खोलामा डुबेर एक बालकको मृत्यु


कृष्णउदास खनाल, वीरगन्ज ।
पर्सामा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–२८ का कृष्ण ठाकुरको ५ वर्षीय छोरा अकलेशको भेडाहा खोलामा डुबेर ज्यान गएको हो ।खेतमा धान रोप्न गएकी आमालाई पछ्याउँदै जाने क्रममा बालक खोलामा डुबेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता अनन्तराम शर्माले जानकारी दिनुभयो ।

शर्माका अनुसार, गम्भीर अवस्थामा रहेका बालकलाई उद्धार गरी उपचारका लागि वीरगन्ज लैजाने प्रयास गरिए पनि उनको बाटैमा मृत्यु भएको थियो ।नारायणी अस्पताल वीरगन्जमा बालकको शव पोस्टमार्टम गरेर प्रहरीले परिवारलाई बुझाएको छ ।

यसैबीच शरीरमा लुकाएर ल्याउँदै गरेको लागू औषधसहित वीरगन्जमा एकजना पक्राउ परेका छन् ।चितवन भरतपुर महानगरपालिका वडा नं २६ बस्ने ३७ वर्षीय राजु सिटौला पक्राउ परेका हुन् । शरीरमा लुकाएर लागूऔषध भारतबाट नेपालतर्फ ल्याउँदै गर्दा बुधबार बिहान वीरगन्ज महानगरपालिका १६ भन्सार मुलगेटबाट पक्राउ परेका हुन् ।उनको साथबाट डाइजेल्याब, नोफिन, फेनारगन १५र१५ गरी ४५ वटा ट्याबलेट बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।