‘लाहुरे तथा नुन मार्ग’मा ८ महिनामा बन्यो पुल

0
Shares

नेपाल समाचारपत्र, पर्वत ।
साविकको धौलागिरी अञ्चलका पर्वत बागलङ्गु , म्याग्दी र मुस्ताङ्गको नुन मार्ग र लाहुरे मार्ग भनेर चिनिने पर्वतको कार्किनेटा देखि स्याङ्जाको नाउँडाडा जोड्ने सडकमा पर्ने पर्ने जुग्लेखोलामा आठ महिनामा नै पुल बनेको छ ।

निर्माण व्यवसायीले वर्षाैसम्म निर्माण पूरा नगरेका अलपत्र सडक र पुल जताततै देखिएको बेला जुग्लेखोलामाथि भने गण्डकी प्रदेश सरकारले ८ महिनामै पुल निर्माण पूरा गरेको हो । पोखरा बागलङ्गु राजमार्ग बन्नुभन्दा पहिले ४० वर्षअघि नै धौलागिरी जोड्न खनिएको नौडाँडा-कार्कीनेटा सडकलाई धौलागिरी अञ्चल जोड्ने गरि निर्माण भएको थियो । त्यसबेला यही सडक भएर नुन लिन र लाहुर जान धौलागिरीबासीको लर्को लाग्ने भएकाले नुन र लाहुरे मार्ग भनिएको हो ।

गजेन्द्र निर्माण सेवाले १ वर्षभित्र निर्माण सक्ने गरी सम्झौता गरेर काम अगाडि बढाए पनि ३ महिना अगावै जुग्ले खोलाको पुल सम्पन्न गरेको छ । २२ दशमलव ६ मिटर लामो पुल ६ मिटर चौडा तथा ६०/६० सेमी फुटपाथ रहेको छ । मोटरेबल पुल २ करोड २० लाख ७० हजार ६६२ रुपैयाँ ७७ पैसा लागतमा निर्माण भएको हो ।

पुलले स्याङ्जाको आँधीखोला गाउँपालिका र पर्वतको फलेबास र कुस्मा नगरपालिका तथा महाशिला गाउँपालिका र दक्षिण जैमिनी र गल्कोट नगरपालिकालाई समेत लाभ दिनेछ । निर्माण पूरा भएको पुलको ार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभयो ।

प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले गएको कात्तिक १९ गते उक्त पुल शिलान्यास गर्नुभएको थियो । सम्झौता अवधि बाँकी छँदै पुल निर्माण सकेको गजेन्द्र निर्माण सेवा प्रालिका प्रतिनिधि अरुण सेढाईंलाई मुख्यमन्त्री गुरुङले सम्मानसमेत गर्नुभयो ।

यसैगरी जिल्लाको ४० वर्ष पुरानो नौडाँडा-कार्कीनेटा सडक कालोपत्रे गर्ने काम पनि शिलन्यास भएको छ । नौडाँडा-कार्कीनेटा सडकको १० किलोमिटर पिच पनि बेलैमा सकिने विश्वास मुख्यमन्त्री गुरुङ र भौतिक पुर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले बिश्वास ब्यक्त गर्नुभयो ।

सडकको १० किलोमिटर खण्ड ७ मिटर चौडा कालोपत्रे हुने भएको हो । मन्त्री बस्नेतले प्रदेश सरकारले नै बाँकी १७ किलोमिटरको पनि टेन्डर आह्वान गर्ने आश्वासन दिनुभयो । गण्डकी प्रदेश सरकारले कार्कीनेटासम्मको २७ किलोमिटरमध्ये सेपतसम्मको सडक कालोपत्रे अगाडि बढाएको छ । सरकारले २६ करोड ४४ लाख रुपैयाँ लागतमा सडक कालोपत्रे गर्न लागेको हो ।

सडकको काम ग्याबिन, मेसिनरी वाल र कालोपत्रे रहेको र २ वर्ष अर्थात ११ साउन २०७८ मा काम नसके म्याद नथपिने भौतिक पुर्वाधार बिकास मन्त्रालयका सचिब किरण मरहठ्ठाले बताउनुभयो ।

बास्कोट खोलामा समेत पुल १ वर्षमा सक्ने गरी एमएस विवेक एन्ड कुँवेर बिल्डर्स वालिङले काम अगाडि बढाएको छ । १० दशमलव ६५ मिटर लम्बाइ भएको पुल ७ मिटर चौडा हुने इन्जिनियर नवीनचन्द्र अधिकारीले जानकारी दिए । १ करोड १८ लाख ६० हजार रुपैयाँ आरसिसी सेलेप पुल निर्माण गर्न लागिएको हो ।