अलकत्र नहुदाँ सडक पिच हुन सकेन

0
Shares

बुद्ध नेपाली, सिन्धुली । असार मसान्त सम्ममा निर्माण कार्य सम्पन्न हुनुपर्ने सिन्धुलीका दजनै सडक अलपत्र परेका छन् । अलकत्र अभावका कारण जिल्लाका दर्जनवढी सडकहरुको निर्माण कार्य अलपत्र परेका हुन् । अलकत्र (विटुमिन) अभावका कारण तोकिएको समयमा सडक पिचि गर्न कठिन भएको जिल्लाका निर्माण व्यावसायीहरुले बताएका छन् ।

सिन्धुली जिल्लामा हाल एक दर्जनबढी सडक कालोपत्रे गर्ने अन्तिम तयारी रहेको अवस्थामा विटुमिन अभावका कारण सडक कालोपत्रे गर्न कठिन भएको निर्माण व्यावसायी संघ सिन्धुलीले जनाएको छ । अलकत्रको अभावमा कालोपत्रे गर्न अन्तिम तयारीमा पुगेका जिल्लाका एक दर्जनबढी सडकहरु अलपत्र परेका छन् ।

सिन्धुली जिल्लामा हाल राष्ट्रिय गौरवको राजमार्ग मदन भण्डारी राजमार्ग सहित दर्जनबढी सडकहरु निर्माणाधिन अवस्थामा रहेका छन ।
जसका कारण मदन भण्डारी राजमार्ग, कमलामाई नगरपालिकाका ३ आयोजना, शहरी विकास तथा भवन डिभिजनका ४ वटा योजना, र संसदीय विकास कोष तर्फका ३ वटा सडकहरु पिच हुन सकेका छैनन ।

करीव डेढ महिनादेखि विटुमिन अभाव भएपछि सडक निर्माणको काम अवरुद्ध बनेको छ । यी सबै योजनाहरु गरि करिब एकसय किलोमिटर सडक सिन्धुलीमा कालोपत्रे हुनपर्नेमा काम हुन सकेको छैन ।

यसरी काम अवरुद्ध हुने सडकमा राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्ग, संसदिय विकास कोष तर्फका डकाहा – चकमके सडक, साङ्वाले – वेलटार सडक, खनियाँखर्क–कमारे भञ्ज्याङ सडक, शहरी विकास तथा भवन डिभिजन तर्फका कमलामाइृ नगरपालिका– ५ को पुल्चोक–मधुटार–रानीखोला सडक, पुल्चोक–चिसापानी झोरा सडक, बसपार्क–सिलामे सडक, कमलामाई नगरपालिका–६ को गौमति माविदेखि–गणेश मन्दीरसम्मको सडक,पिपलभञ्ज्याङ–बस्तीपुर सडकखण्ड रहेका छन ।

यस्तै स्थानीय तह अन्तर्गत लक्ष्मणचोक–पानीट्यांकी सडक, ढुंग्रेवास–मल्लगाउँ सडक लगाएतका सडक कालोपत्रे हुन सकेका छैनन । यी सडकहरुमा निर्माण कम्पनीहरुले सव वेश र वेशको काम सकिसकेका छन । बहु वर्षे तथा चालु आर्थिक वर्षमा निर्माण सक्नुपर्ने अधिकांश योजनाहरुको काम नसकिदा समस्या भएको निर्माण व्यवसायीहरुले गुनासो गर्न थालेका छन ।

डेढ महिना अघिदेखि विटुमिन ल्याउन नसक्दा समस्या भएको र समयमा काम गर्न नसक्ने भन्दै निर्माण व्यवसायी सिन्धुलीले योजनाको म्याद थप गर्न माग गरेको छ । संघले विटुमिन भारत र तेस्रो मुलुकबाट आउने र २ महिनादेखि नेपाल भित्रन नसक्दा अभाव भएकाले निर्माण व्यवसायीको काबु भन्दा बाहिरको परिस्थितिलाई ध्यान दिन नेपाल सरकार र सार्वजनिक निकायसँग अनुरोध गरेका छन ।

नेपालका डिलरहरुले विटुमिन दिन नसक्ने बताएका छन । तेस्रो मुलुकबाट आउनु पर्ने र त्यो पक्रिया रोकिएको भन्दै हाललाई विटुमिन दिन नसकिने डिलरहरुले बताएको भन्दै यस्तो अवस्थामा सडक निर्माण गर्न नसकिने व्यवसायीहरुले विज्ञप्ती मार्फत बताएका छन ।
कतिपय सडकको निर्माण कार्य असार मसान्त सम्ममा सक्नु पर्ने र कतिपय बहुवर्षिय भएपनि असार सम्म सक्नु पर्ने सडकहरुको काम नसकिने भन्दै व्यावसायीहरुले म्याद थपगर्न माग गरेका छन । उनीहरुले विटुमिनको सहज आपुर्ती हुने वित्तिकै सडक निर्माणले गतिलिने बताएका छन ।