विराजभक्त श्रेष्ठ
सांसद, प्रदेश– ३
केही साताअघिसम्म काठमाडौं उपत्यका गुठी विधेयकसम्बन्धी विरोधका कारण धपक्क बलेको थियो । सरकारलाई विधेयक फिर्ता लिन बाध्य बनाउने भव्य र सभ्य विरोध कार्यक्रमका अगुवाहरुमध्ये एक हुनुहुन्थ्यो ३ नं प्रदेश सभा सदस्य विराजभक्त श्रेष्ठ ।
विवेकशील पार्टीमार्फत राजनीतिमा प्रवेश गरेका सांसद् श्रेष्ठ ३८ वर्षे युवा हुनुहुन्छ । ‘म पहिला नेपाली, त्यसपछि नेवार, मलाई हिमाली र तराईवासी भएको विशाल नेपाल चाहिन्छ’ जस्ता उदात्त भावना राख्ने र मीठो शैलीका साथ धाराप्रवाह बोल्ने श्रेष्ठसँंग नेपाल समाचारपत्रका लागि सुनील महर्जनले गरेको कुराकानी:
संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक राज्यव्यवस्थाका जनता अहिले कतिको खुशी भएको पाउनुभएको छ ?
व्यवस्था परिर्वतन भएपनि मुलुकको ठोस अवस्थामा तात्विक हेरफर भएन । मुलुक हाँक्ने नेताहरु देश र जनताप्रति इमान्दार हुनुको साटो कमाउनमा नै व्यस्त छन् । सरकार र राज्यबाट समग्र हितको लागि केही भइरहेको छ भन्ने अनुभूत जनताले गर्न सकिरहेका छैनन् । सरकार सीमित व्यक्तिहरुको लागि मात्र भएको छ । नीतिगत बेइमानी र भ्रष्टाचार हरेक दिन बढिरहेको छ । धनी झन्झन् धनी र गरिब झन्झन् गरिब हुँदै गइरहेको छ । यसले गर्दा व्यवस्था परिर्वतन भएपनि जनताले खुशी र आशावादी हुने अवसर पाएका छैनन् ।
व्यवस्था परिर्वतनपछि देश र जनताको राम्रो भविष्यको आशा राख्नु केवल भ्रम हो र ?
हरेक आन्दोलनमा नेताहरुले जनतासमक्ष आश्वासन र सपना बाँडेका हुन्छन् । हरेक समयमा उकुसमुकुस भएका जनताले नेताको सपना र आश्वासमा आफ्नो राम्रो भविष्य देख्न थाल्छन् । यतिसम्म ठिक छ, तर सत्ता पाउनासाथ नेताहरुले जनतालाई बाँडेको सपनामाथि विश्वासघात शुरु हुन्छ । जनताले विश्वास गर्ने र नेताले धोका दिने सृंखला हरेक राजनीतिक परिर्वतनमा हुँदैआएको छ । राजनीतिक नेताहरुको आचरण नबदलिएसम्म तिनीहरुबाट राम्रो भविष्यको आशा राख्नु भ्रम नै भन्नुपर्ला ।
यस्तो अवस्थामा सर्वसाधारण जनतासँंग निरीह हुनेबाहेक अरु के विकल्प रहन्छ ?
जनता संगठित भएर खबरदारी गर्नेबाहेक अरु विकल्प छैन । लोकतन्त्रमा पाँच वर्षको एकचोटि भोट दिएर जनता चुप लागेर बस्ने गर्छन् । अब यस्तो संस्कारबाट मुक्त भई सार्वजनिक सरोकारको विषयमा खबरदारी गर्ने काम गर्नुपर्दछ । जनताको लागि र जनताले नै पहलकदमी देखाउनुपर्दछ । सार्वजनिक सरोकारको विषयमा वैचारिक बहस चलाउने, आफ्नो टोल, समुदायको काम सक्रिय हुने संस्कार बसाल्नुपर्दछ । अनि मात्र सही अर्थमा परिर्वतन सम्भव छ ।
मुलुकको विकास नहुनुको कारण के जस्तो लाग्दछ ?
