धमाधम निर्माण हुँदै शहरी पूर्वाधार



मधुसुदन रायमाझी 

अव्यवस्थित शहरलाई आधुनिक र व्यवस्थित बनाउने नीति सरकारले लिएको छ । विना योजना निर्माण भएका भौतिक संरचनाले शहरलाई अस्तव्यस्त बनाउने गरेको छ । दिर्घकालिन योजना मार्फत निर्माण हुने भौतिक पूर्वाधारले शहरलाई आधुनिक बनाउछ ।

सोही अनुसार समृद्ध शहर निर्माण गर्ने मुख्य उदेश्यको साथ शहरी विकास मन्त्रालयले शहरवासीको जीवनस्तरमा सुधार ल्याउन राष्ट्रिय शहरी नीति र योजना अनुसार विभिन्न शहरी पूर्वाधार तथा आधुनिक र सुविधा सम्पन्न सार्वजनिक भवन लगायतको संरचना निर्माणको काम गर्दै आएको छ ।
शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत रहेको सघन शहरी तथा भवन निर्माण आयोजना झापाले पनि पूर्वाधार निर्माणको क्षेत्रमा काम गर्दै आएको छ ।

आयोजनाले ताप्लेजुङ्ग, पाँचथर, ईलाम र झापा जिल्ला अन्तर्गत शहरी सडक तथा फुटपाथ निर्माण, शहरी क्षेत्रमा सौर्यबत्ती जडान, चार जिल्लाको विभिन्न क्षेत्रमा बसपार्क तथा हरियाली पार्क लगायतका शहरी पूर्वाधार निर्माणको कार्य गर्दै आएको छ । त्यसैगरी यस आयोजनाले अस्पताल, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, डाक्टर तथा नर्स आवास भवन लगायतका स्वास्थ्य भवनहरु निर्माण गर्नुको साथै विभिन्न स्थानमा अन्य सरकारी कार्यालय भवन, सभागृह तथा भ्यू टावर निर्माणको कार्यक्रम सञ्चालन गरेको छ ।


यस आयोजनाको कार्यक्षेत्र भित्र पर्ने विभिन्न स्थानमा ४६ वटा स्वास्थ्य भवनहरुको निर्माण कार्य भईरहेकोमा २५ वटा योजनाहरु सम्पन्न गरी स्थानीय तहलाई हस्तान्तरण गर्ने लक्ष्य अनुरुप काम भइरहेको छ । ८ वटा सरकारी भवन निर्माण मध्ये ५ वटा वटा भवन निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

आयोजनाले झापाको दमक नगरपालिकाभित्र आधुनिक र सुविधा सम्पन्न १५ सय क्षमताको ठूलो सभा हल निर्माणको कामको काम अगाडि बढाएको छ । सभा सम्मेलन गर्न सास्ती खेप्दै आएका यस क्षेत्रमा बासिन्दा सभा हल निर्माण हुने भएपछि खुसी भएका छन् । सभा हल निर्माणको काम लक्ष्य अनुसार नै अगाडि बढाउन आयोजना सफल हुँदै आएको छ । व्यवस्थित र आधुनिक प्राविधिमैत्री सभागृह भवन निर्माण भइरहेको संघन सहरी तथा भवन निर्माण आयोजना झापाका इन्जिनियर सुशान बुढाथोकी बताउनुहुन्छ । २८ करोड लागतमा निर्माण सुरु भएको सभा हल आगामी एक बर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सभा हलको ६० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

आयोजनाले झापाको दमकमा रहेको सभा हल निर्माणसँगै दमक बसपार्कलाई व्यवस्थित बनाउन कार्यालय भवनको निर्माण, बसपार्क क्षेत्रमा सोलार जडान, सार्वजनिक शौचालय निर्माण लगायतको काम सम्पन्न गरेको छ । जसको कारण यात्रु र यातायात व्यवसायीलाई व्यवसाय सञ्चालन गर्न सहज भएको छ ।

दमक नगरपालिका भित्र आयोजनाले सञ्चालन गरेको भौतिक पूर्वाधार निर्माणको कामले नगरक्षेत्रको आर्थिक गतिविधि विस्तार गर्नमा ठूलो टेवा पु¥याएको दमक नगरपालिकाकाका नगर प्रमुख रोमनाथ ओली बताउनुहुन्छ । उहाँले आयोजना हस्तारन्तरण भएपछि व्यवस्थित रुपमा सञ्चालन गर्ने विषयमा नगरपालिकाले नीति बनाएर नै अगाडि बढने बताउनुभयो ।

