नगरपालिकाद्वारा प्राङ्गारिक खाना खुवाउन होटललाई अनुदान

0
Shares

रुकुम पश्चिम । आठबीसकोट नगरपालिकाले प्राङ्गारिक खाना खुवाउनका लागि एक होटललाई अनुदान उपलब्ध गराएको छ । वडा नं ९ स्थित चित्रीपाटन अग्र्यानिक होटलले सर्वसाधारणलाई प्राङ्गारिक खाना खुवाऊन् भन्ने उद्देश्यले रू तीन लाख ७५ हजार अनुदान दिइएको हो ।

खानेकुरामा विषादीको प्रयोग बढ्दै गएको तथा स्थानीय खानेकुराको प्रयोग घट्दै गइरहेको अवस्थामा नगरपालिकाले प्राङ्गारिक खाना खुवाउने होटल व्यवसायीलाई सहयोग गर्ने कार्यक्रमअन्तर्गत सो अनुदान दिएको नगरप्रमुख गोर्खबहादुर केसीले बताउनुभयो ।

“मासुमा ब्रोइलर कुखुरा, आलु, टमाटर, सागलगायत तरकारी पनि तराईबाटै आउने र प्रयोग भइरहेको चामल पनि स्थानीय जातकोे हुन छाडेको छ”, उहाँले भन्नुभयो, “अझ भनौँ हामीलाई हाम्रो स्थानीय ढिँडो, सिस्नो, गुन्दु्रक खान लाज लाग्छ तर स्वास्थ्यका लागि हानिकारक बजारिया वस्तुको प्रयोगलाई बढावा दिइने गरेकाले त्यस्ता वस्तुलाई कम गर्न यस्तो कार्यक्रम ल्याएका हौँ ।”

बाटो नै नपुगेको ठाउँमा पनि ब्रोइलर खुकुरा पाइनु, लहलह धान झुल्ने ठाउँमा पनि तराईको चामल खानुपर्ने, तरकारी र दाल जति पनि उत्पादन हुने ठाउँमा बजारकै तरकारी र दाल खुवाउनु दुखद् भएको प्रमुख केसीले बताउनुभयो ।

कर्णाली प्रदेश सरकारले प्राङ्गारिक खाद्यपदार्थको अवधारणा अघि बढाएकाले त्यसलाई सफल बनाउनका लागि यस नगरपालिकाले हरेक क्षेत्रलाई प्राङ्गारिक बनाउने अभियान थालेको उहाँको भनाइ थियो

नगरपालिकाबाट प्राप्त अनुदानमा थप लगानी गरेर प्राङ्गारिक होटल शुरु गर्नुभएका व्यवसायी अमृत बोहोराले आफ्नो भान्सामा विभिन्न प्रकारका प्राङ्गारिक वस्तुको खाना पाक्ने गरेको बताउनुभयो ।

उहाँका अनुसार रातो मार्सीको भात, गहुँ, मकै, कोदो, फापरको ढिँडो तथा रोटी, सिमी, मुसुरो, मासको दाल, रायो, हरियो साग, सिमी, काउली, बन्दाकोभी, निगालोको टुसा, लिउरो, च्याउ, गावा र गुन्दु्रकको तरकारी, स्थानीय कुखुरा र खसीको मासु, भाँगो, टिमुर, अमला, गोलभेँडाको अचार र घिउका परिकार होटलमा राखिएको छ ।

रु १० लाखको लागतमा सञ्चालन गरिएको सो होटलमा उक्त नगरपालिकाका विभिन्न ठाउँ तथा जुम्लाबाट ल्याएर पनि प्राङ्गारिक परिकार पकाउने गरिएको व्यवसायी बोहोराले जानकारी दिनुभयो ।

बजारमा पाइनेभन्दा स्थानीयस्तरमा पाइने खाद्यपदार्थ महङ्गो भए पनि स्थानीय उत्पादनलाई प्रोत्साहन दिन नगरपालिकाले अनुदानको व्यवस्था गर्नु राम्रो भएको उहाँको भनाइ थियो । रासस