रेडियो हिमालयनको उद्घाटन, आजबाट १८ घण्टा संचालनमा

0
Shares

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोलको जगातेमा आजबाट ५०० वार्टको क्षमता रहेको रेडियो हिमालयन ९९.७ मेगाहर्जको संचालनमा आएको छ ।

आज आयोजित रेडियो हिमालयनको उद्घाटन कार्यक्रममा प्रदेश नं. ३ का प्रदेश सदस्य डा. राजेन्द्रमान श्रेष्ठले रिबन काटी, रेडियो हिमालयन ९९.७ मेगाहर्जको स्टुडियोमा रहेको लोगो अनावरण एवं अनलाईन संस्करण रेडियो हिमालयन डट कमको स्वीच थिचेर उद्घाटन गर्नुभयो ।

आजबाट पूर्णकालिन रुपमा संचालनमा आएको उक्त रेडियो हिमालयनले आफ्नो प्रशारण दैनिक रुपमा विहान ५ बजेदेखि राती ११ बजेसम्म १८ घण्टा नियमित रुपमा प्रशारण गर्ने जनाएको छ ।

कार्यक्रममा प्रदेश सदस्य डा. श्रेष्ठले समाजलाई सही सूचना र खबर प्रदान गर्नुपर्ने औल्याउदै देश कै नमूना र रेडियो बन्नु पर्ने बताउनुभयो ।

उहाँले गलत समाचारको बाढी आईरहेको बेलामा एकैपटक रेडियो र अनलाईनबाट समाचारसंगै विश्वभरबाट बिभिन्न कार्यक्रम सुन्न सकिने गरि संचालनमा ल्याएको यो रेडियोले विश्वभर देशको सकारात्मक सन्देशलाई प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रदेश नं. ३ का अर्का सदस्य प्रतिमा श्रेष्ठले समकाचारले नै आमानागरिकलाई सूसुचित गर्ने भएकाले समाचारमा सत्यता हुनुपर्ने औल्याउनु भयो । हल्लाको भरमा समाचार आउने प्रबृत्ति बढेको गुनासो गर्दै उहाँले

सकारात्मक सन्देश र सूचनाले नै आमनागरिकलाई सही बाटोमा लैजाने भएकाले त्यसतर्फ ध्यान दिनुपर्छ भन्नुभयो ।

कार्यक्रममा प्रदेश नं. ३ कै अर्का सदस्य सरस्वती बाटीले एफ.एम. रेडियोले कृषिका विषयलाई उपेक्षा गरेको औल्याउदै कृषि प्रधान देशमा कृषिका विषयलाई एफएम मार्फत आम कृषकसम्म पुर्याउनु पर्नेमा जोड दिनुभयो ।

त्यसअवसरमा गरिबी निवारण कोषका उपाध्यक्ष निर्मल कुमार भट्टराईले वर्तमान समयमा रेडियो संचालन गर्नु आफैमा चुनौती रहेको बताउदै यो चुनौतीको सामना गर्दै रेडियोले आम श्रोताको मन जित्ने गरि अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले व्यावसायिकतासंगै सामाजिक दायित्व निर्वाह गर्दै एफ.एम.अगाडि बढ्नु पर्ने बताउनुभयो ।

त्यसअवसरमा चाँगुनारायण नगरपालिकाका प्रमुख एवं रेडियो हिमालयनका सल्लाहकार संचालक सोम प्रसाद मिश्रले नगरपालिकाले नै एफएम संचालन गर्नुपर्ने सोच रहदा रहदै नगरपालिकाले संचालन गर्दा खर्चको भार थेग्न नसक्ने अबस्था आएको अबस्थामा संचालनमा आएको यो एफ.एम.ले सबै क्षेत्रलाई समेटेर सन्देश प्रवाह गर्ने औल्याउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले सरकारले ल्याएको मिडिया विधेयक तत्काल फिर्ता लिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपाका भक्तपुर अध्यक्ष बचन देउजाले भक्तपुरमा एफएमहरु बढिरहेको अबस्थामा फरक ढंगले संचालनमा आउनु पर्नेमा जोड दिनुभयो ।
नेपाली काँग्रेस भक्तपुरका सचिव निशान ढुङ्गेलले सरकारले मिडियाको मुख थुनेर आमनागरिकलाई सूचना पाउने अधिकारको हनन गर्न मिडियो बिधेयक ल्याएको भन्दै प्रेस स्वतन्त्रता कुण्ठित गर्न नहुने बताउनुभयो ।

कार्यक्रमका सभापति एवं संचालन समितिका अध्यक्ष रबि खड्काले २१ औ शताब्दीको वर्तमान समयमा छिटोभन्दा छिटो समाचार एवं खबरहरु आम श्रोता समक्ष पुर्याउने मुख्य उदेश्यले रेडियो हिमालयन संचालनमा आएको अध्यक्ष रबि खड्काले बताउनुभयो ।

छिटो भन्दा छिटो सूचना र समाचार सम्प्रेषण सहित बिभिन्न कार्यक्रमहरु उत्पादन र सम्प्रेषण गर्दै रेडियो हिमालयनको अनलाईन संस्करण मार्फत एकैसाथ विश्वभर सुन्न सकिने यो रेडियोले स्वदेश तथा विदेशमा रहेका श्रोताहरुको मन जित्न सफल हुने एफ.एम.का कार्यकारी निर्देशक सोम शर्मा (बजगाई) ले जानकारी दिनुभयो ।

देशको खबर मात्रै नभई जिल्लाका महत्वपूर्ण खबरहरु, स्थानीय खबरहरुका साथै एउटा छुट्टै पहिचानका साथ ‘हरेक पल, फरक अनुभूति’ भन्ने स्लोगनका साथ संचालनमा आएको यस रेडियोले आम श्रोताको मन जित्ने गरि बिभिन्न पक्षलाई समेटेर कार्यक्रम उत्पादन तथा प्रशारण गर्ने भएको छ । एम.एस. ईन्टरप्राईजेज कम्पनीबाट संचालित रेडियो हिमालयनमा बिबिसि नेपाली सेवा सहित आफैले उत्पादन गरेको ६ वटा समाचार बुलेटिन प्रस्तुत गर्ने भएको छ ।