भान्छाबाट गरौ फोहोरको वर्गीकरण

0
Shares

हरिकुमार श्रेष्ठ
वातावरण विभाग प्रमुख, काठमाडौं महानगरपालिका

सफा र स्वच्छ शहरको योजनाबद्ध विकास र विस्तार, धुलो, ध्वनि र धुँवामूक्त शहर, प्रदूषणरहित वातावरण र फोहोरमूक्त शहरको लागि आफ्नो परिवेशको वातावरण दुर्गन्ध रहित बनाउनु छ । नयाँ प्रविधिको प्रयोग, नयाँ वीऊ विजनबाट उत्पादन र उत्पादकत्वमा वृद्धि, उपभोग, यातायातको पहुँच, उपभोक्ताको आपूर्ति सेवा विस्तार, व्यापार वृद्धि जस्ता कारणले फोहोर मैला बढिरहेको छ ।

मेलापर्व एवं मानवसिर्जित प्राकृतिक प्रकोप, बढ्दो शहरीकरणले औद्योगिक, घरेलु, होटल र हस्पिटलजन्य फोहोरमैला बढ्दै गएको छ । अनावृष्टि, अतिवृष्टि, बाढी पहिरो, भू–क्षय जस्ता कठिनाइ मानिसहरुले बेहोर्नु पर्ने परिस्थिति बन्दै गएको छ । यीनै कारणले पृथ्वी लोकमा जीव र वनस्पतिको अस्तित्वनै सङ्कटमा पर्ने पुष्टि वैज्ञानिकहरुले गर्न थालेका छन् ।

यसको संरक्षण गर्ने उद्धेश्यले संविधानको धारा ५१ को उपधारा (छ) को (५) मा वातावरणीय स्वच्छता सम्बन्धी चेतना बढाई औद्योगिक एवम् भौतिक विकासबाट वातावरणमा पर्न सक्ने जोखिमलाई न्यूनीकरण गर्ने व्यवस्था तोकिएको छ ।

त्यसैगरी
वन, वन्यजन्तु, पंक्षी, वनस्पति तथा जैविक विविधताको संरक्षण, सवद्र्धन र दिगो उपयोग गर्न सकिने व्यवस्था छ । वातावरणीय सन्तुलनका लागि आवश्यक भूभागमा वन क्षेत्र कायम राख्ने, प्रकृति, वातावरण वा जैविक विविधतामाथि नकारात्मक असर परेको वा पर्न सक्ने अवस्थामा नकारात्मक वातावरणीय प्रभाव निर्मूल वा न्यून गर्न उपयुक्त उपाय अवलम्वन गर्न सकिने उल्लेख छ ।

साथै वातावरण प्रदूषण गर्नेले सो बापत दायित्व व्यहोर्नुपर्ने तथा वातावरण संरक्षमा पूर्वसावधानी र पूर्वसूचित सहमति जस्ता पर्यावणीय दिगो विकासका सिद्धान्त अवलम्वन गर्नुपर्ने व्यवस्था समेत छ ।

प्राकृतिक, ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक सहर प्रदूषित बन्दै गएको छ । प्रदूषित शहरलाई दूषित वातावरणबाट जोगाउन सडकको दाँया वाँया हरियाली पार्क धुलो ध्वनि धुँवा मुक्त सहर, सडक पुरै कालोपत्रे बनाउनु पर्छ । सडकमा आउने घरको फोहोरलाई नियन्त्रण गर्न व्यापक प्रचार–प्रसार र प्रशस्तमात्रामा स्वयंसेवक परिचालन गर्नु छ ।

