प्रदेश सरकारद्वारा खाद्य प्रयोगशाला


हेटौंडा ।
प्रदेश–३ सरकारले खाद्य प्रयोगशाला स्थापना गर्ने भएको छ । भारतबाट विषादीयुक्त तरकारी नेपाल भित्रिएको जनगुनासो आइरहेको समयमा प्रदेश सरकारले खाद्यान्न र तरकारी परीक्षण गर्न प्रयोगशाला निर्माण गर्न लागेको हो ।

तरकारी तथा फलफुलमा प्रयोग हुने विषादी र यसको परीक्षण सम्बन्धि समाचारले प्रदेश सरकारको ध्यानाकर्षण भएको जनाइएको छ । बुधवार पत्रकार सम्मेलन गर्दै उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री अरुण नेपालले खाद्यमा बढ्दो विषादी प्रयोग न्यूनीकरण गर्न प्रदेश सरकारले खाद्य प्रयोगशाला स्थापना गर्न लागेको जानकारी दिनुभएको हो ।

उहाँले उपभोक्ताले उपभोग गर्ने विषादीयुक्त सामान अनुगमन गरी व्यवस्थित गर्न सरकारले बजार निर्देशिका जारी गरिसकेको भन्दै उपभोक्ताको स्वास्थ्यलाई लिएर प्रदेश सरकार गम्भीर भएको बताउनुभयो । मन्त्री नेपालले प्रदेशमा आयात हुने खाद्यसामग्री परीक्षण गरेरमात्र उपभोक्तामाझ पु¥याउने व्यवस्था गर्न खाद्य प्रयोगशाला सञ्चालनमा ल्याउने तयारी गरिएको बताउनुभयो ।

प्रयोगशाला स्थापना गर्न सरकारले करिब एक करोड ३० लाख बजेट विनियोजन गरिसकेको नेपालले जानकारी दिनुभयो । उहाँले प्रयोगशाला कहाँ स्थापना गर्ने भनेर उपयुक्त स्थान खोजी भइरहेको बताउनुभयो ।

‘सकेसम्म बाहिरबाट प्रदेशमा आयात हुने मुख्य नाकामा प्रयोगशाला निर्माण गर्नुपर्छ,’ मन्त्री नेपालले भन्नुभयो । उपयुक्त स्थान पहिचान गरी छिटै प्रयोगशाला स्थापना हुने मन्त्री नेपालको भनाइ छ ।