नगरपालिकाद्वारा छाडा चौपायाको संरक्षण

0
Shares

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाले दुई सय पचास वटा छाडा चौपायाको संरक्षण गरेको छ ।

खैरेनीटारदेखि कोत्रेसम्मको पृथ्वी राजमार्ग सडकमा जथाभावी छोडिएका छाडा चौपायालाई गौ संरक्षण केन्द्रमा राखिएको छ । राजमार्गमा छाडा चौपाय छोड्दा सवारी साधनले स्थानीयलाई दुःख दिन थालेपछि नगरपालिकाले वडा नं ९ मरेतरामा गौ संरक्षण केन्द्र स्थापना गरी संरक्षण गर्दै आएको नगरप्रमुख किसान गुरुङले बताउनुभयो ।

नगरपालिकाले गौ संरक्षण स्थापनाको लागि चालू आर्थिक वर्षमा १७ लाख पूर्वाधार निर्माण र डेढ लाख रुपैयाँ पराल खरीदका लागि विनियोजन गरी प्रक्रिया अघि बढाएको छ । घाँसपात काट्ने, गाईवस्तु चराउने तथा स्याहारसुसार गर्ने कामका लागि दुई जना हेरालुको व्यवस्था गरिएको छ ।

पृथ्वी राजमार्गमा गुड्ने सवारी साधनसमेत पशु चौपायको कारण दुर्घटना निम्त्याउने खतरा बढेसँगै त्यसको न्यूनीकरणको लागि गौ संरक्षण केन्द्र निर्माण गरिएको नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत देवबहादुर अधिकारीले बताउनुभयो ।

छाडा चौपायाले बजार क्षेत्रमा दैनिकजसो दुःख दिएर सास्ती भोगेका सवारी चालक र स्थानीय व्यवसायीले नगरपालिकाले छाडा चौपायाको व्यवस्था गरेपछि खुशी भएको गौ संरक्षण समितिकी संयोजक गीता महतले बताउनुभयो ।

नगरपालिका क्षेत्रमा संरक्षण केन्द्र नहुँदा पशु चौपायाले स्थानीयलाई हैरान पार्ने, पसलमा राखेको तरकारीजन्य बस्तु खाइदिने, बसेर सडक अवरुद्ध गर्ने लगायतका समस्या न्यूनीकरण भएको छ । छाडा चौपायाको व्यवस्थापन भएसँगै हिन्दू महासङ्घ, नागरिक समाज लगायतका अन्य विभिन्न सङ्घ सस्थाले चोकर, नुनलगायत समय समयमा उपलब्ध गराइरहेको नगरपालिकाले जनाएको छ । रासस