घरेलु फोहोरमैला
घरव्यवहारमा उपभोग, उपयोग र प्रयोग गरिने उपभोग्य वस्तु, औजारसाधन र कामकाजबाट उत्पन्न हुने फोहोरमैला घरेलु फोहोरमैला हुन् । सागसब्जीका बोक्रा, सागपातका सढेगलेका टुक्रा, च्यातिएका लत्ताकपडा, टुटेफुटेका भाँडावर्तन, किलाकाँटी, सावुनको खोल, दुध वा तेलका खाली भएका थैला, कुनै पनि वस्तुका खोलका रुपमा राखिएका प्लाष्टिकका खोलले फोहोर बढाइरहेको हुन्छ । सडेगलेको सागसब्जी वा खानेकुराको जुठो, फुटेटुटेका ऐना, सिसा, गीलास, रित्तिएका वट्टा च्यातिएका कागजपत्र, बोतल र बोतलका विर्का, खालि भएका आदि सामान्यत घरेलु फोहोरमैलाका रुपमा चिनिन्छन् । मिठाई, चकलेट, चुरोटका खोल, पेयपदार्थ पिउने प्लाष्टिकका पाइप, पूजाआजा गरेर सेलाउनु पर्ने ध्वजापतका, फूलपात, दुनाटपरा, एक पटक प्रयोग गरेर फालिने चीजविज पनि घरेलु फोहोरमैलाका स्रोत हुन् ।

औद्योगिक फोहोरमैला
आम उपभोक्ताका लागि बजारमा उपलब्ध गराउने विभिन्न थरीका तयारी सामानको उत्पादन, प्रशोधन, भण्डारण, विक्री–वितरण तथा आपूर्तिका सिलसिलामा उत्पन्न हुने फोहोरमैला औद्योगिक फोहोरमैला हुन् । औद्योगिक फोहोरमैलामा घरेलु फोहोरमैलामा उल्लेख भएका अधिकांश खालका फोहोरमैला पर्दछन् । औद्योगिक फोहोरमैलामा यस्ता फोहोरका अतिरिक्त रासायनिक फोहोरमैला समेत पर्दछन् ।

रासायनिक फोहोरमैला
यथास्थितिमा प्रयोग गर्न नसकिने र मानवस्वास्थ्य, जीवजन्तु, वनस्पति र वातावरणलाई प्रतिकूल असर पार्ने फोहोरमैलाका रुपमा उत्सर्जन वा विसर्जन गरिएका सबै रासायनिक पदार्थ रासायनिक फोहोरमैलामा पर्दछन् । मानिसको सम्पर्कमा आउने यस्ता रासायनिक फोहोरमैलामा ड्रइसेल वा व्याट्री, व्याट्र्ीमा प्रयोग हुने अम्ल (एसिड) घर सडकपेटी रङ्गाउने रङ्ग र त्यसमा प्रयोग हुने रासायनिक पदार्थ, कृषिसँग सम्बन्धित विषादी लगायतका वस्तुबाट यस खालको फोहोरमैला निस्कन्छ ।

स्वास्थ्य सेवा सम्बन्धी फोहोरमैला
अस्पताल, औषधालय, औषधिको उत्पादन, विक्री वितरण, चिकित्सागत प्रयोगशाला, पशुस्वास्थ्यसेवा वा स्वास्थ्यसँग सम्बन्धित अनुसन्धान गर्ने संस्थाहरुबाट उत्पन्न तथा निष्कासन हुने फोहोरमैला स्वास्थ्य सम्बन्धी फोहोरमैलामा पर्दछन् । यस्ता फोहोरमैलामा कतिपय घरेलु फोहोरमैलासँग मिल्दाजुल्दा फोहोर हुन्छन् भने कतिपय औद्योगिक फोहोरमैला हुन्छन् । कतिपय फोहोरमैला मिश्रित पनि हुन्छन् । रसायन र रेडियो विकिरण पनि मिसिएको फोहोरमैला हुने भएकाले यस्ता फोहोरमैला मानिस तथा पशुपंक्षीका लागि हानि गर्ने खालका नै बढी हुन्छन् ।

हानिकारक फोहोरमैला
फोहोरमैला हुँदैमा सबै कुरा मानिस जीववस्तु, वनस्पति र जलवायुका लागि प्रतिकूल भई हाल्दैनन् । तर यस्ता कतिपय फोहोरमैला हुन्छन् जसका उपस्थिति, अरु वस्तुसँग तिनको संसर्गले नै मानिस जीवनजन्तु, चराजुरुङ्गी, जल, जमिन, जंगल वायु आदिलाई हानी गर्छ । यस्ता फोहोरमैला हानिकारक फोहोर हुन् । विषादि, रसायन, रेडियोविकिरण, बहुअम्लीय गुण भएका फोहोरमैला हानिकारक फोहोरमैलामा पर्दछन् ।

