मन्त्री महासेठ सञ्चारमाध्यमप्रति आक्रामक

0
Shares

काठमाडौं, (नेस) ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आज मन्त्रालयमै आयोजित एक कार्यक्रमको भिडियो खिच्न सञ्चारमाध्यामलाई रोक लगाउनुभएको छ ।

अवरुद्ध भएको काठमाडौं–नुवाकोट सडकको बारेमा ज्ञापनपत्र बुझाउन आफ्नै कार्यालयमा आएका नेपाली काँग्रेस जिल्ला कार्य समिति नुवाकोटको टोली र बुझाइएको ज्ञापनपत्रको भिडियो खिच्न मन्त्री महासेठले रोक लगाउनु भएको हो ।

आफ्नो कार्यकक्षबाट कार्यक्रम स्थलमा प्रवेश गर्नेबित्तिकै उहाँले आक्रामक शैलीमा क्यामेरातर्फ औंलो ठड्याउँदै क्यामेरा बन्द गर्न सचेत गराउनु भयो ।

मन्त्री महासेठले आक्रामक शैलीमा यसरी भिडियो लिनुहुन्न भनेर भिडियो बन्द गरेर फोटोमात्र लिन आदेश दिनुभएको थियो । मन्त्री महासेठले भिडियो खिच्न नहुने कारण भने बताउनुभएन ।

कानुनमार्फत मिडियामाथि अकुंश लगाउने प्रयास गरिएको भन्दै सरकारको चर्को आलोचना भईरहेका बेला मन्त्रीको यस्तो कदमले प्रेसमाथि नियन्त्रण गर्न खोजिएको भन्दै पत्रकारहरुले विरोध गरेका छन् ।