पहिरोले खानेपानीको पाइप बगाउँदा खानेपानी ठप्प


सरिता चलाउने, सल्यान ।
सल्यानको छत्रेश्वरी गाउँपालिका वडा न ४ खर्सुबासमा पहिराेले खानेपानीको पाइप बगाएको छ । पहिराेले पाइप बगाउँदा गाउँपालिकाका वडा न ४ र ५ का दुई हजार भन्दा बढि उपभोक्ता खानेपानीबाट बञ्चित भएका छन् ।

खर्सुवासको बाउनीखा मुहानबाट पाइपमार्फत ल्याएको पानी उपभोग गर्दै आएका लेखपोखरा, तारुपारे, भित्रिवन, पोखरी लगायतका बासिन्दा पहिरोले पाइप बगाईदिएपछि पानीको जोहो गर्न कुवा र खोलामा धाउन बाध्य भएको स्थानीय तिले नेपालीले बताउनु भयो । वनक्षेत्रबाट पाइपमार्फत ल्याएको पानी पहिरोले झन्डै दुई सय मिटर पाइप बगाई दिएको उहाँको भनाई छ ।

केही दिनदेखिको निरन्तर वर्षाका कारण कपुरकोट झ्याम, सडक खन्दा आएको माटो बगाउदा खानेपानीको पाइप बगाएको कृष्ण विकले बताउनु भयो । अनाधृत रुपमा खनिएका सडक र त्यसबाट हुने क्षतिका बारेमा कसैले चासो नदिएको उहाँको भनाई छ ।

गतवर्ष पनि उक्त स्थानमा पहिरोले खानेपानीको पाइप बगाउदा धेरै उपभोक्ताहरु शुद्ध खानेपानी पिउनबाट बञ्चित भएका थिए ।
लगातारको वर्षासँगै आएको पहिरोले चुडामणी पुनको घर समेत पुरिदिएको छ । पहिराले घर पुरिदिएपछि उहाँ छिमेकीको घरमा बस्दै आइरहनु भएको छ ।

पहिरो जाँदा यातायात ठप्प
सल्यानबाट सुर्खेत जोड्ने खलंगा बालुवासंग्रही सडकमा पहिरो जाँदा यातायात ठप्प भएका छन् । अविरल बर्षाका कारण गएराती बनगाड कुपिण्डे नगरपालिकाको बाबिया चौरदेखि माथि ज्यामिरे नजिकैको भिरमा पहिरो जाँदा यातायात ठप्प भएका हुन् । सल्यान बाट सुर्खेत जोडने मुख्य सडक अबरुद्ध भएपछि यात्रुहरू अलपत्र परेका छन् । केही यात्रुहरु भने बिचबाटै फिर्ता भएका छन् । सडक खुलाउन स्थानीय सरकार र प्रशासनले पहल गरेपनि पानी परिरहेको कारण र ठूलो पहिरो भएकोले कठिन भएको बनगाड कुपिण्डे नगरपालिकाले जनाएको छ ।

अहिले नगरपालिका र ट्राफिक प्रहरीको पहलमा पहिरो पन्छ्याउन डोजर पुगेको ट्राफिक जवान खेम केसीले बताउनु भयो । उहाका अनुसार पहिरो हटाउन केही समय लाग्ने देखिएको छ ।

बर्खा याम सुरु भएसँगै यो सडक जोखिमपूर्ण मानिएको छ । प्रशासनसँग कुरा गरेर अब देखि यो बर्खायाममा ठुला गाडीमा रोक लागाउने ट्राफिक केसीले बताउनु भयो ।