पहिरो प्रभावित परिवारलाई राहत उपलब्ध गराइने


किरन धामी, दार्चुला ।
महाकाली नगरपालिका वडा नम्बर ९ दत्तुका पहिरो प्रभावित परिवारहरुलाई राहत उपलब्ध गराइने भएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलामा आज बसेको जिल्ला विपद व्यवस्थापन समिति अन्र्तगत कलस्टरको बैठकले असार २५ गते राती भएको अविरल वर्षाका कारण निर्माणाधिन दत्तु थाप्ला सडक खण्डबाट आएको ढुंगा माटो मिश्रित भलले मकै तथा धानबालीमा पुर्याएको क्षतिको विवरण संकलन गरी राहत वितरण गरिने बैठकले निर्णय गरेको हो ।

मकै तथा धानबालीमा पुगेको क्षतिको विवरण महाकाली नगरपालिका अन्र्तगतको कृषि शाखाले संकलन गर्न जिम्मेबारी दिइएको छ । क्षतिको विवरण पछि शाखाले पिडित परिवारलाई राहत उपलब्ध गराउने छ । यस्तै उक्त भलका कारण जोखिममा परेका १७ वटा घरधुरीमा थप क्षति हुन नदिन महाकाली नगरपालिकाले डिभिजन सिचांई कार्यालय दार्चुलाका समन्वयमा ग्याभिन जाली सहित संरक्षणको कार्य गर्ने बैठकले निर्णय गरेको छ । सो क्षेत्रमा भविष्यमा थप क्षति हुन नदिन संरक्षण गर्नु पर्ने स्थानको पहिचान गरी सिफारिस एवं सहजीकरण गर्न वडा नम्बर ९ का अध्यक्ष हरसिंह डागाको संयोजकत्वमा प्राविधिक समिति गठन समेत गरि परिचालन गरिएको छ ।

प्रभावित परिवारलाई नेपाल रेडक्रस सोसाइटी दार्चुलाबाट तत्काल त्रिपाल उपलब्ध गराउने बैठकले निर्णय गरेको छ । ग्याभिन जाली तथा प्रभावित क्षेत्रको संरक्षणको जिम्मा महाकाली नगरपालिकालाई दिने बैठकले निर्णय गरेको छ । बैठक जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख एवं जिल्ला विपद व्यवस्थापन समिति अन्र्तगतको पुनःस्थापना, पुनःनिर्माण तथा प्रबन्धगत व्यवस्थापन क्षेत्रगत निकायका प्रमुख करविर बहादुर कार्कीको अध्यक्षतामा बसेको हो ।