मलखाद योग्य सडने फोहोरमैला
कुहिने खालका सागसब्जी, फूलफल खाद्यवस्तु केलाउदा वा काट्दा निस्कने बोक्रा वा टुक्रा, झुत्रा आदि फोहोर, सामान्य कसिङ्गर, झारपात, पातपतिङ्गर, सडेगलेको तरकारी, सागसब्जीका रुपमा निस्कने फोहोर मलखाद योग्य फोहोरमैला हुन् । यस्ता फोहोरमैलालाई सामान्यतः जैविक फोहोरमैला भनेर चिनिन्छ । गाई वस्तु, बाख्राखसी, कुखुरा, परेवा, कुकुर विराला, जस्ता घर पालुवा जन्तुले खानेकुरा र तीनको दिसापिसाब पनि मलखादयोग्य फोहोरमैला हुन् । मानिसको दिसापिसाब पनि यही कोटीको फोहोरमैला हो ।

मलखाद अयोग्य फोहोरमैला
फर्निचर वा अन्य घरेलु उपयोगमा ल्याइएका बहुवर्षीय जीवन भएका काठ, बाँस, चोया, बेतबाट उत्पादन गरिएका थोत्रिएर, भत्केर, मक्किएका उपयोग गर्न नसकिने अवस्था भएका वस्तुबाट उत्पन्न भएका फोहोरमैला मलखाद अयोग्य सडेका फोहोरमैला हुन् ।

कवाडी फोहोरमैला
धातुका भाँडावर्तन फुटेटुटेर वा खिइएर काम नलाग्ने भएका फोहोरमैलालाई कवाडी फोहोरमैल भन्न सकिन्छ । धातुजन्य र पुनरुपयोगको गुन्जाइस रहेका काँटी, तार, फलामका टुक्रा, च्यातिएका जाली पनि यसै कोटीका फोहोरमैलामा पर्दछन् ।

प्लास्टिकजन्य फोहोरमैला
प्लास्टिक एकदमै बहुउपयोगी वस्तु हो । आजभोलि प्यास्टिकका अनेक प्रकारका सामान प्रयोग हुन्छन् । खानेपानीको पाइप, ट्याङ्कीदेखि लिएर अनेक भाडाँवर्तनका पनि प्लास्टिकका उपलब्ध हुन्छन् र प्रयोग गरिन्छन् । यस अतिरिक्त, निर्माण सामग्री, झोला र बचावटका लागि खोलका रुपमा प्लास्टिकको प्रयोग अत्यधिक हुने गर्दछ । प्लास्टिकजन्य पदार्थको फोहोर अनेक तरिकाले निर्माण हुन्छ ।

सिसाजन्य फोहोरमैला
काँच पनि बहुउपयोगी वस्तु भएकाले यसका अनेक थरी सामान हुन्छन् । काँचको प्रकृति आफूभन्दा कडा वस्तुसँगको ठक्करबाट फुट्नेटुट्ने मात्र होइन वातावरणको तापमानमा हुने चर्को उतारचढावले पनि यो टुट्नेफुट्ने हुन्छ । काँचका सामान फुटेपछि अर्को रुपले प्रयोग हुने सम्भावना ज्यादै कम रहन्छ ।


कुनै पनि कुरा वा वस्तुलाई कच्चा पदार्थ मानेर त्यसलाई तत्काल उपयोग गर्न सकिने वा उपभोग गर्न सकिने बनाउनु वा अर्को कुनै काम वा उत्पादनका लागि तयार पार्ने प्रशोधन भनिन्छ । प्रशोधनको सामान्य अर्थ सफा पार्नु भन्ने हो । फोहोरको उदय प्रशोधनका क्रममा हुन्छ । जस्तो चकलेट, विस्कुट, चाउचाउ, आदिलाई परिवर्तन गर्न सजिलोको लागि प्याकेट गरिएको हुन्छ । उपभोग गर्नुपर्दा त्यसका खोल निकालिन्छ । खोल निकाल्नु पनि खानेकुरा प्रशोधन गराइभित्रै पर्ने कुरा हो ।

