विराटनगरमा विषादी परीक्षणा गर्न अनुमति दिए काम गर्न तयार


सरोज यादव, विराटनगर ।
प्रदेश नम्बर १ सरकारले विराटनगरको रानीमा फलफुल तथा तरकारीको विषादी प्रयोगशाला सञ्चालनमा ल्याएको छ ।

संघीय सरकारले तरकारी तथा फलफुल भित्र्याउँदा विषादी परिक्षण गर्ने भन्ने निर्णय तत्काल कार्यान्वयन नहुने भनिरहेको बेला प्रदेश सरकारले भने विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला सञ्चालनमा ल्याएको हो । प्रयोगशाला सञ्चालनका लागि काठमाण्डौबाट प्राविधिकसहितको टोली ल्याइएको प्रदेश १ सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

तरकारी तथा फलफुलमा रहेको विषादीको अवशेष परीक्षण गर्न स्थापना गरिएको सो प्रयोगशाला सोमबारदेखि सञ्चालनमा आएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर बिष्टले जानकारी दिनुभयो ।
उहाँले प्रयोगशाला स्थापना भएसँगै अब विराटनगरबाट नै तरकारी र फलफुलको विषादी मापन हुने बताउनुभयो । प्रयोगशाला करिब २५ लाख रुपैयाँको लागतमा सञ्चालनमा ल्याइएको हो । उपकरण अभाव देखाउँदै तत्कालका लागि भारतबाट आयात हुने तरकारी तथा तरकारीजन्य वस्तुको निकासी नरोक्ने संघीय सरकारको निर्णय आएको भएपनि प्रदेश सरकारले भने झापाको विर्तामोडमा रहेकै क्षमताको विषादी परीक्षण ल्याब संचालनमा ल्याएको हो ।

१ नम्बर प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रालयको बाली संरक्षण प्रयोगशालाले ‘विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला’ सञ्चालनमा ल्याएको छ । २५ लाखको लगानीमा निर्माण भएको ल्याबको परीक्षण र प्राविधिकलाई आवश्यक तालिम काठमाडौंबाट आएको प्राविधिक टोलीले ३ दिनसम्म गरेको थियो ।
उक्त तालिम सम्पन्न भएसँगै सोमबारदेखि ल्याब पूर्ण रुपमा संचालन गर्न सक्ने क्षमतामा रहेको सचिव विष्टले जानकारी दिनुभयो । उपसचिवसहित ६ जना प्राविधिकको दरबन्दी रहेको प्रयोगशालामा पर्याप्त जनशक्तिको व्यवस्था पनि रहेको उहाँको भनाइ छ ।

मन्त्रालयले आगामि आर्थिक वर्षभित्र धरानमा पनि सोही क्षमताको ल्याब निर्माण गर्न लागेको छ । हालका लागि उक्त ल्याबले अर्गेनो फस्फेट र कार्बामाइडको परीक्षण गर्दछ ।

विराटनगरको ल्याबलाई अझै ठूलो क्षमताको बनाउन मन्त्रालयले तयारी गरिरहेको विष्टले बताउनुभयो । विष्टले संघीय सरकारले भारतबाट आयात भएका तरकारीजन्य वस्तुको परीक्षण गर्न अनुमति दिएको खण्डमा काम गर्न सकिने बताउनुभयो ।

यद्यपि क्वारेन्टाइन र भन्सारसम्बन्धी कार्यक्षेत्र प्रदेश सरकारको भएका कारण तत्कालै भारतबाट आयातित तरकारीजन्य वस्तुको परीक्षणमा कुनै भूमिका नहुने विष्टले बताउनुभयो । उक्त ल्याब संचालनका लागि नमूना संकलन कसरी गर्ने भन्ने विषयमा मन्त्रालयले छिट्टै कार्यविधि तयार गरेर लागू गर्ने विष्टले बताउनुभयो ।

अहिलेको ल्याबले तरकारी खान योग्य छ, छैन भन्ने विषयमा मात्रै जानकारी दिने प्रयोगशालाका प्राविधिक सहायक घनश्याम बरालले बताउनुभयो । तरकारी तथा फलफूलमा ३५ प्रतिशतभन्दा कम इनिवेसन भएको अवस्थामा खानयोग्य हुने र त्यो भन्दा माथि ४५ प्रतिशतसम्म भए केही दिन राखेर पुनः परीक्षण पछि मात्रै भन्न सकिन्छ । ४५ प्रतिशतभन्दा बढी इनिबेसन भए उक्त तरकारीजन्य खाद्यवस्तु नष्ट गरिने उहाँको भनाइ छ ।