सडक सञ्जालको विस्तार, नगरपालिका र गाउँपालिकाभित्र स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माण भएसँगै स्वास्थ्य सेवा प्रवाहमा सहजता हुने भएको छ । स्वास्थ्य सेवा प्रवाहलाई सहज रुपमा सञ्चालन गर्न सरकारले आधुनिक र प्रविधिमैत्री भवन निर्माणको काम अगाडि बढाएको हो । झापा जिल्लाको कचनकबल गाउँपालिकाको बनियानीमा आधुनिक प्राथमिक स्वास्थ्य केन्द्र, निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

भवन निर्माणको लागि स्थानीयवासी चिन्तामणि खरेलले डेढ विगाह जग्गा निशुल्क रुपमा उपलब्ध गराउनुभएको छ । उक्त अस्पताललाई १५ शैयाको प्राथमिक अस्पतालको रुपमा स्तरोन्नती गर्ने लक्ष्य राखिएको छ । स्वास्थ्य केन्द्रका स्वास्थ्य केन्द्रका प्रमुख नारायण प्रसाद निरौलाले सुविधायुक्त भवन निर्माणले सेवा प्रवाहमा निकै सहज हुने बताउनुभयो ।

झापा जिल्ला कचनकबल गाउँपालिकास्थित पथरिया स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ भने घेरावारी स्वास्थ्य चौकी, धाइजन स्वास्थ्य चौकी, जुरेपानी स्वास्थ्य चौकी गौरादह र डाँगीवारी स्वास्थ्य चौकी पनि निर्माणको अन्तिम चरणमा पुगेका छन् ।

अर्जुनधारा स्वास्थ्य चौकी, कन्काई नगरपालिकमा १५ शैया सुरुङगा प्राथमिक स्वास्थ्य केन्द्र, शिवसतासी स्वास्थ्य चौकी, खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्र, सरनामती स्वास्थ्य चौकी, गौरीगन्ज स्वास्थ्य चौकी र हल्देवारी गाउँपालिकास्थित गोलधाप स्वास्थ्य चौकी निर्माण सम्पन्न भई हस्तान्तरण पश्चात संचालनमा आएका छन् । आधुनिक र सुविधा सम्पन्न स्वास्थ्य चौकीहरु यस क्षेत्रमा निर्माण भए संगै आधारभूत स्वास्थ्य सेवा स्थानीय स्तरबाट सहज र सुलभ रुपमा प्राप्त हुन सक्ने अवस्था देखेर यस क्षेत्रका नागरिकहरु खुसी भएका छन् ।

त्यसैगरी झापा जिल्लाकै कमल गाउँपालिका वडा नम्बर ७ स्थित ४१ कट्ठामा निर्माण भइरहेको ५० शैयाका पूर्वाअञ्चल क्षेत्रीय आर्युवेद चिकित्सालय भवन निर्माणको काम पनि तीब्र गतिमा अगाडि बढेको छ ।

जिल्लास्तरमा नै सर्वसुलभ ढंगले स्वास्थ्य सेवा प्रदान गर्ने मुख्य उद्देश्य सहित झापा जिल्लास्थित मेची अस्पताल निर्माणको कामले गति लिएको छ । २७ करोड लागतमा निर्माण सुरु भएको अस्पताल आधुनिक र प्रविधिमैत्री हुनेछ । अस्पतालसँगै आठ परिवार स्वास्थ्यकर्मी बस्ने आवास निर्माणको काम समेत सम्पन्न हने अवस्थामा पुगेको छ ।

झापा जिल्लालाई आन्तरिक एवं बाह्य पर्यटकको गन्तव्य बनाउने मुख्य उदेश्य सहित भ्यु टावर निर्माणको कार्य शुरु हुन गईरहेको छ । यसको लागि खरिद प्रक्रिया सम्पन्न भई निर्माण व्यवसायीको चयन भएको छ । कुल १ अर्व ५५ करोड रुपैँया लागत भएको दमकको भ्यू टावर १८ तल्ला अर्थात ७२ मीटर अग्लो भवनमाथि २८ मीटरको स्टिल टावर हुनेछ । दृश्यावलोकन गर्ने संरचनाको रुपमा मात्र निर्माण नभएर व्यापारिक कम्प्लेक्स, सिनेमा हल, सेमिनार हल समेत भएको आधुनिक संरचनाको निर्माण माफर्त आयोजनाले आर्थिक गतिविधि बढ्नुका साथै पर्यटन प्रबद्र्धन हुने उदेश्य लिएको छ ।

