अविरल वर्षापछि ज्यान गुमाउनेको संख्या ३४ पुग्यो


नेपाल समाचारपत्र, काठमाडौं ।
केही दिनयताको अविरल वर्षाले देशभरको जनजीवन प्रत्यक्ष प्रभावित भएको छ । बाढी, पहिरो र डुबानका कारणका कारण शुक्रबारयता मृत्यु हुनेको संख्या ३४ पुगिसकेको छ भने १८ जना बेपत्ता भएका छन् ।

दर्जनौं घाइते भएका छन्, वर्षाका कारण ललितपुरमा ५ र भोजपुरमा ५ जनाको मृत्यु भएको छ । काठमाडौं, खोटाङ, काभ्रे, मकवानपुरमा क्रमशः ३÷३, धादिङ र सिन्धुलीमा २÷२ जनाले ज्यान गुमाएका गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको शनिबार अबेरसम्मको सूचनाअनुसार पाँचथर, इलाम, झापा, सुनसरी, रामेछाप, ओखलढुंगा, पर्सा, बारा, चितवन, बुटवलमा १÷१ जनाको मृत्यु भएको छ ।

तराईका अधिकांश भू–भाग जलमग्न छन्, भारतसँग सीमा जोडिएका तराईका भू–भागमा विगतका वर्षझैं डुबान समस्या दोहोरिएको छ । धादिङ बेनिघाटरोराङ गाउँपालिका–१० बाँदरेमोडस्थित पृथ्वी राजमार्ग, काठमाडौं–हेटौंडा जोड्ने भीमफेदीसहितका अन्य सहायक मार्ग, मुग्लिङ–नारायणगढ खण्डसहित सिन्धुली बर्दिवास खण्डको विभिन्न भेग पहिरोका कारणले अवरुद्ध बनेका छन् ।

बाराको जितपुर सिमरा उपमानगरपालिका–२२ स्थित महेन्द्र राजमार्ग, इलाम सूर्योदय नगरपलिका–९ ढोडेस्थित बरबोटेदेखि नयाँबजार सडकखण्ड अवरुद्ध रहेका नेपाल समाचारपत्रकर्मीले जनाएका छन् । धादिङ नौबीसेदेखि हेटौंडा जाने त्रिभुवन राजपथ, दैलेख गुराँस गाउँपालिका–२ स्थित तल्लो डुङ्गेश्वर सियाकोट सुर्खेत सडकखण्ड अवरोध भएकोमा प्रहरीले यातायात सुचारु गराएको छ ।

अविरल वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएपछि आसपासका भेगमा उच्च सुरक्षा सर्तकता अपनाइएको छ । शनिबार दिउँसोसम्ममा कोसी ब्यारेजमा २ लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको सुरक्षा निकायले जनाएको छ । शनिवार साँझसम्ममा ब्यारेजका ५६ मध्ये ३३ ढोका मात्रै खोलिएकाले थप ढोका नखोल्न भारतले दबाब दिएकाले नेपालतर्फको भू–भाग थप डुबानमा पर्ने अनुमान गरिएको छ ।

नेपाल समाचारपत्रका रौतहट सहकर्मी सञ्जय कार्कीका अनुसार रौतहट सीमामा भारतले बनाएको बाँध बाढीले भत्काएपछि शनिवार दिउँसोदेखि नेपालतर्फ पानीको सतह घट्न थालेको छ । भारतीय पक्षले बाँधमा रहेका ढोका नखोल्दा सदरमुकाम गौरसहित रौतहटका अधिकांश भू–भाग डुबानमा परेका थिए ।
शनिवार दिउँसो खसेको पहिरोका कारण उदयपुरका कटारी, सोमबारे, गोहिया, बकपति, रिक्कु आसपासका बस्ती उच्च जोखिममा परेका छन् । उदयपुरगढी गाउँपालिका–६ को दनुवारबेसीस्थित धप्पर तिनटाट्ने डाँडा खसेर बैद्यनाथ खोला थुनिँदा नेपालटार बजार डुबानमा पर्नुका साथै यी बस्ती जोखिममा परेका हुन् । उदयपुरको वेलका नगरपालिका–१ का विभिन्न वस्ती डुबानमा परेका छन् ।

