६३ करोड बजेट ल्याउँदै नगरसभा सम्पन्न


किरन धामी, दार्चुला ।
जिल्ला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिकाको पाचौ नगरसभा सम्पन्न भएको छ । पाचौँ नगरसभाबाट अगामी आर्थिक वर्ष २०७६÷०७७ का लागी ६३ करोड ६३ लाख ४७ हजार बजेट विनियोजन भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत विरेन्द्र सिंह धामीले जानकारी दिनुभयो । असार १० गते निति कार्यक्रम प्रस्तुत गर्दै सुरु भएको पाचौ नगरसभा विनियोजन विधयेक अनुमोदन गर्दै सम्पन्न भएको उहाले जानकारी दिनुभयो ।

पाचौ नगरसभाको कार्यसुची अनुसार असार १२ गते निति कार्यक्रम माथी दफाबार छलफल गरिएको तथा सोही दिन सभामा निति कार्यक्रम अनुमोदन भएको उहाको भनाई छ । असार १७ गते आर्थिक विधयेक र विनियोजन विधयेक सभामा प्रस्तुत गरी २३ गते विनियोजन विधयेक माथी छलफल गर्दै अनुमोदन गरिएको उहाले बताउनु भयो । “कृषि, शिक्षा पुर्वाधार विकास र व्यापार, महाकाली नगरपालिकाको समृद्धिको आधार” भन्ने मुल नाराका साथ लोकप्रिय निति, कार्यक्रम तथा बजेट ल्याएको छ ।

आ.व. २०७६÷०७७ को निति, कार्यक्रम तथा बजेटमा सुत्केरी आमालाई उप मेयरको उपहार कार्यक्रम प्राथमिकतामा राखिएको छ । मातृशिशु मृत्यु दर न्युनिकरण गर्न स्वास्थ्य संस्थामा सुत्केरी हुने आमालाई नगरपालिकाको तर्फबाट उप मेयर मार्फत प्रोत्साहन गर्ने गरी सुत्केरी आमालाई उप मेयरको उपहार कार्यक्रम बजेटमा समावेश गरिएको हो । यस्तै स्थानिय सिप र स्थानिय जनशक्ति पहिचान गरी स्थानिय विकास रोजगारमुलक कार्यको थालनी गर्ने मेरो शीप र श्रम मेरो माटोलाई कार्यक्रम ल्याइएको छ ।

आमा बुवा नभएका बालबालिकाहरुको अभिभावक नगर प्रमुख कार्यक्रम संचालन गर्ने गरी कार्यक्रम ल्याएको छ । उत्पादित वस्तुको बजार व्यवस्थापनको उचित प्रतिबन्द मिलाईने निति अबलम्बन गरी दुग्ध, मासु तरकारी फलफुलमा आत्म निर्भर बनाउन एक वडा एक उत्पादन कार्यक्रम संचालन गर्ने निति ल्याइएको छ । हाम्रो विद्यालय स्वच्छ र हराभरा विद्यालयको निति कार्यान्वयनमा ल्याई एक विद्यालय एक फुलवारीको व्यवस्थापन गरिने कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।

स्वच्छ नगर अभियान संचालनामा ल्याए एक परिवार दुई डस्टबिन वितरण गरी अभियानलाई सार्थक बनाउने कार्यक्रम संचालन गर्ने निति ल्याएको छ । किसानको हक हित संरक्षण र सम्बर्धन गर्दै कृषिको उत्पादन र उत्पादकत्व बढाउने निति लिदै आर्थिक वर्ष २०७६÷०७७ बाट कृषक पेन्सन कोष निर्देशिका तयार गरी कार्यान्वयन गर्ने कार्यक्रम समते बजेटमा समावेश गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत धामीले जानकारी दिनुभयो ।