‘विषादी जाँच्दा आफै नाकाबन्दी लगाएजस्तो’

0
Shares

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले नाकामा तरकारीको विषादी परीक्षण गर्दा आफैं नाकाबन्दी लगाएजस्तो भएको बताएका छन्।

राष्ट्रियसभामा सोमबार कांग्रेस सांसदले उठाएको प्रश्नमा जवाफ दिँदै मन्त्री यादवले कसैको दबाबले तरकारीमा हुने विषादी परीक्षण नरोकिएको बताए।

उनले भने, ‘आफैं नाकाबन्दी गर्नेजस्तो देखियो। आफैंले नाकाबन्दी गर्दा भाउ बढ्छ । ’
उनले कसैसँग नझुक्ने र कसैसँग नलड्ने बानी भएको बताउँदै उनले भने,‘विदेशीकासामु झुक्यो रे। कसको झुक्ने बानी छ।

हाम्रो कसैसँग नझुक्ने, कसैसँग नलड्ने बानी छ । दबाबमा परेर रोकेको होइन। झुकेको पनि होइन।’

गुणस्तरीय प्रयोगशाला निर्माणका लागि केही समय तरकारी परीक्षण नगरिएको उनले दाबी गरे। ‘हामीसँग विषादी परीक्षण गर्ने क्षमता नै रहेनछ।

माननीयज्यूहरूले कृषि मन्त्रालयमा गएर बुझ्नुपर्‍यो,’ उनले भने, ‘प्रतिपक्षले पनि कस्तो प्रश्न गर्छ ? हामीसँग क्षमता नै रहेनछ विषादी कसरी परीक्षण गर्ने ?’

उनले नेविसंघको प्रदर्शनलाई लक्षित गर्दै लामो समय सत्तामा बसेर केही गर्न नसकेकाको अर्कै फूर्ति रहेको बताए।