कफी उत्पादनमा काभ्रेपलाञ्चोक पहिलो जिल्ला

गुणस्तर वृद्धि गर्न सरोकारवालाहरुको चासो


मोतीराम तिमल्सिना, काभ्रे ।
ब्यवसायीक कफीखेती सर्बेक्षणले काभ्रेपलाञ्चोक जिल्लालाई उत्पादनका हिसावले नेपालको पहिलो जिल्ला घोषणा गरे सँगै जिल्लामा उत्पादन हुने कफीको गुणस्तर बृद्धी गर्ने सरोकारवालाहरुले प्रतिवद्धता ब्यक्त गरेका छन् ।

धुलिखेलमा आयोजित सर्वेक्षण २०७५ को नतिजा सार्वजनिकीकरण कार्यक्रममा जिल्लाको बस्तुगत तथ्याङ्क प्रस्तुत गरिएको थियो । काभ्रेपलाञ्चोक जिल्लामा ९ सय ४३ कृषकले ब्यवसायीक कफी खेती गरिरहेका छन् । सर्बेक्षणमा ५० बोट भन्दा धेरै खेती गर्न कृषकहरुलाई ब्यवसायीक खेती गर्ने कृषकका रुपमा सूचीकृत गरिएको छ । जिल्लामा रहेका कफी कृषकहरुको फर्ममा १ लाख ४ सय ३० बोटबाट कफी फलिरहेको छ भने ५ लाख १६ हजार ५१ बोट कफी फल्ने क्रममा छन् । १०४.३ हेक्टर जमिनमा उत्पादन भएको कफीका बोटबाट फ्रेस चेरी २ लाख २१ हजार ९ सय ७ केजी अथार्त २ सय २१ मेट्रिक टन उत्पादन भएको छ । उत्पादीत कफी मध्ये ८२ प्रतिशत अर्गानिक रहेको छ भने ४३ प्रतिशत कृषकहरुले अर्गानिक प्रमाणीत गरेका छन् ।

तथ्याङ्क विभागका निर्देशक डा. महेश सुवेदीले ७७ जिल्ला मध्ये मध्यपहाडी क्षेत्रका ३२ जिल्लामा कफी खेती हुँदै आएको छ । उत्पादन र गुणस्तरमा पहिलो रहेको काभ्रे जिल्ला पछि स्याङ्गजा दोश्रो र सिन्धुपाल्चोक तेश्रो रहेको छ । देशभर ६ हजार ३ सय ४६ कृषक छन् भने प्रदेश नम्वर ३ मा कफी धेरै उत्पादन हुन्छ । तथ्याङ्क सकंलनसँगै प्रत्येक कृषकहरुलाई कफीको गुणस्तर सुधार गर्न पाँच पाँचवटा सुझाव माग गरिएकोमा तथ्याङ्क विभागले १० वटा महत्वपूर्ण सुझाव सरकारलाई बुझाईएको निर्देशक बद्री कार्कीले बताउनु भयो । तथ्याङ्क विभागले चिया, फ्लोरीकल्चर, पोल्ट्री पछि कफीको सर्वेक्षण गरिएको तथ्याङ्क अधिकृत गणेश फुँयालले बताउनु भयो ।

जिल्लामा उत्पादन भएको कफीबाट मात्रै बार्षिक १ करोड ९९ लाख ७१ हजार रुपैया प्राप्त भएको छ । कफीसँगै अन्य बालीहरुबाट पनि आम्दानी भएकाले कफी खेती तर्फ कृषकहरु आर्कर्षित हुँदै गएका छन् । कफी सहकारी संघ लिमिटेड काभ्रेका लेखा संयोजक उद्धवप्रसाद आचार्यले कफी खेती गर्ने कृषकहरुलाई सरकारले ध्यान दिन नसकेको बताउनु भयो ।

सरकारले सहकारी मार्फत तीन वर्षे साझेदारी कार्यक्रम शुरु गरेको भए पनि एक् वर्ष संचालन गरेर बाँकी समय बेवास्ता गरेको उहाँले बताउनु भयो । कफी को अपरेटिभ युनियन लिमिटेड काभ्रेका ब्यवस्थापक ज्ञानबहादुर अस्तानी मगरले जिल्लामा उत्पादन हुने कफीलाई अझै गुणस्तर बनाउन कृषकहरुको क्षमता विकास तथा कफी प्रशोधन उद्योग संचालनका बारेमा छलफल भईरहेको बताउनु भयो । काभ्रेपलाञ्चोक जिल्ला मासु, अण्डा, दुध, तरकारी लायतमा आत्मनिर्भरसँगै नियार्त गर्दै आएको छ ।