तीन दिनपछि खुले मासु पसल


हेटौंडा ।
तीन दिनदेखि व्यवसाय बन्द गरी आन्दोलन गरेका माछामासु व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् । मूल्य समायोजन गर्दा प्रशासनले कडाई गरेको भन्दै व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिएका हेटौंडाका माछामासु व्यवसायीले बुधबारबाट व्यवसाय सुचारु गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले वार्ताका लागि आग्रह गरेपछि व्यवसायीले आन्दोलन फिर्ता गरी व्यवसाय सुचारु गरेका हुन् । व्यवसाय खुला गरेसँगै पुरानै मूल्यमा खसीको मासु बिक्री वितरण हुने हेटौंडा मासु व्यवसायी संघ अध्यक्ष सूर्य अधिकारीले बताउनुभयो ।
मासु पसल तत्काल खोल्न हेटौंडा उपमहानगरपालिकाले निर्देशन दिएको थियो । उपभोक्तालाई समस्यामा पार्ने गरी बन्द गरिएका मासु पसल खोल्न निर्देशन दिइएको हो । हेटौंडा उपमहानगरपालिकास्तरको उपभोक्ता हित संरक्षण समितिको बैठकले पहिलेकै अवस्थामा मासु पसल सञ्चालन गर्न निर्देशन दिने निर्णय गरेको थियो ।

उपप्रमुख मीनाकुमारी लामाको संयोजकत्वमा बसेको बैठकले मूल्य निर्धारणको विषय आपसी छलफलबाट निकास निकाल्न सकिने भएकोले पसल खोलेर वार्तामा आउन आग्रह गरेको थियो । मासु पसल बिनाजानकारी बन्द गरिएकोप्रति समितिले ध्यानाकर्षण भएको जनाएको छ ।