यसका धेरै र बहुआयामिक कारण होलान्, तर मैले देखेको एउटा कारण हामीले आफ्नो धरातल, टेकेको जमिनलाई बिर्सिदै जानु नै हो । हामीले हाम्रो मौलिकपन, ज्ञानलाई बुझ्नै सकेनौं । उदाहरणको लागि सरकारले हालै फिर्ता गरेको गुठी विधेयकको सन्र्दभ जोड्छु । हाम्रा पुर्खाले मन्दिर, जात्रा, पर्व र अनेक संस्कार चलाएर त्यसको संरक्षणको लागि जग्गा राखेर गुठी स्थापना गरेर गए ।
आफ्नो व्यक्तिगत जग्गा सामूहिक कामको लागि दान दिनु यो समाजवादी भावना होइन र ? यसलाई हामीले बुझ्नै चाहेनौं । अहिले भन्नका लागि कम्युनिष्ट सरकार छ । यो सरकारले समाजवाद र समृद्धिको कुरा हरेक दिन गरिरहेको छ ।तर गुठीको मर्मलाई बिर्र्सेर कस्तो समाजवाद र समृंद्धि निर्माण गर्न खोजिरहेका छौं त ? भूमाफियाको स्वार्थमा सरकारले गुठीजस्तो समाजवादी परम्परालाई नष्ट गर्न खोज्छ । हाम्रो ज्ञान, संस्कारलाई बुझ्न नचाहेपछि त्यस्तो समाजको अधोगति हुनेबाहेक के हुन्छ ? हाम्रो समाज एकैदिन बिग्रिएको होइन । निरन्तर बिग्रिंदै गयो र त्यसलाई समाजले स्वीकार गर्दै गयो ।
के यतिले मात्र देश विकास नभएको हो र ?
यो नै सबै कारण होइन । देशप्रति सबै क्षेत्रका जनताको अपनत्व नहुनुको समस्या नेपालमा अझै भइरहेको छ । देश बन्नका लागि सबै क्षेत्रको जनताको अपनत्व र विकासमा सहभागी हुनुपर्दछ । भविष्यप्रति आशावादी हुन सकेन । अहिले पनि सरकारले हरेक दिन समृद्धिको गीत गाइरहेका छन्, यसलाई जनताले पत्याउन सकेको छैन । सरकारले भनेको समृद्धिबाट जनताको हित हुन्छ भन्ने विश्वास सर्वसाधारणमा देखिन्न । देशप्रति माया, अपनत्व हराउँदै गएको छ । यस्तो अवस्थामा मुलुक कसरी बन्छ त ?
हरेक राजनीतिक परिर्वतनपछि मुलुक अझ राम्रो हुनुपर्नेमा झन्झन् बिग्रिंदै गएको जस्तो तपाईलाई लाग्दैन ?
लाग्छ । राम्रो गर्ने उद्देश्यले आन्दोलन भएपनि आन्दोलन सफल भएपछि दुई गुणाका दरले नराम्रो हुनेगरेको सत्य हो । यसो हुनुको कारण हाम्रो आन्दोलन कहिले राणाविरुद्ध, कहिले राजाविरुद्ध त कहिले पञ्चायती व्यवस्थाविरुद्ध मात्र केन्द्रित हुने गरेका छन् । २०४६ सालको आन्दोलनको उद्देश्य पञ्चायत फाल्ने थियो । पञ्चायत फाल्यो, त्यसपछि शासन गर्ने दलका नेता र कार्यकर्ताले पञ्चायतले निर्माण गरेको संस्कारलाई अपनायौं । राजा हटाउने आन्दोलन पनि त्यस्तै भयो । नाराणणहिटीको एकजना राजा हटायौं, सयौं राजाहरु जन्मिए ।
राजाको जस्तो संस्कार, खानपीन, लवाईखवाई भएका सयौं राजाहरु जन्मिछन् भनेर हामीले शुरुमा सोचेको थिएन र त आन्दोलनको सफलता भयो त्यस्तो ।
अर्कोतर्फ हामीले देश र जनताको लागि राम्रो गर्ने भावना, चाहनाको धरातललाई पनि बुझ्नै सकेनौं । हरेक व्यवस्था परिर्वतनपछि पहिलाका व्यवस्थाका राम्रा पक्षलाई बेवास्ता गर्दै गयौं । नराम्रा संस्कार आत्मसात् गर्दै गयौं । इतिहासबाट राम्रो पक्षलाई लिन नसकेकोले पनि समाज, राज्यव्यवस्था झन्झन् बिग्रिंदै गएको हो ।
गुठी विधेयकको विरुद्धमा भएको आन्दोलनमा तपाईं निकै सक्रिय भएर लाग्नुभयो । आन्दोलनलाई कसरी लिनुहुन्छ ?
