किसानको रोजाईमा नपर्दा लोप हुँदै ‘घैया धान’

0
Shares

बुद्ध नेपाली, सिन्धुली। समयमा पानी नपर्दा पाखो खेतबारीमा लगाइने छरुवा धान ‘घैया’ पछिल्लो सयम सिन्धुलीमा लोप हुने अवस्थामा पुगेको छ । सिँचाइ सुविधा नपुगेको खेतमा लगाईने घैया धान प्रति स्थानिय किसानको आकर्षण कम हुनु, समयमा पानी नपर्नु र मौसम अनुकूल नहुँदा लोप हुने अवस्थामा पुगेको हो ।

छरुवा धान ‘घैया’ जिल्लामा झण्डै तीन सय हेक्टर पाखोबारी तथा खेतमा गरिँदै आएको छ । छरुवा ‘घैया’ धानखेतीमा मिहिनेत धेरै र उत्पादन कमी हुने भएपछि हिजोआज जिल्लाबाटै लोप हुने अवस्थामा पुगेको कृषि ज्ञान केन्द्र सिन्धुलीका प्रमुख राजन ढकालको बताए । ‘ छरुवा धान ‘घैया’ जिल्लामा कमै मात्रामा रोपिन्छ । पछिल्लो समय विभिन्न कारणले जिल्लाबाटै छरुवा धान ‘घैया’ लोप हुँदै गएको छ’ उनले बताए ।

घैया धानप्रति कृषकको आकर्षण घट्दै जाँदा सिन्धुली लगायत देशैभर लोप हुने अवस्थामा पुगेको उनले बताए ।

जलवायू परिवर्तनले समयमा पानी नपर्नु र मलखादको मात्रा नमिल्ने भएकाले उत्पादनमा कमी हुँदै लोप हुने थालेको ढकालको भनाइ छ। ‘लामो सयम देखी परेको खडेरीले आकाशेपानीको भरमा गरिने धान खेती हिजोआज गर्नै छाडिएको छ। यसले गर्दा धानको जात नै लोप हुने अवस्थामा पुगेको छ’ उनी दाबी गर्छन् ।

ढकालका अनुसार सिञ्चित जमिनको तुलनामा यस्तो धानको उत्पादन ३० देखि ४० प्रतिशतसम्म कमी हुदै आएको छ । जिल्लामा १६ हजार ४ सय ८२ हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ।