इरानी डुंगाबाट बेलायती जहाजमा हमला प्रयास

0
Shares

लन्डन, (एजेन्सी) । खाडीको जलीय क्षेत्रनजिक बिहीबार एउटा बेलायती तेल बोक्ने जहाजमाथि केही इरानी डुंगाले हस्तक्षेप र आक्रमण गर्ने प्रयास गरेको तथा तिनीहरुलाई एउटा शाही नौसैनिक जहाजले धपाएको संयुक्त अधिराज्यका एकजना सरकारी प्रवक्ताले बताएका छन्।

उनले भनेका छन्– ‘तेलको टैंकर बोकेको बेलायती हेरिटेज नामक जहाज र इरानी तीनवटा जहाजबीच पुगेको युद्धपोत एचएमएस मोन्टरोजले ती इरानी डुंगालाई मौखिक चेतावनी दिएर भगाएको हो। इरानको यो गतिविधि अन्तर्राष्ट्रिय कानुन विपरित छ। ’

इरानले भने आफ्नो एउटा तेल बोक्ने जहाज कब्जामा लिइएको बदला लिन चेतावनी दिएको स्विकारे पनि आफूले अर्काको कुनै जहाज नियन्त्रणमा लिन नखोजेको स्पष्ट पारेको छ।’ अमेरिकी सरकारी अधिकारीलाई हवाला दिँदै अमेरिकी सञ्चार माध्यमले खाडी हुँदै होर्मुज जलडमरुतर्फ बढिरहेको ब्रिटिस हेरिटेज जहाजलाई हस्तक्षेप गर्न खोजेका ती डुंगाहरु इरानी रिभोलुस्नरी गार्ड कोप्र्सको हुनुपर्ने विस्वास व्यक्त गरेको छ।

केही समयअघि अमेरिकाले गल्फ अफ ओमनमा इरानले आफ्नो दुईवटा तेल बोक्ने जहाजमा आक्रमण गरेको ओरोप लगाएको थिया। यद्यपि इरानले सो आरोप ठाडै अस्वीकार गरेको थियो।

इरानको चेतावनी

यसअघि इरानका राष्ट्रपति हसन रुहानीले इरानी तेल ट्यांकर जफत गर्ने बेलायती कदमलाई लिएर त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए।
इरानको सरकारी समाचार एजेन्सी इर्नाले क्याबिनेटको बैठकमा राष्ट्रपतिले उक्त ट्यांकर जफत गर्नुलाई गलत कार्य बताएको उल्लेख गरेको थियो। उनले बेलायतलाई चेतावनी दिँदै भने– ‘तिमीहरुले असुरक्षाको शुरुआत गरेका छौ र यसको परिणाम कस्तो हुन्छ, बुझ्नेछौं।’

यस विषयमा उनले विस्तृत रूपमा बताएका छैनन्। गत हप्ता जिब्राल्टरमा अधिकारीहरुले इरानको एक तेल ट्यांकरलाई रोकेको थियो। उक्त ट्यांकर युद्धबाट ध्वस्त सिरियामा इरानको कच्चा तेल लिएर गइरहेको थियो जसमा युरोपेली संघले प्रतिबन्ध लगाएको छ।

इरानले सोमबारबाट सन् २०१५ मा भएको परमाणु सम्झौतालाई तोडेको थियो। संयुक्त राष्ट्रको परमाणु निगरानी संस्था अन्तर्राष्ट्रिय परमाणु उर्जा एजेन्सी (आईएइए)ले पुष्टि गर्दै इरान सम्झौताभन्दा धेरै युरेनियम प्रशोधन गरिरहेको जनाएको थियो।

अमेरिका सन् २०१८ मा एकतर्फी उक्त परमाणु सम्झौताबाट अलग भएको थियो। त्यसपछि उसले इरानमाथि कडा प्रतिबन्ध लगाएको थियो।