स्रोत न्यूनीकरण
स्रोतबाटै रोकथाम गर्ने उपाय हो । प्लास्टिकका झोलाको साटो टिकाउ हुने जुट वा कपडाको झोला प्रयोग गर्ने उपाय अपनाउन सकिन्छ । उदाहरणकालागि तरकारी वा सागसब्जीको उपयोग नहुने फेद वा तीनलाई बाँध्ने परालको मात्रा घटाउने, एक पटक प्रयोग गरेर फालिने वस्तुको प्रयोग कम गर्नु पनि अर्को उपाय हुन सक्छ ।

पुनरुपयोग
प्रयोगमा आउने अनेक सरसामान जुन रुपमा तिनले उपयोगीता दिन भनेर ल्याइएको हुन्छ त्यही रुपमा उपयोगीता नदिदैमा तीनलाई उपयोगीता सकिएको फाल्नु पर्ने वस्तु वा फोहोरका रुपमा परिभाषित गर्न हुँदैन । जस्तो यात्रा गर्दा तिर्खा मेटाउन पिउने पानीको बोतल किनियो र पानी खाइयो भने त्यो बोतलको उपयोगीता सकियो भनेर फाल्ने गरिन्छ ।

गाड्ने पुर्ने
जैविक फोहोरमैलाका विभिन्न रुपलाई गाड्ने वा पुर्ने गरेर पनि विसर्जन गर्न सकिन्छ । ठाउँको अभाव भएमा मल बनाउने मल बनाउने खालका जैविक फोहोरलाई पनि मल नवनाइकनै जमिनमा गाड्न सकिन्छ । यो विधि भनेको गहिरो खाल्डो बनाएर फोहोरलाई खाल्डोमा पुर्ने वा विसर्जन गर्ने विधि हो । यस्तै मल बनाउन नसकिने मरेका जीववस्तुको सिनो वा हाडखोर, रौँ, भत्किएच्यातिएका छालाका वस्तु, मक्किएका वा धुलियाधमिरा लागेका काठपाटलाई समेत गाडेर वा पुरेर विसर्जन गर्न सकिन्छ ।

जलाउने
जैविक फोहोर सबै मल बनाउने वा गाडेर वा पुरेर जमिनमा सडाउन सकिन्न । त्यस्ता धेरै वस्तुलाई जलाएर पनि विसर्जन गर्न सकिन्छ । गाड्नपुर्न हुने तर तिनीहरु जमिनमा माटोसँग हतपत नमिल्ने नगल्ने भएमा तिनलाई जलाउनु उपयुक्त हुन्छ । जस्तो सालको काठको कुनै टुक्रालाई गाडेर सडाउन सकिन्न त्यसलाई इन्धनको रुपमा बालेर प्रयोग गर्ने वा सडाउनकै लागि भए पनि जलाएर खरानी बनाउनुपर्ने हुन्छ । जलाउने विधि प्रयोग गरेर फोहोर विसर्जन गर्दा पनि अजैविक र विषादि वा रासायनिक पदार्थ धेरै रहेको फोहोरमैलालाई बाहेक नै गर्नुपर्छ ।

भू–भण्डारण (ल्यान्डफिलिङ)
विविध खालका फोहोरलाई निर्जन र एकान्त ठाँउमा गाँउवस्तीबाट टाढा लगेर जम्मा पार्ने विधिलाई ल्यान्डफिल अर्थात भूभण्डारण भनिन्छ । यो काम व्यक्तिगत तरिकाले नभइकन संस्थागत तरिकाबाट सम्पन्न गरिन्छ । फोहोर संकलन गर्ने काम स्थानीय सरकारको रहेको छ । ल्यान्डफिलका लागि फोहोर संकलन र ढुवानीको कामचाहिँ, उपभोक्ता समिति, निजी कम्पनी र सामुदायिक संस्थाले पनि गर्दै आएका छन् ।

