कांग्रेस र राजपाको विरोधका कारण संसद् बैठक अवरुद्ध

सर्लाही घटनामा संसदीय छानबिन समिति बनाउन माग


नेपाल समाचारपत्र, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदहरुको अवरोधका कारण मंगलबारको संसद बैठक सूचना टाँसेर आजसम्मका लागि स्थगित भएको छ ।

कांग्रेस र राजपाले सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति गठन गर्न माग गर्दै नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि पहिलोपटक स्थगित भएको थियो ।

सर्लाहीका विभिन्न ३ वटा घटनाबारे गृहमन्त्रीले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै उनीहरुले सत्यतथ्य छानविनका लागि संसदीय समिति गठन गर्न माग गरेका हुन् । सभामुखले समिति गठनबारे दलहरुबीच सल्लाह गर्नुपर्ने भन्दै बैठक सञ्चालन गर्न पटक–पटक अनुरोध गरेपनि सांसदहरुले वेल घेराउ गरेर सदनको काम कारवाही अवरोध गरेपछि बैठक केहीबेर स्थगित भएको थियो ।

सभामुखले संसदमा भएका पार्टीहरुसँग आवश्यक परामर्श गर्न केही समय चाहियो भन्दै पटक–पटक आसन ग्रहणका लागि सांसदहरुलाई अनुरोध गर्नुभएको थियो । तर कांग्रेस र राजपाका सांसदहरुले तत्काल समिति गठन हुनुपर्ने माग छोडेनन् । सत्तारुढ दल नेकपाका सांसद खगराज अधिकारीले प्रतिपक्षी दलले संविधान र नियमावलीलाई उल्लंघन गरेको भन्दै नियमापत्ति जनाउनुभयो ।

यही असार ५ गते सर्लाहीमा नेकपा, नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज कुमार पौडेलको ‘प्रहरीसँगको मुठभेड’मा मृत्यु भएको थियो । प्रहरीले दोहोरो भिडन्तमा पौडेलको मृत्यु भएको बताए पनि विद्रोही पक्षले सुनियोजित हत्या भन्दै आएको छ ।

संसदलाई मंगलबार जबाफ दिंदै गृहमन्त्री रामबहादुर बादलले जनपरिषद् गठन गर्ने, शान्ति सुरक्षामा खलल पु¥याउने र संविधानविरोधी गतिविधि गरेकाले उनलाई गिरफ्तार गर्न गएका प्रहरीलाई आक्रमण गरेका कारण जबाफमा कारबाही गर्दा मुठभेडको अवस्था सिर्जना भएको र सोही क्रममा पौडेलको निधन भएको जनाकारी गराउनुभयो । बादलको भनाइ थियो ‘कथित जिल्ला इन्चार्ज पौडेलले प्रहरी देख्नेबित्तिकै फायर गरेको र प्रहरीले जवाफी फायर गर्दा ‘मिस फायर’ भई उनको निधन भएको हो ।’

यस्तै, यही असार १५ गते सर्लाहीको ईश्वरपुर नगरपालिका १३ मा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर ११ वर्षीय अनुप रायको निधनपछि स्थानीयवासीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारे । गृहमन्त्री बादलका अनुसार यातायात सञ्चालन गर्ने क्रममा प्रहरीसँगको झडपमा स्थानीयवासी सरोजनारायण सिंहको मृत्यु भएको थियो ।

मृतक राय र सिंहको परिवारलाई जनही २५ हजार काजकिरियाका लागि प्रदान गरेको तथा बालक रायको परिवारलाई छुट्टै पाँच लाख क्षतिपूर्ति प्रदान गरिसकिएको पनि बादलले जानकारी दिनुभएको थियो । बालक रायको मृत्यु र झडपबारे छानबिन गर्न सरकारले समिति गठन गरेको छ ।

गृहमन्त्रीले ‘छानबिन समितिको प्रतिवेदन आएपछि दोषीमाथि कारबाही हुने’ जानकारी दिनुभएको थियो । गृहमन्त्रीको जवाफमाथि चित्त नबुझेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदले प्रतिप्रश्न गरे ।
गृहमन्त्री थापाले सांसदको प्रश्नको जवाफमा सर्लाही घटनाका बारेमा सदनले आवश्यकता महसुस गरेका खण्डमा छानबिन समिति बनाउन सरकारलाई कुनै आपत्ति नभएको बताउनुभयो । ‘सर्लाहीको घटना दुःखद् हो, आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकार सचेत छ, जनतालाई दमन गर्ने नीति सरकारको छैन’ गृहमन्त्री बादलले भन्नुभएको छ ।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले मुठभेटमा मारिएका भनिएका पौडेलको हात कसरी भाँच्चियो, उचित जवाफ पाऊँ भनेर आग्रह गर्नुभएको थियो । बालक रायको मृत्युका विषयमा न्याय माग्न गएका स्थानीयवासीमाथि प्रहरीले किन गोली चलाउनुप¥यो भन्ने उहाँको अर्को प्रश्न थियो ।

सांसद खाँड र सोही दलका भरतकुमार शाह, उमा रेग्मी, देवेन्द्रराज कँडेल, डिला संग्रौला, मीनबहादुर विक, गगनकुमार थापा, मीना पाण्डे, दिलेन्द्रप्रसाद बडू र पार्वती डिसी चौधरीले पौडेलको मृत्यु र बालक रायको निधनका बारेमा छानबिन गर्न संसदीय समिति गठन गर्न माग गर्नुभयो ।

राजपाका राजकिशोर यादव र प्रमोद साहले पनि सर्लाही घटनाबारे सरकारले बनीबनाउ उत्तर दिएको भन्दै आपत्ति जनाउनुभयो । गृहमन्त्री थापाको जवाफमा चित्त नबुझेको भन्दै कांग्रेस र राजपाका सांसदले आ–आफ्ना आसनबाट उठेर छानबिन समिति गठनको माग गरेका थिए ।