६५ वर्षकालाई जेष्ठ नागरिक भन्न कांग्रेसको दबाब

0
Shares

काठमाडौं, (नेस) ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले ६५ वर्ष पूरा भएका नागरिकलाई ज्येष्ठ नागरिकको मान्यता दिन सरकारलाई दवाव दिन सुरु गरेको छ ।

नेपाली काँग्रेसकी सांसद पुष्पा भुसालले ६५ वर्ष पूरा भएका नागरिकलाई ज्येष्ठ नागरिक तोक्न सरकारलाई दवाव दिनुभएको हो ।

आज प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको बैठकमा ‘ज्येष्ठ नागरिक सम्बन्धि विधेयक’ माथिको छलफलमा भाग लिँदै उहाँले ज्येष्ठ नागरिकको उमेर ७० वर्ष राख्ने सरकारको प्रस्तावमा पुनर्विचार गर्नुपर्ने बताउनुभयो । भुसालले यो पार्टीको अडान भएको पनि प्रष्ट पार्नुभयो ।

सचेतक भुसालले भूगोललाई हेरेर पनि सरकारले ६५ वर्ष उमेर पूरा गरेका नागरिकलाई ज्येष्ठ नागरिकको मान्यता दिई सेवा, सुविधा उपलब्ध गराउनुपर्ने तर्क गर्नुभयो । उहाँले विधेयकमा ‘अति ज्येष्ठ नागरिक’ भन्ने प्रावधान राखिएकोमा पनि आपत्ति जनाउनु भयो । ज्येष्ठ नागरिकहरुलाई वर्गीकरण गर्न नहुने उहाँको भनाई थियो ।

नेकपाकी सांसद विनुकुमारी श्रेष्ठले पनि ज्येष्ठ नागरिकहरुलाई वर्गिकरण नगर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले ८० वर्ष पूरा भएका नागरिकलाई विशेष सुविधाको व्यवस्था गर्न हुने तर ज्येष्ठ नागरिकहरुमाथि नै विभेद हुने गरी अति ज्येष्ठ नागरिक भन्ने प्रावधान भने राख्न नहुने स्पष्ट पार्नुभयो ।

सरकारले समितिमा पेश गरेको विधेयकमा ८० वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई अति ज्येष्ठ नागरिकको मान्यता दिने प्रावधान राखिएको छ ।