झापाको कन्काइ पुलमा बम राख्ने जेल गए


भद्रपुर ।
झापाको कन्काई नगरपालिका–४ स्थित कन्काई माईको पुलमा रहेको डिभाइडरमा दुई महीना अघि प्रेसर कुकर बम राख्नेलाई जिल्ला अदालत झापाले कारागार चलान गरेको छ ।

झापा अदालतले घटनामा संलग्नहरु दमक नगरपालिका–१ का ४२ वर्षीय सञ्जय भन्ने खगेन्द्र खरेल, संखुवासभाको खादबारी नगरपालिका–८ हिगुवा घर भइ हाल मोरङको सुन्दरहरैचा नगरपालिका–७ बस्ने २१ वर्षीय कमल भन्ने लालमणि कर्णखर कोइराला ,मोरङ उर्लाबारी नगरपालिका–१ बस्ने १९ वर्षीय मनिष माझी र शिवसताक्षी नगरपालिका–१० का ६४ वर्षीय चौहान साइँला भन्ने रामचन्द्र चौहानलाई पुर्पक्षका लागि जिल्ला कारागार कार्यालय चन्द्रगढी चलान गरेको हो ।

अदालतले चौहानलाइ डेढ लाख रुपैयाँ धरौटी मागेको थियो । धरौटी रकम तिर्न नसकेर चौहान पनि कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोही घटनामा पक्राउ परेका हल्दीबारी गाउँपालिका–७ का २७ वर्षीय दिपेश न्यौपाने भने एक लाख रुपैयाँ धरौटी रकम तिरेर तारेखमा छुटेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

गत वैशाख २९ गते कन्काई नगरपालिका–४ स्थित कन्काई माईको पुलमा रहेको डिभाइडरमा गोर्खा नेपाल जनमुक्ति मोर्चा नामको पर्चासहित प्रेसर कुकर बम राखेर उनीहरु आफैँले मोबाइलबाट जिल्ला प्रहरी कार्यालय झापाको कन्ट्रोल रुममा फोन गरेर जानकारी गराएका थिए । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको विशेष प्रहरी टोलीले बम राख्ने पाँचै जनालाई सोही दिन पक्राउ गरेको थियो । झापा र सुनसरीको विभिन्न स्थानबाट नियन्त्रणमा लिएर प्रहरीले उनीहरुविरुद्ध संगठित अपराध बम विष्फोट मुद्दा दर्ता गरेको थियो ।