विजयपुरको पुल झन जोखिममा, बाढीले बगायो डाइभर्सन


विजय नेपाली, पोखरा ।
पृथ्वीराजमार्ग हुँदै लेखनाथ र पोखरा जोड्ने मुख्य क्षेत्र विजयपुरको पुल जोखिममा परे सङ्गै बनाइएको डाइभर्सन समेत बाढिले बगाएको छ । पुल जोखिममा परेसङ्गै मालवाहक ठूला गाडीका लागि छुट्टै डाईभर्सन गरिएको थियो । त्यही डाईभर्सन पनि आईतबार रातीको बाढीले बगाउदा थप समस्या परेको छ । त्यस्तै बाढी जोखिममा रहेको विजयपुरको मुख्य पुलमा राखिएको फलामको टेको समेत बगाएको छ । खोलामा राखिएको ह्युम पाइप मध्ये १० ओटा ह्युम पाइप बाढिले बगाएको छ ।

उक्त डाइभर्सन बगाउदा १० टन भन्दा माथिका मालवाहक सवारी पोखरा भित्रिन पाएका छैनन । डाइभर्सन बगाउदा १० टन भन्दा माथिका सवारी लेखनाथमै रोकिएका छन । गत माघमा पुलको नियमित मर्मत सम्भारका क्रममा पुलको सपोर्टमा रहेका फलाम ठाउँ ठाउँमा चर्केको पाइएको थियो । त्यसपछि मालबाहक गाडी सञ्चालनमा रोक लगाइ डाइभर्सन बनाइएको थियो ।

विजयपुरमा बनाइएको स्टिल पुल सञ्चालनमा आएको एक दशक हुन नपाउदै जीर्ण भएपछी विकल्पमा बेलिब्रिज निर्माण कार्य शुरु समेत गरिएको थियो । बेलि ब्रीज निर्माण समपन्न नभए सम्म ठुला मालवाहक सवारीलाइ डाइभर्सनबाटै पार गराइएको थियो । जिर्ण पुलको विभिन्न ठाउँमा भाँच्चिएको र चर्किएको छ । दैनिक ६ हजारभन्दा बढी सवारी साधन आवतजावत गर्ने पुल उच्च जोखिममा परेपछि मालवाहक सवारी साधनलाइ आवतजावतमा रोक लगाइएको थियो ।

वि.स. २०५९ सालमा निर्माण शुरु गरिएको पुल २०६५ साल देखि सञ्चालनमा आएको थियो । पुल ११ वर्ष नबित्दै जोखिममा परेको हो । पुलको बीच भागका विभिन्न ठाउँमा बटम कड र क्रस च्यानल समेत भाँचिनुका साथै चर्किएको छ । सवारी चाप कम भएको समयमा १० टन सम्मका सवारीलाई एक तर्फी रुपमा आवतजावत गराउन मिल्ने भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग पोखराका सुचना अधिकारी इन्जिनियर पवित्रमणि आचार्यले बताउनुभयो ।

“विजयपुरको समस्या सबैमा जानकारी भएकै विषय हो, विकल्पमा बनाइएको डाइभर्सन समेत बगाउदा समस्या छ, तर बिज्ञका अनुसार एक पटकमा दस टनको एक्स एल सवारी समेत वाइपास गराउन सक्छौ“ आचार्यले बताउनुभयो । पुल जिर्ण भए सङ्गै तत्काललाइ बेलि ब्रीज निर्माणको काम अघि बढे पनि साउन अघि काम नसकिने बताउनुभयो । उहाँ भन्नुहुन्छ ( हामिले यो असार भित्रै काम समपन्न गराउन निर्माण कम्पनिलाइ ताकेता गरेका छौ , तर पनि काम समपन्न हुन केही समय लाग्ने देखिएको छ, ब्रीजको लागि ल्याइएको च्यानलहरु जोड्न दस दिन लाग्छ “ । अबको करिव एक हफ्ता दुख पाउने उहाले सुनाउनुभयो । विकल्पको रुपममा निर्माण गर्न लागिएको ब्रीजले एक सय टन सम्मको भार वाहन गर्न सक्ने छ ।

चितवनको विटि.एलइड . विपि. एडभेन्चर. जेभी कम्पनीले दुई वर्षमा सक्नु पर्ने पुल तीन वर्षमा समपन्न गरेको थियो । तत्कालीन समयमा सडक बिभागले ६ करोड ४७ लाख १६ हजारको ( भ्याट नजोडी )योजना बनाउदा उक्त कम्पनीले ३ करोड ३७ लाख रुपैयाँ ( भ्याट कटाएर) मा निर्माण सम्झौता गरेको जानकारी सुचना अधिकारी आचार्यले जानकारी दिनुभयो । उक्त तथ्यांकलाई अधार मन्ने हो भने पनि पुल निर्माण कम्पनीले सस्तोमा गर्दा गुणस्तरीय सामानको प्रयोग नगरेको हो कि भन्ने प्रश्न समेत उठछ ।

यस विषयमा बोल्दै आचार्यले ठुला ठुला च्यानलको परिक्षण गर्ने प्रविधी नेपालमा नभएको बताउनुभयो । “ यो देशभरकै समस्या हो, हामी सङ्ग प्रविधी छैन, वइल्डिङ गरेर च्यानल ल्याएको हुन सक्छ तर त्यो हेर्ने प्रविधी नै छैन“ । नेपालमा पुल निर्माणको लागि आउने सामग्रीको ग्ल्यामोनाइज बाहेक अन्य मिसावटको परिक्षण हुन सकेको छैन । हुलास कम्पनीको स्टिल च्यानलको परिक्षण भने भएको थिएन ।

दीर्घकालीन गुरुयोजना अन्तर्गतको पुल एक दसक नबित्दै जिर्ण बन्नु कस्को कमजोरी हो ? किन कम्पनीलाई कार्वाही हुदैन ? डाइभर्सन बगाउदा पुल झन जोखिममा पर्ने देखिएको छ । पोखराको मुख्य मार्गको रुपमा रहेको उक्त पुल जिर्ण हुदा कास्की सहित पर्वत,स्याङ्जा, बाग्लुङ, म्याग्दी लगायतको जिल्लालाई समेत प्रत्येक्ष प्रभाव पर्ने देखिएको छ ।