई स्तब्ध तुल्याएको भनिएको छ । बुद्धको मूर्ति तोडफोडले बुद्धप्रतिको नेपाली आस्थालाई ठेस पु¥याएको भन्दै दोषी पत्ता लगाई कानूनी कारवाहीको दायरामा ल्याउन पनि विज्ञप्तीमा माग गरिएको छ ।

६ लेन सडकलाई आकर्षक बनाउन र पर्यटकहरूलाई बुद्धभूमिमा आएको अनुभूर्ति गराउने उद्देश्यले नगरपालिकाले योगिकुटीदेखि मंगलापुरसम्म बुद्धका मूर्ति राखेका थिए । ती मूर्तिमध्ये शंकरनगरदेखि ड्राइभर टोलसम्मका ५ वटा बुद्ध मूर्ति तोडफोड गरिएको अवस्थामा बिहीबार बिहान फेला परेको थियो।राति गरिएको तोडफोडबाट चार वटा बुद्ध मूर्ति ३ र ४ टुक्रा बनाइएको र एउटा मूर्तिलाई पटक र पटक प्रहार गरिएको अवस्थामा बिहिबार बिहान सडकमा भेटिएको थियो । सडकको मेडियनमा निर्माण गरिएका मूर्तिहरू कसले र किन फुटाएकोे भन्ने अहिलेसम्म खुलेको छैन ।