सघन शहरी कार्यक्रम अन्तर्गत उच्च जनघनत्व भएको स्थानलाई छनोट गर्दै भद्रपुर नगरपालिका झापाको करिव ६० किलोमिटर सडक स्तरोन्नतीको काम भइरहेको छ । उक्त सडक निर्माण भएपछि भद्रपुर नगरपालिकाको स्वरुपमा नै परिवर्तन आउने लक्ष्य राखिएको छ । त्यसैगरी दमकमा ५ सय मिटरको बेलडाँगी रोडको कालोपत्रे गर्ने कार्यक्रम सम्पन्न भएको छ । विश्वास मार्ग, बालुवाटार र लक्ष्मी मार्ग अन्तर्गत पर्ने २८ सय मिटरको सडक तथा ताप्लेजुङ्गको फुङ्गलिङ्ग स्थित तोक्मेडाँडामा करिव १ किलोमिटर बाटो कालोपत्र भएपछि बजारको स्वरुपमा नै परिवर्तन आउनुका साथै स्थानीयलाई आवतजावत गर्न सहज भएको छ ।

आयोजनाले भवन निर्माण संहिता, सरकारी भवन निर्माण कार्यक्रम अन्तर्गत इलामको जिल्ला प्रशासन कार्यालय आवास भवन, जिल्ला वन कार्यालयको कार्यालय भवन, झापा स्थित साविक शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय ईलामकोे फिल्ड कार्यालय भवन र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, झापाको कार्यालय भवन निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिसकेको छ ।

त्यसैगरी साविक शहरी विकास डिभिजन कार्यालय ईलाम तथा घरेलु विकास समितिको एकिकृत कार्यालय भवन र यातायात व्यवस्था कार्यालय, इलामको भवन निर्माणाधिन अवस्थामा छन् । एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम अन्तर्गत इलामको इरौटार स्वास्थ्य चौकी, सोयाङ स्वास्थ्य चौकी, इझाङ्ग स्वास्थ्य चौकी, माइमझुवा स्वास्थ्य चौकी, पुवामझुवा स्वास्थ्य चौकीको भवन निर्माण कार्य सम्पन्न भएका छन् । खेजेनिम स्वास्थ्य चौक पशुपतीनगरको प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण कार्य आगामी आर्थिक बर्षको साउनभित्र सम्पन्न गरी हस्तान्तरण नभएमा सम्बन्धित निर्माण व्यवसायीलाई कालो सूचीमा समावेश गराउने तयारी गरिने छ ।


पाँचथर जिल्लाको हाङगुम, आङसराङ, कुरुम्वा, एकतीन, माङ्गजावुङ्ग स्वास्थ्य चौकीहरुको निर्माण कार्य सम्पन्न तथा हस्तान्तरण समेत भई संचालनमा आएका छन् भने सदरमुकाममा अवस्थित ५० शैयाको फिदिम अस्पताल, प्राङबुङ, लिम्वा र लुङरुप्पा स्वास्थ्य चौकीको भवन हुने चरणमा पुगेको छ ।

ताप्लेजुङ जिल्लाको आङखोप स्वास्थ्य चौकी, हाङदेवा स्वास्थ्य चौकी, ढुगेसाँघु प्राथमिक स्वास्थ्य केन्द्रमा चार परिवार नर्सिङ क्वार्टर भवन निर्माण सम्पन्न भई हस्तान्तरण भईसकेको छ । नाल्वु स्वास्थ्य चौकी, फुरुम्बु स्वास्थ्य चौकी, खेवाङ स्वास्थ्य चौकीे निर्माण कार्य पनि सम्पन्न हुने अवस्थामा पुगेको छ । आयोजनाले खेजेनिम स्वास्थ्य चौकीको भवन निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण नभएमा सम्बन्धित निर्माण व्यवसायीलाई कालो सूचीमा समावेश गराउने तयारी समेत अगाडि बढाएको छ । समयसीमाभित्र नै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कालोसूचिमा राख्ने चेतावनी आयोजनाले दिएको छ ।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले अव्यवस्थित पुराना शहरहरुलाई व्यवस्थित बनाउन मापदण्ड बनाएर विभाग अन्तर्गतका भौतिक संरचना निर्माण भइरहेको बताउनुहुन्छ । उहाँले सुरक्षित, भुकम्प प्रतिरोधी भवन, शहरी पूर्वाधार, प्रकोप प्रतिरोधी भवन निर्माण र सुविधायुक्त आवास निर्माणलाई सरकारले प्राथमिकता दिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘व्यवस्थित भौतिक पूर्वाधार निर्माणले नै शहरलाई सुविधा सम्पन्न बनाउछ । आम नागरिकहरुको चाहना अनुसार नै पूर्वाधार निर्माणको काम अगाडि बढेको छ ।’