गुठी विधयेक दुई तिहाई सरकारले गरेको सा¥हैै अपरिपक्व र अलोकप्रिय काम हो । विधयेकले गुठीको मर्म र महत्वलाई गौण बनाएको मात्र होइन, ठाडै इन्कार नै गरेको छ । सरोकारवालासँंग एकपटक छलफल नगरीकन विधेयक ल्याइएको छ । यसको विरुद्धमा जागेको जनताको आन्दोलनकोे रुपमा माइतीघर मण्डलामा भएको प्रदर्शनलाई लिनुपर्दछ ।
विधयेक प्राविधिक रुपमा मात्र त्रुटि नभई बदनियत तरिकाले निर्माण गरिएको छ । गुठी जग्गालाई प्राधिकरणमार्फत् भूमाफियालाई सुम्पिने खतरनाक अन्तरनिहित आशय विधेयकको रहेको छ । यसविरुद्ध जागेका जनताको शान्तिपूर्ण, अहिंसात्मक र व्यवस्थित आन्दोलनको रुपमा माइतीघर मण्डलामा भएको प्रदर्शनीलाई लिनुपर्दछ ।
यस आन्दोलनले के सन्देश दिएको छ ?
यो दुई तिहाई बलमा उभिएको सरकार हुँदा भएको पहिलो बृहत् आन्दोलन हो । सरकारले गरेको अलोकप्रिय कामको उपज हो, यो आन्दोलन । यो जनताको स्वतस्र्फूत आन्दोलन थियो । कुनै दलविशेष वा राजनीतिक रोटी सेक्ने हिसाबले गरिएको होइन । यसमा कुनै दल विशेष हावी भएको छैन । धर्म, संस्कृति बचाउनुपर्ने पक्षमा उभिएका सबै जनता नेपालको राष्ट्रिय झण्डामुनि बसेर गरिएको आन्दोलन हो । निकै सभ्य र भव्य आन्दोलन थियो । यसले आन्दोलन स्वरुप नयाँ उचाई र मानक थपेको छ ।
गुठी विधयेकसंँगै अन्य विधेयक र सरकारको कामहरुलाई लिएर निकै आलोचना हुने गरेको छ । यसलाई कसरी लिनुभएको छ ?
सरकार दुई तिहाईको बलमा उभिएको छ । विधयेकबारे सरोकारवालासँंग छलफल गर्ने गरेको छेैन । विधयेक निर्माण, कर्मचारी र अन्य परामर्शदातृ संस्थाहरुलाई जिम्मा लगाइन्छ । सांसद्हरुले पनि यसबारे विस्तृत रुपमा थाहा हुने अवस्था भएन । यसले गर्दा सरकारले ल्याएका विधयेकहरु एकपछि अर्को गर्दै विवादमा पर्दै गए । सरकार आफ्ना काममा चुक्दै गएको छ । सरकार संसद् र जनताप्रति जवाफदेही छैन । विधयेक निर्माणको कार्य पारदर्शी छैन । सरकार संविधानले व्यवस्था गरेको संघीयता र लोकतन्त्रप्रति इमान्दार देखिएन । विधेयक निर्माणमा नियन्त्रित, प्रदेश र स्थानीय तहलाई अधिकार दिन नचाहने कार्यशैली र सोचले गर्दा सरकार असफल र आलोचनाको शिकार हँुदै गएको छ ।
अहिलेको सरकारले फैलाएको विकासको मोडेललाई कसरी लिनुहुन्छ ?
