लमजुङका कैदीबन्दीलाई छालाको समस्या

0
Shares

लमजुङ । लमजुङका कैदीबन्दीमा छाला सम्बन्धी एलर्जीको समस्या देखा परेको छ । जिल्ला कारागार कार्यालयको अनुरोधमा स्वास्थ्य कार्यालयले कारागार भित्र सञ्चालन गरेको स्वास्थ्य परीक्षण शिविर सञ्चमला गरिएको सो अवसरमा एचआइभीको पनि परीक्षण र सचेतना कार्यक्रम गरिएको थियो ।

कैदीबन्दीलाई छालाजन्य रोगसंगै ग्यास्टिकको समस्या देखा परेको जिल्ला सामुदायिक अस्पतालका डा. हिक्मत भण्डारीले बताउनुभयो । उहाँका अनुसार महिला कैदीबन्दीलाई तल्लो पेटको समस्या देखिएको छ ।

अहिलेको समय गर्मीयाम भएकाले कैदीबन्दीलाई छालाको समस्या भएको र उनीहरूलाई औषधीका साथै सल्लाह, सुझाव दिइएको उहाँले बताउनुभयो । ग्यास्टिक भएकालाई खानपानमा ध्यान दिन अनुरोध गरेको र औषधी दिइएको उहाँले बताउनुभयो । केहीलाई मानसिक समस्या, रुघाँखोकी, टाउको दुख्नेलगायतको समस्या देखा परेको पाइयो । उनीहरूलाई फिल्टर गरेर, उमालेर पानी पिउन सल्लाह दिइएको थियो ।

कारागारमा हाल ८६ जना कैदीबन्दीहरू रहेका छन् । शिविरमा सबैको स्वास्थ्य परीक्षण गरिएको जिल्ला कारागार कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले बताउनु भयो । उहाँका अनुसार २५ जनाको भने एच.आई.भी. एड्स परीक्षण गरिएको थियो । चैतदेखि असारभित्र आएका कैदीबन्दीको एड्स परीक्षण गरिएको उहाँले बताउनुभयो । अन्य नागरिकले जस्तै कैदीबन्दीले पनि स्वास्थ्य परीक्षण गर्न पाउने अधिकार भएकाले उनीहरुको स्वास्थ्य परीक्षण गराइएको पौडेलको भनाई छ । उहाँका अनुसार कैदीबन्दीको स्वास्थ्य परीक्षणका साथै एचआईभी एड्स तथा अवसरवादी संक्रमण सम्बन्धि अभिमुखिकरण गराइएको थियो ।

कारागारका जेलर विष्णुप्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रमम निमित्त प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाही, सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनार, राष्ट्रिय अनुसन्धान अधिकृत सुरेश तिवारी, प्रहरी निरीक्षक अर्जुनकुमार विक, स्वास्थ्य कार्यालय लमजुङका ल्याब प्रमुख निरोजकुमार श्रेष्ठलगायतको सहभागिता थियो ।

कारागारमै स्वास्थ्य शिविर राखेर सबै कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको यो पहिलो पटक हो । कारागारभित्रै सो सुविधा पाउँदा उनीहरू खुसी भएका छन् । हाल कारागारमा ७६ पुरुष र १० महिला गरि जम्मा ८६ जना कैदीबन्दी रहेका छन् ।