पहिरोले घर बगाउँदा आमाछोरी पुरिए, बुहरी घाईते

0
Shares

हेटौंडा, (नेस) ।

बिहीबारदेखिको वर्षाका कारण बाढीपहिरोमा परी मकवानपुरमा मृत्यु हुनेको संख्या ५ पुगेको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा आइतबार राति घरमा लडेको पहिरोमा परेर आमाछोरी कान्छीमाया बलामी र १८ वर्षीया बबिताको शव सोमबार फेला परेसँगै मृतकको संख्या ५ पुगेको हो ।

मार्खुमा आइतबार रातिको वर्षाका कारण पहिरोले घर बगाउँदा आमाछोरी बेपत्ता भएका थिए । अर्का एक जना पहिरोमा परी घाइते भएकी छन् । पहिरोमा परी ३८ वर्षीया बुहारी बेली बलामी घाइते हुनुभएको छ । राति लगातार उक्त क्षेत्रमा पानी परेकोले पहिरो लडेर घर बगाउँदा उनीहरु पुरिएको आशंका गरिएको थियो ।

राति पहिरो गएपनि स्थानीयले सोमबार विहानमात्र थाहा पाएका थिए । विहानीपख छिमेकीले बलामीकोे घरै नदेखेपछि प्रहरीलाई खबर गरेका थिए । पहिरोमा पुरिएकाको उद्धारका लागि नेपाली सेना र इलाका प्रहरी कार्यालय चित्लाङबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

यसअघि निरन्तर परेको वर्षाले शुक्रबार मकवानपुरको थाहानगर–३ को महभीर खोलाले बगाउँदा बालिका सञ्चन बलामीको मृत्यु भएको थियो । जनकल्याण माविको कक्षा–६ मा अध्ययनरत् सञ्चनलाई विद्यालयबाट फर्कने क्रममा दम्कीबाट खोलाले बगाएको थियो ।

कैलाश गाउँपालिका–१०, नामटारमा शुक्रबार खोलाले बगाउँदा सोही वडा बस्ने वर्ष ५५ का सानुकान्छा सुनारको मृत्यु भएको थियो । शुक्रबार नै इन्द्रसरोवर–२ मा वर्ष १४ की सृष्टि डिम्डुङको पहिरोले पुरिएर मृत्यु भएको थियो ।

शुक्रबार साँझ बाटोमा आएको भल कटाउन लाग्दा माथिबाट खसेको पहिरोले पुरिएर उनको मृत्यु भएको हो । लगातार वर्षाका कारण बेलुका उद्धार गर्न नसकिएपछि शनिबार विहान फाखेल प्रहरी टोलीले पहिरो पन्छाएर शव निकालेको थियो ।