अभिनेता सरोजले ट्वाइलेटमा नियतवश फोटो खिचाएको विकास बोर्डकाे दावी


काठमाडौँ । राष्ट्रपति भवन शितल निवासमा शुक्रबार आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान वितरण कार्यक्रमको फोटो विवाद बारे चलचित्र बिकास बोर्डले आफ्नो धारणा सार्वजनिक गरेको छ । अभिनेता सरोज खनालले राष्ट्रपती भवनको शौचालयको कमोडमा खिचेको फोटोले विवाद सिर्जना गरे पछि चलचित्र संग्रहालयका सूचना तथा अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृत चिरञ्जीवी गुरागाईँले बिज्ञप्ती जारी गर्दै उक्त तस्वीर नियोजित रुपमा खिचिएको दाबी गरेका छन् ।

अभिनेता खनालले अभिनेत्री करिष्मा मानन्धरको स्टाटसमा फोटोसहित कमेन्ट गर्दै ‘सम्मानित हुने र सम्मान गर्ने सोफामा विराजमान थिए तर, हामी पर्फमर करिब ३५ जनालाई ८र१० को कोठामा कोचेर राखियो । म चाहिँ ट्वाइलेटको कमोडमा बसेर पालो पर्खी बसेँ ।’ लेखेका थिए । उनले शितलनिवासमा त्यो नै आफ्नो पहिलो र अन्तिम प्रस्तुति भएको पनि बताएका थिए । उनले आफ्नो क्षेत्रको दुर्दशा पब्लिकलाइ देखाए बेइजत हुने तर मनको बह कसैलाई कह भन्दै कमेन्ट गरेका थिए ।

यस्तै बोर्डले शौचालयमै बस्नुपर्ने गरी कुनै पनि कलाकारलाई असुविधा नभएको पनि बोर्ड स्पष्ट पारेको छ । विज्ञप्तिमा पुरस्कार वितरणको कार्यक्रम बोर्डले आयोजना गरेको र शितल निवासले कार्यक्रम हल एवं समय मात्र उपलब्ध गराएको दाबी गर्दै राष्ट्रपति कार्यालयको कार्यक्रममा अन्य कुनै सम्बन्ध नरहेको पनि जनाइएको छ ।

सुविधा उपलब्ध गराउँदा गराउँदै पनि भूलवश कलाकारलाई कुनै कमीकमजोरी भएको भए बोर्डले क्षमा माग्ने पनि विज्ञप्तिमा उल्लेख छ ।