क्रसरको दादागिरीः ‘बस्ति र राजमार्ग’ जोखिममा

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

विपी राजमार्गमा रहेका क्रसरको दादागिरीको कारण बन्द रहेको राजमार्ग एक तर्फि खुल्ला भए पनि पूर्ण रुपमा संचालनमा आउन सकेको छैन । राजमार्ग अन्र्तगत जिल्लाको रोशी गाउँपालिका ११ काल्ढुंगा र माम्तिमा रहेको खोला सडकमै पसेपछि सवारी पूर्ण रुपमा चल्न नसकेका हुन् ।

शुक्रबार विहान रोशीको मंगलटारमा खहरे खोलाले पुरेको वा १६ च ३५४९ नम्वरको चन्दन श्रेष्ठको नीजि कार प्रहरीको टोलीले शनिबार दिउसो निकालेको छ । राजमार्ग अन्र्तगत नमोबुद्ध नगरपालिका वडा नम्वर ४ मा रहेको पशुपति रोडा ढुंङ्गा उद्योग, वडा नम्वर ५ मा रहेको लास्कोट स्थित पशुपति रोडा ढुंङ्गा उद्योग र मनकामना एग्रिगेटले उत्पादन गरेको डस्ट बगाउँदा राजमार्ग पूर्ण रुपमा बन्द हुन पुग्यो । त्यस्तै सोहि राजमार्गको रोशी गाउँपालिका वडा नम्वर ८ खार्पाचोकमा रहेको नाङ्गशाल रोडा ढुङ्गा उद्योग, सोहि वडाको नार्केमा रहेको गौरीशंकर क्रसर उद्योगले पनि सडकलाई पूर्ण रुपमा क्षति गराए ।

मनकामना एग्रिगेट र पशुपति रोडा ढुंङ्गा उद्योगको डस्टका कारण लास्कोटका टेकनसिं तामाङ, कर्म सिं तामाङ, बुद्ध सिं तामाङ, माईलाकाजी तामाङ, भिमबहादुर तामाङ, छोईसाङ्ग तामाङ र कालदास तामाङको खेत पुरिएको छ । असार १० र असार १८ गते रोपाई गरिएको खेत पुरिएपछि टेकनसिं पुर्परोमा हात राख्दै क्षतिपुर्ति र कारवाहीको माग गर्दै प्रशासनको ध्यानाकर्षण गराएको बताउनु हुन्छ । झण्डै ३ सय मुरी फल्ने खेत पुरिए पछि स्थानीयहरुले क्रसरका मालिक द्धारिका ढुंगानालाई फोन गरेर जानकारी गराएका थिए ।

‘तपाईहरु झगडा पनि नगर्नुस्, उजुरी पनि नगर्नुस हामी क्षतिपुर्ति दिन्छौ भनेका छन्’–द्धारिकाको भनाई उदृत गर्दै कृषक टेकनसिंले भन्नु भयो । द्धारिकाले जे नहुनु भए पछि क्षतिपुर्ति दिनुको विकल्प नभएको बताउनु भयो । नमोबुद्ध नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष समेत रहेका बुद्धसिं तामाङले समेत क्रसरलाई पटक पटक नगरपालिकामा बोलाएर ब्यवस्थित गर्न अनुरोध गरेका थिए । क्रसरकै कारण रातभर सुत्न नसकिएको स्थानीय माया तामाङले बताउनु भयो ।

‘रातभर क्रसरबाट बगेको लेदोले सडक पुरियो, हामी सुतिरहेको घर पनि पुरिने डरले सुत्न नसकेका हौं’–मायाले भन्नु भयो ।

