सार्वजनीक यातायातमा मनपरि

आठ बजेपछि विद्यार्थीलाई छुट बन्द


रोशन पराजुली, हेटौंडा ।
सवारीमा विद्यार्थीलाई तोकिएअनुसार भाडामा छुटको व्यवस्था छ । तर, उक्त व्यवस्था हेटौंडामा भने देखाउने दाँतजस्तो मात्र भएको छ ।
आइतबार साँझ करिब ७ः३० बजे । हेटौंडा अस्पतालको अगाडि सडकमा बसहरुको भीडभाड थियो । त्यही भीडमा बसपार्कबाट मनहरी जाने एउटा बस पनि यात्रु पर्खिंदै थियो ।

नवलपुर, बसामाडी, सान्नान्टार र मनहरी भन्दै चिच्याउँदै बसका सहचालक यात्रु डाकिरहेका थिए । बस आफ्नो स्टेशनमा आइपुगेको केही समयमै सिट भरियो । तर, बस गन्तव्यका लागि अगाडि बढेन ।

सिटमा बस्ने र उभिने यात्रुले भरिएको बसभित्र हपक्क गर्मी । उभिएका र बसेका यात्रु पनि पसिनाले भिजेका थिए । छिप्पिँदो साँझमा यात्रुलाई घर जाने चटारो । तर, सिट भरिइसक्दा पनि सहचालकले यात्रु बोलाइरहे । उनी भन्दै थिए–सिट खाली, सिट खाली ।

साँझ ७ः५० सम्म बसमा उभिने यात्रु टन्नै भए । चालकले सहचालकलाई ‘जाने हो ?’ भनेर सिटबाटै सोधे । सहचालकले जवाफ दिए–अब एकछिन बसौं । आठ बज्यो । सहचालक बसको खुड्किलोमा उक्लिए । ढोकामा बसेर भने–ल ल सबै जना मिलेर बसौं, अब जाने । उनले थपे–आठ बजेपछि कार्डबाट छुट हुन्न है ।
उनले यतिञ्जेल बस रोक्नुको रहस्य बल्ल खुल्यो । खचाखच यात्रुले भरिएको बस सवा आठ बजे बसपार्कबाट हिँड्यो । नवलपुर पुगेपछि थप यात्रु बसमा कोच्चिए । बीचबाटोमा पनि केही थपिए । सान्नान्टारमा केही यात्रु ओर्लिए ।

उनीहरुले विद्यार्थी कार्ड र भाडा सँगै दिए । रिसाउँदै सहचालकले भने–साढे आठ भइसक्यो, अघि नै भनेको होइन, आठ बजेपछि कार्ड छुट हुन्न भनेर ? विद्यार्थीहरु चुपचाप थप पैसा दिएर बाटो लागे । उक्त यात्रामा विद्यार्थी, अशक्त, ज्येष्ठ नागरिक कसैले पनि कार्डबाट छुट पाएनन् ।

यो एउटा प्रतिनिधि घटनामात्र हो । सामान्यतयाः हेटौंडाबाट विभिन्न ठाउँको रुटमा सार्वजनिक सवारी प्रयोग गर्दा कार्ड छुटपछि तिर्नुपर्ने ठाउँअनुसार १० देखि टाढा फापरबारीसम्म ४५ रुपियाँ भाडा हो । विद्यार्थी, अशक्त, बृद्धलगायतले परिचयपत्रका आधारमा बस तथा माइक्रोमा न्यूनतम भाडा तिर्दै आएका छन् ।

नारायणी यातायात, साझा यातायात तथा अन्य यातायातका नियमावलीअनुसार विद्यार्थी, अशक्त, बृद्धलगायतलाई दिइने छुटसम्बन्धमा कुनै समयसीमा छैन । मकवानपुर ट्राफिक प्रहरी कार्यालयका प्रहरी काशी थापाका अनुसार यात्रु लिएर गुडेको हरेक सार्वजनिक सवारीमा कार्ड छुट लागु हुन्छ । यति बज्यो, कार्ड छुट हुन्न भनेर कसैले भन्छ भने त्यो गलत हो । थापाले भन्नुभयो–कसैले छुट दिन मानेन भने ट्राफिक प्रहरीलाई तत्काल जानकारी गराउँदा हुन्छ ।

उहाँका अनुसार नियमअनुसार रुटपरमिट पाएर सञ्चालनमा आएका यात्रुबाहक सवारीले आफूखुशी समय तोकेर कार्ड चल्ने÷नचल्ने घोषणा गर्न पाउँदैनन् । सार्वजनिक सवारीमा दिइँदै आएको छुट सम्बन्धमा वाध्यकारी कानुन नभएको र यसलाई व्यवसायीले व्यवहारिकरुपमा प्रदान गर्दै आएको नारायणी यातायात व्यवसायी संघ अध्यक्ष हीरालाल श्रेष्ठको दाबी छ । ‘रुट इजाजत, वार्षिक कर र जाँचपासमा पाउँदै आएको छुट सरकारले कटौती गरे पनि व्यवसायीले छुट दिन छाडेका छैनन्,’ उहाँको दाबी छ ।

सार्वजनिक सवारी जतिबेलासम्म चल्छन्, त्यति बेलासम्म तोकिएको छुट कार्यान्वयन हुनुपर्ने प्रष्ट रहेको श्रेष्ठले प्रतिक्रिया दिनुभयो । ट्राफिक प्रहरीका अनुसार यात्रुलाई सहुलियत छुट नदिने बसलाई प्रत्येक गल्तीमा पाँच सय रुपियाँ जरिवाना गर्ने कानुनी आधार छ । आफूहरु अन्यायमा परेको जानकारी ट्राफिकलाई गराए लापरबाही शीर्षकमा सवारीचालकलाई कारबाही गरिने प्रहरी बताउँछ ।