फोहोरमैला पार्नु, जथाभावी फाल्नु र त्यसलाई बेवास्ता गर्नुले गाँउठाँउ टोल सहर वस्ती, सेरोफेरो दुर्गन्धपूर्ण र घीनलाग्दो देखिने मात्र हैन त्यसले जल, जमिन, जंगल र वायुमण्डलाई प्रदूषित पार्दछ । प्रदूषणको असर मानिस र अन्य जीवजन्तुमा त पर्छ नै त्यो भन्दा पर भावी पिडिले समेत त्यसको पिडा बेहोर्नुपर्ने दिन आउँछ ।

स्रोतमै फोहोरको पृथक्कीकरण
घर, कार्यालय, यात्रा, उद्योग पेसाव्यवसाय आदि विभिन्न क्षेत्रका दैनिक कामकाजमा उपभोग, उपयोग, प्रयोगका अनेक सन्दर्भ आउँछन् । त्यहाँ फोहोर निस्कन्छन् निस्कने फोहोरमैलामा ठोस र तरल फोहोर बढी निस्कन्छन् । ठोस र तरल फोहोरलाई भिन्दाभिन्दै राख्न सकियो भने मात्रै दुर्गन्ध पनि कम हुन्छ ।

बैकल्पिक रुपले प्रयोग गर्ने
उत्पन्न भएको जैविक फोहोरलाई तिनको प्रकृति विचार गरी गोवरग्याँसको कच्चा पदार्थको रुपमा प्रयोग गर्न सकिन्छ । उदाहरणका लागि, मासुखाने परिवारले बोसो छाला, आन्द्राभूँडी फाल्नुपर्दा अन्त नफाली गोवरग्याँसमा मिसाइदिए हुन्छ । घरेलु जैविक मल बनाउनेः घरबाट उत्पन्न हुने सागसब्जी, फूलफलका बोक्रा लगायतका जैविक फोहोरमैलालाई मल बनाउन सकिन्छ । यसका लागि फराकिलो जमिन भएका ठाँउमा खाल्डे मल बनाउन सकिन्छ ।

सरसफाइमार्फत सङ्कलन गर्ने
आफू बस्ने ठाँउमा घरआँगन, करेसावारी, बाटो सडकवरपर अरु मानिसले फोहोर छाडिदिन सक्छन् । खास गरी फूलफलका बोक्रा, पानीका बोतल, चकलेट, विस्कुटका खोल, प्लास्टिका थैला, दूध वा तेलका थैला, स्याम्पोका पकेट प्रयोगका सानासाना थैला मानिसहरुले प्रयोग गरिसकेपछि जत्रतत्र फाल्ने गर्दछन् ।

कवाडी बेचविखन गर्ने
विग्रेभत्केका घरायसी भाँडाकुँडा, निर्माण सामग्री लगायतका थुप्रै वस्तु कवाडी रुपमा विक्री हुन्छ । यस्तो सामानलाई बिक्री गरेर तह लगाउन सकिन्छ ।

फोहोर प्रशोधनकालागि उपलब्ध गराउने
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ३ गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकार दफा ११ (झ) को आधारभूत स्वास्थ्य र सरसफाईको व्यवस्था गरिएको छ । सोही ऐनमा सरसफाई सचेतनाको अभिवृद्धि र स्वास्थ्यजन्य फोहोरमैलाका व्यवस्थापन गर्ने, स्वास्थ्यजन्य फोहोरमैला सङक्लन, पुन, उपयोग, प्रशोधन, विसर्जन, र सोको सेवा शुल्क निर्धारण र नियमन गर्ने प्रावधान तोकिएको छ ।

त्यस्तै सरसफाई तथा स्वास्थ्य क्षेत्रबाट निष्कासित फोहोरमैला व्यवस्थापन, निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय, सहकार्य, साझेदारी भागिदारी आदि व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई तोकिएको छ ।