आँप बोकेर चितवन आएको भारतीय ट्रकमा तोडफोड

0
Shares

चीतवन, भरतपुरको क्षेत्रपुरस्थित महानगर ताजा तरकारी तथा फलफूल थोक बजारमा आँप ल्याएको भारतिय ट्रकमा तोडफोड भएको छ ।

विहान तीन बजे आँप लिएर बजार क्षेत्रमा प्रवेश गरेको यूपि ४१ एटि २६९१ नम्वरको भारतिय मालवाहक ट्रकमा तीन जना युवाले तोडफोड गर्नुका साथैं आगजनीको प्रयास गरेका थिए ।

स्कुटरमा आएका ति युवाहरुले गाडीको अगाडिको सिसा फुटाइदिएका छन् भने, पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरेको फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए ।

‘ती युवाहरुले तोडफोड पछि पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरेका रहेछन्, तर चिसोका कारणले सलाई ओसिए पछि आगो नबल्दा ट्रक जोगियो’ अध्यक्ष धितालले भने, ‘यसले ब्यापारीहरुमा भय बढाएको छ ।’

सो ट्रकमा पाँच टन आँप रहेको थियो । ट्रकमा तोडफोडको हल्ला भएपछि व्यापारीहरुले थाहा पाएका थिए । केही ब्यापारी उठेपछि तोडफोडकर्ताहरु स्कुटरमा फरार भएको चितवन प्रहरीले जनाएको छ ।

चितवन प्रहरीका प्रवक्ता एकनारायण कोइरालाले दोषीहरुको पहिचान नभएको बताए । उनीहरुको खोजी कार्य तीव्र पारिएको उनको भनाइ छ ।