खार्पाचोकमा रहेको नाङ्गशाल रोडा ढुंगा उद्योगले खोलाकै छेउमा थुपारेको डस्टले सडक मात्रै जोखिममा परेको छैन डस्टका कारण गएको पहिरोले राजमार्ग अवरुद्ध बनाएको छ । पुवं सभासद् तिर्थ लामाको लगानी रहेको उक्त क्रसरलाई पटक पटक मापदण्ड पुरा गर्न पत्र काटे पनि कारवाही हुन सकेको छैन । खोला, राजमार्ग र बस्तिको छेउमै रहेका क्रसर र खानीका कारण जुनसुकै बेला अप्रिय घटना हुन सक्ने चेतावनी प्रशासनले दिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रे, रोशी गाउँपालिकाले शनिबार विहानै सडक खुलाउन पहल गरे पनि नमोबुद्ध नगरपालिकाले वेवास्ता ग¥यो । सडक खुलाउन जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना, प्रहरी प्रमुख एसपी जयराज खड्का, राष्ट्रिय अनुसन्धानका प्रमुख डिएस्पी सरोज निरौला, कोटेश्वर सुर्यविनायक धुलिखेल सिन्धुली बर्दिवास आयोजनाका प्रमुख सुर्यबहादुर भाट, शशस्त्र प्रहरी बल काभ्रेका प्रहरी निरिक्षक शुभ रानाको टोली राजमार्गमा खटिएको थियो ।

आयोजना र प्रशासन मार्फत खोजिएका खानी र अन्य क्षेत्रका झण्डै दर्जन स्काभेटरले एकतर्फि सडक खुलाईएको थियो । क्रसरको दादागिरीका कारण पटक पटक विपी राजमार्ग जोखिममा पर्दै आएको भए पनि कुनै निकायले कारवाहीको लागि पहल गरेका छैनन ।

रोशी गाउँपालिका प्रमुख डिबी लामाले माथिको दबाब नआउने हो भने सबै क्रसरलाई कारवाही गर्ने बताउनु भयो । ‘मैले पहिला पनि कारवाही शुरु गरेको हुँ तर दबाबकै कारण सकिन’–लामाले भन्नु भयो । वर्षातका कारण कालढुंगा र माम्तिको खोला ठुलो भएकाले दुई दिन देखि राजमार्गमै यात्रुहरु विचल्लीमा परेका छन् । केहिले मोटरसाईकल स्काभेटरमा राखेर पार गराएका थिए भने यात्रुहरु ट्रिपर चढेर खोला पार गरेका थिए । क्रसर तथा खानी उद्योग ब्यवसायी संघ काभ्रेका अध्यक्ष भरत घिमीरेले सरकारले २०७० भदौ १७ गते नयाँ मापदण्ड लागु गरी देशभरका खानी तथा क्रसर नविकरण नगरेको बताउनु भयो । ‘नविककरण नभई संचालन गरेका मापदण्डले पु¥याएको क्षति ब्यहोर्न तयार छौं’–अध्यक्ष घिमीरेले भन्नु भयो ।

टहरा पुरिँदा महिलाको मृत्यु

भुकम्प प्रतिरोधात्मक स्कुलको वाल भत्कँदा टहरामा सुतिरहेकी ६५ बर्षिया कृष्णदेवी रायमाझीको निधन भएको प्रहरीले बताएको छ । रोशी गाउँपालिका वडा नम्वर ११ माम्तीमा रहेको भिमेश्वर माविको पर्खाल बगरे कृष्णदेवी रायमाझी सुतिरहेको टहरा पुरिएको थियो ।

भुकम्प गए पछि सुरक्षित हुन्छ भन्ने उदेश्यले टहरा बनाईएको थियो । भुकम्प पछिको पुर्ननिर्माणको घरको दोश्रो किस्ताका लागि आवेदन दिएकाले पुर्ण रुपमा घर बनिसकेको छैन । पुरानो घर टहरा भन्दा ५ सय मिटर पर रहेको छ । परिवारका अन्य सदस्य त्यहि टहरामा सुत्ने गरेका थिए । श्रीमान् र छोरा अलग्गै घरमा बस्ने भएकाले उनिहरुले शनिबार विहान मात्रै घटनाका बारेमा थाहा पाए । विद्यालयले भुकम्प पछिको पुर्ननिर्माणमा भवन सँगै वाल पनि लगाएको थियो । ग्याविङ्ग भरेर लगाईएको वाल बगाउँदा टहरा पुरिएको प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार बनेपा नगरपालिका अन्र्तगत नालामा घर पुरिँदा दुई जनाको निधन भएको थियो । बर्षातका कारण जिल्लामा ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । ग्रामिण भेगका सबै सडक बन्द भएका छन् । मृतकका आफन्तलाई जिल्ला प्रकोप ब्यवस्थापन समितिको तर्फबाट प्राप्त हुने राहत रकम आईतबार हस्तान्तरण गर्ने प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताउनु भयो ।