रुकुमपूर्वको एकै ठाउँमा भेटिए तीन अनौठा गुफा

स्थानीयले गरे खाम भाषामा नामाकरण

0
Shares

नरेन्द्र केसी, दाङ । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका १२ कोलमा एकैठाउँ तीन ठूला गुफा भेटिएका छन् । पोखराको महेन्द्र गुफा बिर्साउने गरी तीन ठूला गुफा भेटिएका छन् ।

हरेक गुफाका छुट्टाछुट्टै बिशेष रहेका छन् । स्थानीयले तीनवटै गुफालाई मगर खाम भाषामा नामाकरण गरेका छन् । एउटा सबैभन्दा ठूलो एकैपटक ५० जना जति मान्छे अटाउने गुफा भेटिएको छ, जसमा मान्छेका जस्ता आकृति छन् । त्यसैले यो गुफालाई ‘मि कुङ’ नाकाकरण गरिएको छ । मगर खाम भाषामा ‘मि’ भनेको मान्छे र ‘कुङ’ भनेको ओडार, प्वाल वा गुफा भन्ने बुझिन्छ ।

जमीन सतहबाट २५ मिटर भित्र पसेपछि यो गुफाको सतह भेटिने र यसमा मान्छेका विभिन्न आकृति देख्न सकिने पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १२ अध्यक्ष गंगा पुनले जानकारी दिनुभयो । आफू पोखराको महेन्द्र गुफा र रुकुमकोटकोट देउराली गुफामा गएको जानकारी दिंदै अध्यक्ष पुनले ती सबै गुफाभन्दा कोलमा भेटिएका गुफा आकार प्रकारले पनि ठूला र सबै बिशेषतायुक्त रहेको बताउनुभयो ।

त्यस्तै नजिकै रहको अर्को गुफाभित्र सुनङका जस्ता आकृति भेटिएका छन् । जसलाई स्थानीयले ‘सुनरी कुङ’ अर्थात सुनपानी गुफा नाम दिएका छन् । त्यस्तै अर्को गुफाभित्र चाँदीका जस्ता आकृति देख्न सकिन्छ । जसलाई स्थानीयले ‘चाँदी कुङ’ नाम दिएको अध्यक्ष पुनले जानकारी दिनुभयो । मान्छेको आकृति भएको ठूलो गुफा एक साइडमा छ भने सुन र चाँदीका आकृति देखिने गुफा अर्को साइडमा छन् । यी गुफा पुग्न १५ मिनेटको पैदल यात्रा गरे पुग्छ ।

गुफाभित्र हात्तीको सुँडजस्ता आकृति छन् भने कतै गाइका थुनजस्ता आकृति भेटिएका छन् । यी गुफाको नयाँ बिशेषता त के छ भने गुफाभित्र कुनै वस्तु राखियो भने केही बर्षभित्रै ती वस्तुलाई चट्टानले छोपिदिन्छ । ‘केही बर्षअघि काठको लट्ठी छाडिएको रहेछ, अहिले त्यही लटठ्ी नै चट्टान प्लास्टेड भएको छ’– अध्यक्ष पुनले भन्नुभयो– ‘गुफाभित्र चाहेको जस्तो चट्टान नै बनाउन सकिने पनि संभावना देखिएको छ ।’

यस क्षेत्रबाट नेतृत्व गर्ने रुकुमपूर्व प्रदेशसभा सदस्य तेजबहादुर ओलीले पनि आजसम्म आफूले देखेका गुफामा यी गुफा फरक बिशेषतासहित भेटिएको बताउनुभयो । आवश्यक प्रचार प्रचार र पूर्वाधार विकास गर्न सकिने पर्यटन प्रबर्धनको राम्रो संभावना रहेको उहाँले बताउनुभयो ।

प्रदेश सरकारबाट बजेट व्यवस्था गरेर यसलाई रुकुमपूर्वको पर्यटकीय गन्तव्य बनाउने गरी आफूले स्थानीयवासी र स्थानीय सरकारसँग छलफल गरेको भन्दै उहाँले त्यसका लागि लाग्ने बताउनुभयो । गाउँदेखि गुफासम्म पुग्ने सिढी र गुफा प्रवेशस्थलमा सिढीको व्यवस्था गर्न प्रदेश सरकारबाट पहल गरिने उहाँले जानकारी दिनुभयो ।