मौरीपालन व्यवसायतर्फ किसान आकर्षित

0
Shares

स्याङ्जा । रोजगारीको अवसर नपाएर परिवार पाल्नका लागि दिनहुँ युवा विदेशिनेक्रम बढिरहेका बेला घरमै बसेर सहजरुपमा कम मिहिनेत गरेर अर्थोपार्जन गर्न सकिने मौरीपालन व्यवसायतर्फ किसानको अकर्षण बढ्न थालेको छ । वालिङ नगरपालिका– २ भकुण्डेस्थित फूलबारीकी मञ्जु केसी आफ्नो मौरीपालन व्यवसायलाई विस्तार गर्ने योजनामा हुनुहुन्छ ।

घरको छत तथा बार्दलीमा आधुनिक मौरीका घार राखेर मौरीपालन गर्दै आउनुभएकी केसीले कम मिहिनेतमा राम्रो आम्दानी हुने भएकाले यो व्यवसायलाई विस्तार गर्न लाग्नुभएको हो । हाल १५ घार मौरी पाल्दै आउनुभएकी उहाँले वार्षिक करीब रु दुई लाख कमाउँदै आएको बताउनुभयो । वालिङ नगरपालिका– १० नं वडा कार्यालयले मौरीपालन गर्ने किसानका लागि तालीम दिएपछि आफूमा थप हौसला मिलेको केसीले बताउनुभयो ।

वडाध्यक्ष अनन्तराज गैरेले किसानका लागि आवश्क तालीमका साथै कृषि औजार उपलब्ध गराउँदै आएको बताउनुभयो । पूर्वशिक्षक वालिङ– ११ डौवाका श्याम अर्याल पनि मौरीपालन व्यवसायमा रमाउँदै आउनुभएको छ । आफ्नै घरमा मौरीपालन गर्नुभएका उहाँले यो व्यवसायबाट वर्षमा रू आठ÷दश लाखसम्म कमाउन गारो नहुने बताउनुभयो ।

बिहान उठेदेखि साँझसम्म मौरीसँगै रमाउने अर्यालको घरको बार्दली, आँगनदेखि घर अगाडि रहेको बारीमा टन्नै रहेका मौरीका घार र मौरीको घाइघुइ आवजले त्यहा पुग्ने जो कोहीको मनलाई आनन्दित तुल्याउँछ ।

विसं २०६१ मा एक घार मौरी पाल्न शुरु गर्नुभएका अर्यालका अहिले ८० घार मौरी छन् । मौरी पाल्न चाहनेलाई मौरीका घारसमेत बेच्ने भएकाले मौरीका घारको सङ्ख्यामा घटबढ भइरहने उहाँले बताउनुभयो । नेपाल मौरीपालक महासङ्घका केन्द्रीय उपाध्यक्षसमेत रहनुभएका अर्यालले मौरी पाल्न गर्न चाहानेका लागि सल्लाह सुझावसमेत दिँदै आउनुभएको छ । जिल्लामा करीव १५० किसानले मौरीपालन गर्दै आएका छन् । रासस