विकास भनेको ठूलठूला भवन बनाउने, बाटो फराकिलो पार्ने, फ्लाईओभर बनाउने मात्र होइन । यो विकासको पुरानो परिभाषा हो । नेपालजस्तो देशमा यस्तो विकासको खाँचो छैन । गाउँमै रोजगारी सिर्जना गर्ने, सुसंस्ंकारयुक्त जागरुक जनता बनाउने, संस्कृतिसम्पदा मैत्री, पर्यावरण मैत्री तरिकाले पूर्वाधार बनाउने, मानवीय विकासजस्ता कार्य विकासको परिभाषामा समेटिनुपर्दछ ।
अब अन्त्यतिर अलिकति व्यक्तिगत कुरा गरौं, तपाईं राजनीतिमा कसरी आउनुभयो ?
म काठमाडौं इन्द्रचोकमा जन्मिएको हुँ । २१ वर्षमै पर्यटन व्यवसायीको रुपमा काम गर्न थालें । पटक–पटक हुने नेपाल बन्दले व्यवसाय प्रभावित हुने गरेको थियो । यसबाट दिक्क हुन्थें । राजनीति साह«ै फोहोरी खेलजस्तो लाग्दथ्यो । कोही राम्रो नेता आएर देश बनाइदेला बन्ने आशा थियो । यो आशा मानौं स्वर्ग जाने रहर हो । कोही आएर देश बनाउने होइन, आफै कोशिस गरौं भनेर राजनीतिमा प्रवेश गरेको हँु ।
राजनीतिमा लाग्न प्रेरित गरेको कुनै घटना छ ?
वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि काठमाडौंमा सरकारको उपस्थिति हुन सकेन । कयौं मठमन्दिर, घरहरु ढलेर मान्छे घाइते भएको देखें । घाइतेको उपचार, राहत कार्यमा संलग्न हुुने क्रममा राज्यको निरीहताको अनुभूतिले राजनीतिमा लाग्न प्रेरित भएँ ।
अहिलेसम्मको राजनीतिक अनुभव कस्तो रह्यो ?
नैतिक द्विविधायुक्त । जनताको चेतनास्तर बढाउँदै भ्रष्टाचार न्यूनीकरण नभएसम्म देश बन्दैनजस्तो लाग्दछ । राजनीतिको विकल्प गैरराजनीतिक चरित्र होइन, बरु सुंस्कृत राजनीति हो । राजनीतिमा पढेलेखेका युवावर्ग संलग्न हुनुपर्दछ । बाहिर बसेर देश बिग्रियो, खत्तम भयो भनेर मात्र देश बन्नेवाला छैन । देश बनाउन राम्रा मान्छेको सक्रियता, जिम्मेवारी उठाउने काम गर्नुपर्दछ । जनतालाई निरन्तर सचेत पार्दै लग्नुपर्दछ ।
राजनीतिमा राम्रा मान्छे आउने, तर बिस्तारै भ्रष्ट बन्दै जाने उदाहरण छन् नि ?
यसो हुन नदिन व्यक्ति केन्द्रित नभई प्रणाली केन्द्रित संस्कारको निर्माण हुनुुपर्दछ । जोसुकै व्यक्ति आएपनि प्रणालीले चलाउने अवस्था तयार गर्नुपर्दछ ।
नेपाल जस्तो मुलुकमा कस्तो प्रणालीको खाँचो छ ?
हाम्रो पार्टीले नेपालको विकासको लागि प्रत्यक्ष सहभागितामूलक लोकतन्त्र, समावेशी विकास, प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रणाली आवश्यक छ भन्दैआएको छ ।
अन्तमा केही भन्न छुटेको छ ?
जनताले गुनासो गर्ने मात्र होइन, सामाजिक जिम्मेवारीको काममा पनि सक्रिय हुनुपर्दछ । जनता संगठित भए भने मात्र परिर्वतन गर्न सकिन्छ । लोकतन्त्रमा जनताको खबरदारी, जागरुकता र सक्रियताको निकै महत्व रहन्छ ।
प्रतिक्रिया