छुरा प्रहार गरी दुई जनालाई घाइते बनाउने चारजना पक्राउ


काठमाडौं । छुरा प्रहार गरी २ जनालाई गम्भीर घाइते बनाई फरार रहेको अभियोगमा ४ जनालाई काठमाडौंका विभिन्न स्थानबाट शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं कपन बस्ने उदयपुर गाईघाटका २४ वर्षीय असिम लामा, कपन बस्ने उदयपुर गाईघाटका २४ वर्षीय सरोज श्रेष्ठ, काठमाडौं धुम्बाराही बस्ने भारत दार्जलिङका २१ वर्षीय सरोज राई र काठमाडौं नार्गाजुन बस्ने कास्की रामनगरका २१ वर्षीय निश्चल आले मगर रहेका छन् ।

गत असार १६ गते वेलुकी काठमाडौं महानगरपालिका ७ चावहिलमा भक्तपुर जगाती बस्ने ओखलढुंगाका २८ वर्षीय ज्याक भन्ने विजय बानियाँ र काठमाडौं महानगरपालिका ९ रातोपुल वस्ने २१ वर्षीय सुदिप घिमिरे छुरा प्रहारबाट घाइते भएको अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले घाइते दुवैजनालाई उपचारको लागि शिक्षण अस्पताल महाराजगंज पठाएको थियो ।

घटनामा संलग्न अभियुक्तको खोजी गर्ने क्रममा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त गौशालाबाट संयुक्त रुपमा खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई घटनामा प्रयोग गरेको छुरासहित पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।