२५ सय मिटर उचाईको रुपाकोटमा ३० फिटको भ्यूटावर


रामधन राई, खोटाङ ।
खोटाङको रमणीय पर्यटकीय स्थल रुपाकोटमा भ्युटावर निर्माण गरिएको छ । समुन्द्री सतहदेखि करिव २ हजार ५ सय मिटर उचाईमा रहेको फाँटिलो तथा रमाईलो रुपाकोटमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ३० फिट अग्लो भ्युटावर निर्माण गरेको हो ।

पर्यटन प्रवद्र्धनका लागि भन्दै नगरपालिकाको खार्मी, सोल्मा र जालपाको बीचमा पर्ने रुपाकोटडाँडामा २७ लाख रुपैंयाँ खर्च गरी ‘हिमालयन सनराईज रुपाकोट भ्यूटावर’ निर्माण गरिएको निर्माण उपभोक्ता समितिका उपाध्यक्ष सप्तमनी राईले बताउनुभयो । टावर निर्माणका क्रममा चाहिने विशेष किसिमको फलाम खरिद, ढुवानीका कारण भ्यू–टावरको काम चर्खिलो भएको निर्माण उपभोक्ता समितिले जनाएको छ ।

दिक्तेल बजारबाट करिब तीन घण्टा पैदल उकालो हिँडेपछि पुगिने रुपाकोटमा भ्यूटावरपछि क्रमशः बगैँचा, वनभोजस्थल, कृत्रिम पोखरी लगायतका भौतिक संरचना निर्माण गर्ने लक्ष्य राखिएको छ । कतिपय स्थानीयले भने ऐतिहासिक गढीको संरक्षणलाई ध्यान नदिइ कृत्रिम संरचना निर्माण गरिएको बताएका छन् । रुपाकोट आफैमा ऐतिहासिक तथा प्राकृतिक टावर भएकोले कृतिम टावरले महत्व नराख्ने स्थानीय बताउँछन् ।

मौसम खुलेको अवस्थामा सगरमाथा लगायतका हिम श्रृंखला देखि तराईका फाँट समेत देख्न सकिने रुपाकोटमा नयाँ वर्ष, साकेला चाड लगायतको अवसरमा आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ । नेपाल सरकारले छानेको एक सय वटा पर्यटकीयस्थलमध्ये ‘मुन्धुम ट्रेल’ पदमार्गले समेत छुने भएकाले रुपाकोटको पर्यटकीय महत्व थप बढेको छ । हरियाली जंगलले घेरिएको ऐतिहासिक गढी, सिद्ध पोखरी, सिद्ध बाबाको मन्दिर, ठूलो आहाल, सानो आहाल, फराकिलो चौंर भएको रुपाकोटमा बिशेषगरी हिउँद याममा पिकनिकको भीड लाग्ने गरेको छ ।
उक्त ऐतिहासिक स्थलमा किरातीहरुको महान चाडमध्येको उधौली साकेलाको अवसर पारेर किरात राईहरुले भूमिको पुजा गर्दै साकेला सिली नाच्दै आएका छन् । नगरपालिकाको ११ नम्बर वडामा पर्ने खार्मीका राई समुदायको अग्रसरतामा उक्त स्थानमा पुजा गर्नका साथै साकेला सिली नाच्ने गरिएको हो ।