आधुनिक र व्यवस्थित पूर्वाधार निर्माणमा जुटेका छौं


विदुर खड्का
आयोजना प्रमुख, संघन शहरी तथा भवन निर्माण आयोजना, झापा
संघन सहरी पूर्वाधकार निर्माण अन्तर्गत चार वटा जिल्ला झापा, इमालम, पाँचथर र ताप्लेजुङ जिल्लाभित्र सडक, नाला, ढल, वसपार्क, हाट बजार, कृषिजन्य वस्तु खरिदविक्री गर्ने केन्द्र, शहरभित्र हरियाली पार्क जस्ता शहरी पूर्वाधार निर्माणको काम अगाडि बढाएका छौं । झापा जिल्लामा सुरक्षित नागरिक आवास कार्यक्रम पनि अगाडि बढेको छ । गरिवीको रेखामुनी रहेका अति विपन्न, पिछडिएका लोपोन्मुख, दलित एकल महिला र बृद्धबृद्धाको लागि छाना फेर्र्नको लागि लाभग्राही छनौट गरेर प्रति घर पचास हजारका वितरण गर्ने कार्यक्रमको पनि प्रारम्भिक चरणमा सर्वेक्षणको कार्यले तीब्रता पाएको छ ।

यस आर्थिक बर्षमामा कुल १६ सय जना लाभग्राही मध्ये बजेटको उपलब्धता अनुसार २५० लाभग्राहीलाई प्रति लाभग्राही ३० हजारको दरले पेश्की वितरण गर्ने र आगामी आर्थिक बर्षमा सम्पूर्ण लाभग्राहीले छाना फेरी सक्ने तथा अनुदान प्राप्त गर्ने लक्ष्य राखिएको छ । आयोजना अन्तर्गत निर्माण भइरहेका भौतिक पूर्वाधार निर्माणले आधुनिक र सुव्यवस्थित बनाई नगरवासीको जीवनस्तर उकास्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन भइरहेको छ ।

आयोजनाले भौतिक पूर्वाधारको निर्दिष्ट डिजाईन तथा स्पिेशिफिकेशन अनुसारको गुणस्तर कायम गर्नको लागि निर्माण सामाग्रीहरु सिमेन्ट, गिटि, बालुवा, ईँटा तथा विटुमिन आदिको नमूना संकलन गरी परीक्षण गर्ने प्रयोगशाला कार्यालय परिसरमा स्थापना गरेको छ । यसको लागि आयोजनाले छुट्टै जनशक्तिको व्यवस्था गरेको छ । निर्माण कम्पनीले भुक्तानी लिनु पूर्व अधिकार प्राप्त प्रयोगशालाले नमूना परीक्षण गरी सर्टिफिकेट पेश गर्नुपर्ने व्यवस्था लागू गरेका छौं ।

आवश्यकता अनुसार समय समयमा निर्माण भएका पूर्वाधार संरचनाको गुणस्तर सुनिश्चितताको लागि आकस्मिक रुपमा समेत परीक्षण गरिने व्यवस्था गरिएको छ । तोकिएको अवधिभित्र काम नगर्ने निर्माण कम्पनीहरुलाई कालोसूचिमा राख्ने प्रक्रिया पनि अगाडि बढाएका छौं । आयोजना अन्तर्गत सञ्चालिन भइरहेका सडक र भौतिक पूर्वाधार निर्माणको कामलाई तोकिएकै अवधिमा सम्पन्न गर्न अनुगमनको कामलाई पनि तीब्रता दिएका छौं ।

प्रतिक्रिया दिनुहोस्