कफी उत्पादनमा काभ्रे पहिलो , गुणस्तर बृद्धी गर्न सरोकारवालाहरुको चासो


मोतीराम तिमल्सिना, काभ्रे
ब्यवसायीक कफीखेती सर्बेक्षणले काभ्रेपलाञ्चोक जिल्लालाई उत्पादनका हिसावले नेपालको पहिलो जिल्ला घोषणा गरे सँगै जिल्लामा उत्पादन हुने कफीको गुणस्तर बृद्धी गर्ने सरोकारवालाहरुले प्रतिवद्धता ब्यक्त गरेका छन् ।
धुलिखेलमा आयोजित सर्वेक्षण २०७५ को नतिजा सार्वजनिकीकरण कार्यक्रममा जिल्लाको बस्तुगत तथ्याङ्क प्रस्तुत गरिएको थियो । काभ्रेपलाञ्चोक जिल्लामा ९ सय ४३ कृषकले ब्यवसायीक कफी खेती गरिरहेका छन् । सर्बेक्षणमा ५० बोट भन्दा धेरै खेती गर्न कृषकहरुलाई ब्यवसायीक खेती गर्ने कृषकका रुपमा सूचीकृत गरिएको छ ।

जिल्लामा रहेका कफी कृषकहरुको फर्ममा १ लाख ४ सय ३० बोटबाट कफी फलिरहेको छ भने ५ लाख १६ हजार ५१ बोट कफी फल्ने क्रममा छन् । १०४ दशमलव ३ हेक्टर जमिनमा उत्पादन भएको कफीका बोटबाट फ्रेस चेरी २ लाख २१ हजार ९ सय ७ केजी अथार्त २ सय २१ मेट्रिक टन उत्पादन भएको छ । उत्पादीत कफी मध्ये ८२ प्रतिशत अर्गानिक रहेको छ भने ४३ प्रतिशत कृषकहरुले अर्गानिक प्रमाणीत गरेका छन् ।

तथ्याङ्क विभागका निर्देशक डा. महेश सुवेदीले ७७ जिल्ला मध्ये मध्यपहाडी क्षेत्रका ३२ जिल्लामा कफी खेती हुँदै आएको छ । उत्पादन र गुणस्तरमा पहिलो रहेको काभ्रे जिल्ला पछि स्याङ्गजा दोश्रो र सिन्धुपाल्चोक तेश्रो रहेको छ । देशभर ६ हजार ३ सय ४६ कृषक छन् भने प्रदेश नम्वर ३ मा कफी धेरै उत्पादन हुन्छ । तथ्याङ्क सकंलनसँगै प्रत्येक कृषकहरुलाई कफीको गुणस्तर सुधार गर्न पाँच पाँचवटा सुझाव माग गरिएकोमा तथ्याङ्क विभागले १० वटा महत्वपूर्ण सुझाव सरकारलाई बुझाईएको निर्देशक बद्री कार्कीले बताउनु भयो । तथ्याङ्क विभागले चिया, फ्लोरीकल्चर, पोल्ट्री पछि कफीको सर्वेक्षण गरिएको तथ्याङ्क अधिकृत गणेश फुँयालले बताउनु भयो ।

जिल्लामा उत्पादन भएको कफीबाट मात्रै बार्षिक १ करोड ९९ लाख ७१ हजार रुपैया प्राप्त भएको छ । कफीसँगै अन्य बालीहरुबाट पनि आम्दानी भएकाले कफी खेती तर्फ कृषकहरु आर्कर्षित हुँदै गएका छन् । कफी सहकारी संघ लिमिटेड काभ्रेका लेखा संयोजक उद्धवप्रसाद आचार्यले कफी खेती गर्ने कृषकहरुलाई सरकारले ध्यान दिन नसकेको बताउनु भयो । सरकारले सहकारी मार्फत तीन वर्षे साझेदारी कार्यक्रम शुरु गरेको भए पनि एक् वर्ष संचालन गरेर बाँकी समय बेवास्ता गरेको उहाँले बताउनु भयो ।

कफी को अपरेटिभ युनियन लिमिटेड काभ्रेका ब्यवस्थापक ज्ञानबहादुर अस्तानी मगरले जिल्लामा उत्पादन हुने कफीलाई अझै गुणस्तर बनाउन कृषकहरुको क्षमता विकास तथा कफी प्रशोधन उद्योग संचालनका बारेमा छलफल भईरहेको बताउनु भयो । काभ्रेपलाञ्चोक जिल्ला मासु, अण्डा, दुध, तरकारी लायतमा आत्मनिर्भर सँगै नियार्त गर्दै आएको छ ।