त्रियुगा नदीको बाँध भत्किएपछि वेलकाको आम्वासी क्षेत्रका करिब २ सय घरधुरी डुबानमा परेका उदयपुरकर्मीले जनाएका छन् । उद्धारका लागि जिल्ला सुरक्षा समितिको आपत्कालीन बैठकपश्चात बिस्फोटक पदार्थसहित तीनवटै सुरक्षा निकायको टोली उद्धारका लागि खटाइएको प्रमुख जिल्ला अधिकारी धु्रवबहादुर खड्काले जानकारी दिनुभयो ।

यसैबीच विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यसमितिको बैठकले प्रकोप प्रभावित जिल्ला र पीडित परिवारको राहत तथा उद्धारमा जुट्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापा र रक्षामन्त्री ईश्वर पोखरेलको विशेष उपस्थितिमा शनिबार बसेको बैठकले सबै सुरक्षा अंगलाई सतर्क रहन निर्देशन दिँदै जनप्रतिनिधि, स्थानीय र स्वयंसेवकलाई राहत र उद्धारमा सघाउन आह्वान गरेको छ । स्वास्थ्य, खानेपानी, सरसफाइ, आवास समन्वय तथा व्यवस्थापन, पुनःलाभ, सञ्चारजस्ता विषयमा ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ ।

छोटो अवधिमा भारी वर्षा भएकाले मुलुकका पहाडी र तराईका भू–भागमा बाढी, पहिरो र डुबानको समस्या सिर्जना भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार कमला र कोसी जलाधार क्षेत्र आसपासमा शुक्रबारयता अत्यधिक वर्षा भएको छ । २४ घन्टाको अवधिमा ५० मिलिमिटर वा सोभन्दा कम पानी परेमा मौसमविद्हरु हल्का र मध्यमम वर्षाका रुपमा बुझ्ने गर्छन् । ५० देखि १ सय मिलिमिटरलाई भारी र १ सयभन्दा माथिको वर्षालाई अत्यधिक वर्षाका रुपमा बुझ्ने गर्छन् ।

शुक्रबारदेखि २४ घन्टाको अवधिमा सप्तकोसी जलाधार क्षेत्रको अनारमनी बिर्तामा सबैभन्दा धेरै ४ सय ७२ मिलिमिटर वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कमला जलाधर क्षेत्रको सिरहा ३ सय २० दशमलव ६ मिलिमिटर, कमला रानीवास स्टेसन आसपासमा ३ सय ६ दशमलव ८, कमला जलाधार क्षेत्रको तृतीयामा २ सय ६३ दशमलव ६ मिलिमिटर वर्षा भएको छ ।

कमलाकै चिसापानी बजार आसपासमा २ सय ६२ दशमलव ६ र कमलाको जिनाखुमा २ सय ४८ दशमलव ६, कमलाको बाहुन तिप्लुङमा १ सय ८२ दशमलव ८, कोसीको बरमझियामा १ सय ७२ मिलिमिटर वर्षा भएको महाशाखाकी मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । उहाँका अनुसार नारायणीको कोल्वीमा १ सय ६९ दशमलव ८ र कोसीको मानेभञ्याङमा १ सय ४४ दशमलव ६ मिलिमिटर वर्षा भएपछि सतर्क रहन आग्रह गर्दै पूर्वसूचना सम्प्रेषण गरिएको छ ।

शुक्रबार बागमति, कमला जलाधार क्षेत्र आसपासका बस्तीमा बाढीले सतर्कता तह पार गरेपछि मास एसएमएस पठाइएको थियो भने शनिबार सप्तकोसी, बाँकेको पश्चिम राप्ती आसपासमा अग्रिम सूचना सम्प्रेषण गरिएको छ । महाशाखाका अनुसार आज आइतवार र भोलि सोमबार कर्णाली, बबई र महाकाली नदी आसपासमा बाढीको जोखिम बढ्ने छ ।