सेरेना अझै २४औं उपाधि कुर्दै


लन्डन, (एजेन्सी)
अमेरिकी खेलाडी सेरेना विलियम्सको २४औं ग्रान्डस्लाम उपाधि जित्ने धोको अझै पुरा भएन । शनिबार विम्बल्डन टेनिसको फाइनलमा सेरेना ५६ मिनेटमै पराजित भएपछि २४औं ग्रान्डस्लाम उपाधि जित्न अझै कुर्नु परेको छ । रोमानियाकी सिमोना हालेपले उनलाई ६–२, ६–२ को सीधा सेटले हराएकी हुन् । योसँगै सेरेनाले महिला सिंगल्सतर्फ सर्वाधिक उपाधि जितेकी मार्गारेट कोर्टको कीर्तिमानसँग बराबर गर्न असफल भइन् । साथै यो उनको गएको १२ महिनामा प्रमुख प्रतियोगिता तेस्रो हार बन्यो ।

२७ वर्षीया हालेपको भने यो करियरको दोस्रो ग्रान्डस्लाम उपाधि हो । यसअघि उनले गत वर्ष फ्रेन्च ओपन टेनिसको उपाधि जितेकी थिइन् । फाइनल खेलमा उनले ३७ वर्षीया पाको खेलाडी सेरेनाविरुद्ध केवल ११ मिनेटमा पहिलो चार गेम जितिन् र २६ मिनेटमा पहिलो सेट हात पारिन् । दोस्रो सेटमा पनि उनी सेरेनामाथि हावी भएकी थिइन् ।